गणेशधाममा २२ गतेदेखि हुने महायज्ञको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने

 चितवन,मंसिर २०

 भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल गणेशस्थानलाई गणेशधामको रुपमा विकास गर्न आयोजना गरिएको महायज्ञको तयारी पुरा भएको छ । महायज्ञ आयोजक मूल समारोह समितिले आज (विहिवार) पत्रकार सम्मेलनको आयोजना गरि तयारी पुरा भएको जानकारी दिएको हो । अधिकांस समिति र उप–समितिहरुले आ–आफ्नो काम सकिसकेका छन् भने केही समितिको काम अन्तिम चरणमा छ । ‘गणेश धाम’ निर्माण गर्न यही मंसिर २२ गतेदेखि २९ गतेसम्म धनधान्याञ्चल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ सञ्चालन गर्न लागिएको हो । महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा पाँच हजार १ सदस्यीय मूल आयोजक समिति गरिएको छ । महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ । मन्दिर क्षेत्रको सम्वर्द्धन र संरक्षणको लागि विभिन्न निकायबाट प्रयास गरिँदै आए पनि सार्थक नबनेपछि धनधान्याञ्चल गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका महासचिव रविन्द्र बरालले जानकारी दिए । उनले महायज्ञ शुरु नहुँदै दाताबाट सहयोग प्राप्त भएको बताए । महायज्ञ सम्पन्न गर्नका लागि करिब ७० लाख खर्च हुने अनुमान गरिएको छ । गणेशस्थान क्षेत्रलाई धामको रुपमा विकास गर्न डीपीआर निर्माणको काम अन्तिम चरणमा छ । करिव १४ लाखको लागतमा डीपीआर निर्माण भइरहेको छ । ‘यही महिना भित्रै सबै डीपीआरको काम सकेर फेजवाइज निर्माणको चरणमा जाने छौं’ महासचिव बरालले भने, महायज्ञबाट उठने २० करोड, अन्य दाताहरु, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको सहयोगमा देशकै नमूना धामका रुपका विकास गछौं ।’ डीपीआर अनुसारको काम सम्पन्न गर्न करिब ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ विगाहा जमिनमा गणेश धाम निर्माण गर्ने योजना छ । २५ विगाहामा तलाउ निर्माण गरिने छ । डीपीआर अनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वर्तीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचनाहरु निर्माण हुने छ । धाम निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । चितवन २ का प्रदेश सांसद विजय सुवेदीले गणेशधाम चितवनको प्रतिष्ठासँग जोडिएकाले केही बर्षभित्रै निर्माण सम्पन्न गरिने बताए । उनले मंसिर महिनालाई गणेशधाम निर्माणको पर्वको रुपमा मनाउने अभियान बनाइएको बताए । सांसद सुवेदी गणेशधाम निर्माणका लागि सुरुवाती चरणदेखि नै निरन्तर रुपमा लागि परेका छन् ।

प्रतिकृया दिनुहोस