विश्व हिन्दु महासंघको महायज्ञ

 

विश्व हिन्दु महासंघको महायज्ञ महारुद्र शिवालय परिसर रत्ननगर चितवनमा विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाँसबारी अन्तर्गत रहेको नारायणी अञ्चल समिति र चितवन जिल्ला समितिको आयोजनामा यही फागुन १० गतेदेखि २१ गतेसम्म चितवनको रत्ननगर २ महारुद्र शिवालय परिसरमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका केन्द्रिय सदस्य युवा भागवत वाचक पं बालकृष्ण अर्यालले प्रवचन गर्नुहुने महायज्ञमा चितवनका हजारौं भक्तजनसहित हिन्दु महासंघका देशभरका अधिकाँश जिल्लाबाट सहभागिता हुने बताइएको छ । महायज्ञका क्रममा श्रीमद्भागवत पुराण वाचनका साथसाथै रुद्राभिषेक, हवन, महादीप प्रज्वलन , लाखवत्ती प्रज्वलन लगायतका धार्मिक कृत्य गरिने र महासंघको आजीवन सदस्यता प्रदान गरिने कार्यक्रम रहेको बताइएको छ । यज्ञ शेष रकमबाट विश्व हिन्दु महासंघ राष्ट्रिय समितिको भवन निर्माण गर्ने , अक्षयकोष स्थापना गर्ने, महारुद्र शिवालय परिसरमा १०८ शिव लिङ्ग स्थापना गर्ने, जेष्ठ नागरिक विश्रामस्थल निर्माण पूरा गर्ने, शनिदेवको मन्दिर स्थापना गर्ने र गौमती गंगा तथा पार्वती घाटको व्यवस्थापन गर्ने लगायतका उद्देश्य रहेको महासंघका नारायणी अञ्चल सभापति हरिबिलास खनालले बताउनुभएको छ । महायज्ञमा सहभागी हुन चितवन जिल्लामा मात्रै बीस हजार घर परिवारमा निमन्त्रणा पत्र वितरण गरिएको र हिन्दु महासंघका देशभरका सबै शाखालाई आमन्त्रण गरिएको सभापति खनालले बताउनुभयो । महायज्ञमा सहभागी हुन महासंघका नेपाल राष्ट्रिय समितिका कार्यवाहक सभापति पूर्वमन्त्री दीनबन्धु अर्यालको नेतृत्वमा केन्द्रिय प्रतिनिधिमण्डल चितवन आउने भएको छ ।

प्रतिकृया दिनुहोस