कन्या गुरुकुल निर्माण का लागि लगाएको महायज्ञमा सहयोग आउने क्रम बढ्दो

महायज्ञमा प्राप्त भएको नगद र बोलकबोल रकम गरी जम्मा २३ लाख ७१ हजार ५४ रुपैयाँ संकलन भएको

मंसिर १६,भरतपुर

देवघाटधाममा समावेशी कन्या गुरुकुल निर्माण सहयोगार्थ भरतपुरमा सञ्चालित महायज्ञमा सोमबारसम्म २३ लाख रुपैयाँ भन्दा बढी रकम सङ्कलन भएको छ । महायज्ञ मूल समितिका सहसचिव उद्धव सञ्जेलले जानकारी दिए । महायज्ञमा दानवीरहरुले रकम बोल्ने क्रम जारी रहेको बताएका छन् । महायज्ञमा दानवीरहरुले रकम बोल्ने र सो बोलेको रकम केही दिनभित्र प्रदान गर्ने प्रतिबद्धता जनाएका सञ्जेलले जानकारी दिए । तीन जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा समावेशी कन्या गुरुकुल निर्माणका लागि भन्दै मङ्सिर १३ गतेदेखि भरतपुर १२ को पोखरेली टोलमा धनधान्याचल एवम् सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । मङ्सिर २१ गतेसम्म सञ्चालन हुने महायज्ञबाट भएको आम्दानीले पवित्र तीर्थस्थल देवघाटधाममा १२ रोपनी क्षेत्रफलमा आवास सहितको कन्या गुरुकुल सञ्चालन गर्ने तयारी गरिएको महायज्ञ मूल समिति संयोजक रवीन्द्र अधिकारीले जानकारी दिए । नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका बालिकाहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा प्रदान गर्न ॐ शिवशक्ति कल्याणी केन्द्र भरतपुरको आयोजनामा महायज्ञ शुरु गरिएको हो । कन्या गुरुकुलको निर्माण सम्पन्न गर्न करिब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ गराइने अधिकारीले बताए । गुरु योजनाअनुसार सम्पूर्ण निर्माण सम्पन्न गर्न २० करोड रुपैयाँ लाग्ने भएपनि पहिलो चरणमा चार करोड रुपैयाँ भएपछि कक्षा सञ्चालन गर्न सकिने अधिकारीले बताए । महायज्ञ अवधिभर बाल ब्रह्मचारी पण्डित श्यामशरण अधिकारीबाट पाठ पारायण, धर्म दर्शन एवम् पुराणका प्रवक्ता धर्माचार्य कृवष्णप्रसाद गुरागाईबाट कथा प्रवचन तथा विशिष्ट साधु सन्त महात्मा तथा जगतजननी शिवशक्ति स्वरुपा कयाणीबाट आशिर्वचन प्रदान हुने भइरहेको छ । पछिल्लो समय वैदिक सनातन धर्म र संस्कृतिमाथि हस्तक्षेप भइरहेकाले भन्दै गुरुकुल शिक्षामार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको अधिकारीको भनाइ छ । 

प्रतिकृया दिनुहोस