ॐकार परिवारको सहभागिता हुने महायज्ञको पत्रकार सम्मेलन सम्पन्न आज मोटरसाइकल र्याली

चितवन ,११,माघ । ॐकार परिवारको सहभागिता तथा ब्राह्मण समाज नेपाल चितवनको आयोजनामा भरतपुर ९ शरदपुरमा हुन लागेको श्रीमद्भागवत् महापुराण तथा धनधान्याचल विराट ज्ञान महायज्ञको तयारी पूरा भएको आयोजकले जनाएको छ । महायज्ञ सुरु हुनुअघि नै ब्राह्मण समाजको भवन निर्माणका लागि ४५ लाख बढी रुपैयाँ संकलन भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक टंकनाथ पौडेलले  जानकारी दिनुभयो । सहयोग गर्नेहरूमा मुस्लिम समुदायका मानिस समेत रहेको उहाँले  बताउनु भयो  । त्यस्तै समाजको भवन निर्माणका लागि जग्गा दान गर्नेको संख्या पनि बढ्दै गएको आयोजकले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनलाई एउटा कित्तामा १।५० वर्ग मिटर क्षेत्रफल पर्ने गरी ६०१ कित्तामा विभाजन गरिएको छ ।समाजले एउटा कित्ताको मूल्य रु २१ हजार १ सय ११ कायम गरेको बताएको छ । जग्गादान गर्न इच्छुक व्यक्तिहरूले आफूले चाहेको कित्ता नं रोजेर रकम बुझाउने गरेका छन् । पौडेलका अनुसार उक्त जमिनमा निर्माण हुने भवन गरीब, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको सहयोगार्थ प्रयोग गरिनेछ । भवनलाई धार्मिक पुस्तकालयको रूपमा समेत प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । पाश्चात्य समाजले वेदको अनुसन्धान थालिसकेको भन्दै पौडेलले पूर्वीयहरूले पनि अनुसन्धानमा जोड दिनुपर्ने पौडेलले बताउनुभयो ।महायज्ञको प्रचारस्वरूप माघ ११ गतेका दिन मोटरसाइकल र्याली गरिने उहाँले बताउनुभयो । त्यस्तै माघ १२ गते रक्तदान कार्यक्रम सँगै गैंडाकोटस्थित मौलाकालिका मन्दिरबाट अग्नि ल्याई होमकुण्डमा राख्ने कार्यतालिका रहेको ब्राह्मण समाजले जनाएको छ । महायज्ञमा पं बालकृष्ण अर्यालबाट कथा प्रवचन गरिने बताइएको छ ।पत्रकार सम्मेलनमा ओमकार अभियन्ता मोहन रुम्बा लामा , दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरी निर्जला ,क्षेत्री समाज  प्रदेश ३ का संयोजक सुर्य बहादुर कार्की , लगायतकाले ओमकार परिवारको सहभागिता हुने  महायज्ञ ओमकार परिवारको एकता र भातृत्वको लागि सहयोग पुग्ने बताउनु भयो । उहाँहरुले महायज्ञमा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । कार्यक्रममा वाह्मण समाजका केन्द्रिय उपाध्यक्ष धुव्रराज शर्मा अर्याल, वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रम का अध्यक्ष शैलेन्द्र पिया महायज्ञ प्रचार प्रसार  समिती संयोजक महाप्रसाद सिलवाल, आर्थिक संयोजक राम प्रसाद ओस्ती , श्री राम जानकी बालिका आश्रम देवघाटधामका महासचिव रामेश्वर खनाल लगायतकाले बोल्नु भएको थियो । 

प्रतिकृया दिनुहोस