गौवंशदोषीलाई कानूनी कारवाहीको माग

काठमाडौँ, वैशाख २६–

विश्व हिन्दू महासङ्घ नेपालले देशका विभिन्न स्थानमा राष्ट्रिय जनावर गाईको हत्याका घटना बढ्न थालेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

रुपन्देहीको देवदह नगरपालिका–१० आसामटोलका ज्ञानबहादुर केसीले सोही स्थानका रामप्रसाद पराजुलीलाई गाई बाच्छा पाल्न दिएकामा गाई हरायो भन्ने बहाना बनाई रोहिणी सामुदायिक वनमा खाडल खनेर पुरेको अवस्थामा भेटिएको थियो । हत्यामा संलग्न पराजुली, सुकबहादुर परियार र प्रदीप पुन पक्राउ परी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएकाले कसैको दबाबका भरमा नछोडी कानूनी कारवाहीको दायरामा ल्याउन महासङ्घले सरकारसँग जोडदार माग गरेको छ ।

गाई हत्या घटनाका दोषीलाई कानूनी कारवाहीको माग गरिएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । राजनीतिक दलका नेताको दबाबमा यस्ता घटनाका दोषीलाई कारवाही नगरी छोडिँदा घटना दोहोरिने गरेकाले पनि गौहत्यामा कमी आउन नसकेको महासङ्घले जनाएको छ ।

रुपन्देहीकै लुम्बिनी सांस्कृतिक नगरपालिका–११ जितवापुरमा पनि गाई मारेर छाला र भुँडी पोखरीमा फालिएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीको मौका छोपेर गाई मार्ने क्रम बढेकाले प्रहरी प्रशासनले गम्भीररूपमा यस्ता घटनामा संलग्नलाई नियन्त्रणमा लिई कानूनी कारवाहीको दायरमा ल्याउनुपर्ने महासङ्घको माग छ । बन्दाबन्दीपछिको डेढ महिनाका क्रममा देशका अन्य भागमा पनि यस्ता घटना भइरहेका सूचना प्राप्त भएको महासङ्घका महासचिव न्यौपानेले बताउनुभयो ।

वैदिक सनातन धर्मावलम्बीले गौमाताका रूपमा पुज्ने गाईको हत्या नरोकिए महासङ्घ आन्दोलनमा उत्रन बाध्य हुने महासचिव न्यौपानेले बताउनुभयो । केही समूह जातीय र साम्प्रदायिक सद्भाव भड्काउन यस्ता घटनामा संलग्न हुने गरेको हुनसक्ने सूचना प्राप्त भएकाले पनि गम्भीररूपमा छानबिन र अनुसन्धान गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराइएको छ नारायणी अनलाइनबाट

प्रतिकृया दिनुहोस