सौन्दर्यताको आधार आयुर्वेदीय जीवनशैली

आयुर्वेदले व्यक्तिको आन्तरिक र बाह्य दुवै खालको सुन्दरतामा जोड दिन्छ । भित्री सुन्दरताको लागि आयुर्वेदका आधारभूत सिद्धान्तहरुको पालन गर्न उपदेश गरिएको छ भने बाह्य सुन्दरताको विकासका लागि धेरै खालका थेरापी, उपचार, सुझाइएको छ । सुन्दरता वृद्धिका लागि वनस्पतिहरुको प्रयोगको अवधारणा आयुर्वेद शास्त्रहरुमा स्पष्टरुपमा परिभाषित छ ।

चरक संहितामा सौन्दर्य वर्गका वनस्पतिहरुको रुपमा वर्णय महाकषाय, कुष्ठघ्न महाकषाय, कण्डुघ्न महाकषाय (१० हब्र्सहरुको समूह), व्यस्थापक महाकषाय, उदर्दप्रशमन महाकषाय आदिको उपदेश गरिएको छ ।

छालारोगको सन्दर्भमा सुश्रुत संहितामा पनि धेरै खालका आलेप, प्रलेप, उपनाह, अञ्जन, तेल, आदिको वर्णन गरिएको छ । जसअन्तर्गत सामान्य योगको रुपमा कुमकुमादि लेप, दशाङ्ग लेप, चन्दनादि लेप, कुमकुमादि तेल, हिमसागर तेल आदिको वर्णन गरिएको छ 

शुद्धीकरण र सफाइको प्रयोजनले शरीरको बाहिरी (छाला, नङ, ओठ, कपाल, यौनाङ्ग आदि) एवं शरीरका केही भित्री अंगहरु (दाँत, मुख आदि) मा प्रयोग गरिने कुनै वस्तु वा प्रसाधन सौन्दर्य शास्त्रअन्तर्गत पर्दछन् ।

आयुर्वेदले सौन्दर्यताको निर्धारण शरीरिक प्रकृति, शारीरिक आकार, शरीरको खँदिलोपन, छालाको रङ्ग, शारीरिक अवयवहरुको नापतौल र दीर्घायु लक्षणबाट गर्छ । वस्तुतः सुन्दरतामा निखार ल्याउनका लागि खानपानदेखि उचित हेरचाहसम्म आवश्यक हुन्छ ।

स्वस्थ खानपान, अनुशासित दिनचर्या, सरसफाइले शरीरमा चमक ल्याउन सकिन्छ । त्यति मात्र होइन, मानसिक स्वास्थ्य पनि ठीक हुनुपर्छ । मनमा पीडा, कुण्ठा, घृणाजस्ता विकार छन् भने, अनुहारको चमक फिका देखिन्छ । त्यसैले प्राकृतिक जीवनशैलीसँगै मानसिक सुख एवं सन्तुष्टिले पनि सौन्दर्यताका लागि अहं भूमिका खेल्छ ।

सौन्दर्यको आधार: गलत खानपान र व्यवहार, तनाव र प्रदूषित वातावरणीय प्रभावले शरीरभित्र निर्मित र संकलित मल पदार्थ तथा टक्सिक पदार्थ (आम)ले व्यक्तिलाई कुरुप तथा शरीर एवं मनलाई रोगी बनाउँछ ।

वस्तुतः शुद्ध एवं सफा वस्तु नै सुन्दर पनि हुन्छ, आधारभूतरुपमा सुन्दरताका लागि शरीरभित्रको हानिकारक टक्सिक पदार्थहरुलाई बाहिर निकाली शरीर एवं मनसमेतलाई शुद्धीकरण गर्नु अनिवार्य हुन्छ । जसका लागि आयुर्वेदीय पञ्चकर्म (स्नेहन, स्वेदन, वमन, विरेचन र नस्य वा रक्तमोक्षण) थेरापीलाई उत्तम विधि मानिन्छ ।

पञ्चकर्म थेरापीले शरीरको प्रणालीय, अंगीयदेखि कोषीय स्तरसम्मको विकारहरुको सफाइ गरी शरीरबाहिर निकाल्छ । फलतः शरीरभित्र त्रिदोष (वात, पित्त र कफ)को सन्तुलन, सप्तधातु (रस, रक्त, मांस, मेद, अस्थि, मज्जा र शुक्र) निर्माण प्रक्रियामा नियन्त्रण एवं सन्तुलन अनि मल (दिसा, पिसाब र पसिना) निष्कासनको प्रक्रियालाई गतिशील बनाइरहन्छ ।

पञ्चकर्म शरीरमा कुनै चिरफार नगरी गरिने विधि हो । यस विधिले छालालाई गहिराइबाट सफाइ गर्दछ । छालालाई प्राकृतिक पोषण प्रदान गर्दछ । छालाको माथिल्लो सतहलाई ओसिलो राख्छ ।

छालामा पर्याप्त अक्सिजन सञ्चार गर्दछ । छालाका कोषहरुबीच सूक्ष्म सञ्चार बढाउँछ । छालामा एन्टिसेप्टिक प्रभाव प्रदान गर्दछ । साथै कोषहरुबीचको घनिष्टता बढाएर छालामा इलास्टिक फाइबर निर्माणमा सहयोग गर्दछ । यही फाइबरले असमयमै छालामा हुने चाउरीपनबाट बचाउँछ ।

पञ्चकर्म विधिले समग्रमा छालाका नीलो, कालो आदि दागहरुलाई हटाउँछ । छालालाई सुख्खा हुनबाट जोगाई मुलायम, चम्किलो एवं आकर्षक बनाउँछ । यसका अलावा यस थेरापीले ओठ, आँखा, कपाल र नङलाई पनि स्वस्थ एवं सुन्दर बनाउँछ ।

व्यवस्थित दिनचर्या: दिनचर्याको तात्पर्य दैनिकरुपमा गरिने आहार, विहार र आचरणको व्यवस्थित नियम हो । स्वस्थ दिनचर्या आदर्श दैनिक कार्यक्रम हो, जो प्रकृतिको चक्रलाई ध्यानमा राखेर योजना गरिएको छ ।

बिहान सबेरै उठ्नु: सधैँ ब्रह्ममुहुर्तमा उठ्ने गर्नु दिगो स्वास्थ्य र सौन्दर्यताको राज हो । सूर्योदय आसपासको समयमा वातावरणमा प्रदूषण कम रहेको हुन्छ । प्राणवायु (अक्सिजन)को मात्रा अधिक रहेको हुन्छ ।

यस्तो अवस्थामा शरीरलाई आवश्यक सौन्दर्य उपयोगी जैव–रसायन सम्यकरुपमा स्रावित हुन्छ, जसले ऊर्जा एवं उत्साहको सञ्चार हुन्छ । यसर्थ आयुर्वेदीय सिद्धान्तहरु बिहानको समयको उच्चतम सदुपयोगमाथि बढी केन्द्रित छ । किनकि दिनको त्यही शुरुवाती समयले पूरै दिनलाई प्रभावमा राख्छ । मनलाई एकाग्र, शान्त र त्वचालाई कोमल बनाइराख्छ ।

उषापान: बिहान सबेरै उठेर शुद्ध पानी पिउनाले पाचनतन्त्र पखालिन्छ । शरीरमा सञ्चित विजातीय टक्सिक पदार्थ स्वतः बाहिर निस्किन्छ । फलतः असमयमै हुने बुढ्यौली, कपाल फुल्ने तथा छाला चाउरिने समस्या रोकिन्छ ।

एकाग्रताको अभ्यास: यस अभ्यासमा कुनै सुखद आसनमा बसेर आँखा चिम्ली कुनै एउटा सकारात्मक विषय वा वस्तुमा सारा ध्यानलाई केन्द्रित गर्ने प्रयास गरिन्छ । एकाग्रताको अभ्यास (१० देखि १५ मिनेटको लघु धारणा/ध्यान) ले मनलाई एकाग्र चित्त बनाउँछ । फलतः मन शान्त हुन्छ । स्वाभाविकरुपले एकाग्र एवं शान्त मनले शरीरका सम्पूर्ण तनावहरु कम हुन जान्छन् । फलतः एकाग्रताको अभ्यासले तनावद्वारा हुने सम्पूर्ण शारीरिक एवं मानसिक रोगबाट सुरक्षा प्रदान गर्दछ ।

मल–मूत्र त्याग: शरीरमा मेटाबोलिजमको फलस्वरूप बनेकोे मल एवं विषालु तत्वहरुको निष्कासन कम्तीमा दिनको दुईपटक मलमूत्रको त्यागमार्फत गरिन्छ ।

प्रातकालमा यस क्रियालाई सहजरुपमा पूरा गर्दा पूरै दिन शरीरमा हल्कापनको अनुभव भइरहन्छ । मल एवं विषालु तत्वहरुको शरीरबाट निष्कासन भएपछि त्वचाको सौन्दर्यतामा स्वाभाविकरुपमा निखार आउँछ ।

आयुर्वेदअनुसार छालाको लागि नरिवलको तेल सबैभन्दा उत्तम मोइश्चराइजर हो ।

दाँत माझ्नु र जिब्रो कोर्नु: यस क्रियाको दैनिकरुपमा बिहान एवं साँझ अभ्यास गर्दा दाँत स्वच्छ, मजबुत एवं सुन्दर हुन्छ । मुखको दुर्गन्ध एवं विरसता नाश हुन्छ ।

जिब्रो स्वच्छ एवं मलरहित बन्छ । स्वादको ज्ञान सही रुपमा हुन्छ । यसबाट इन्द्रियहरु तीक्ष्ण एवं सबल बन्दछन् । फलतः इन्द्रिय सुखानुभूतिले सुन्दरताको आभास हुन्छ ।

मुख आदि धुनु: अमलाको फललाई पानीमा उमालेर त्यही पानीले आँखा र मुख नियमित दैनिकरुपमा धुने गरे त्यसबाट मुखको चिपचिप नाश हुन्छ, अनुहारमा उज्यालोपन आउँछ । साथै आँखाको दृष्टि पनि बढ्छ । यसले गर्दा आँखा, मुख तथा ओठको सुन्दरता बढ्छ ।

गाजल: गाजलको प्रयोगले आँखा सफा, स्वच्छ र स्वस्थ रहन्छ । गाजलले आँखाको रोगहरुबाट सुरक्षा दिन्छ । आँखाको ज्योति पनि बढाउँछ । वस्तुतः आँखा सुन्दर एवं आकर्षक बन्छ ।

नस्य: २–३ थोपा तेल, तातो गरेर सेलाएको तेल नाकमा राख्ने विधि नस्य हो । नाकमा यसरी दैनिक बिहान तेल राख्दा टाउको दुखाइ तथा नाकसम्बन्धी रोगहरुबाट छुटकारा मिल्छ । कपाल झर्दैन, फुल्दैन र कपाल सदा कालै रहन्छ ।

मालिस: बिहान दैनिकरुपमा स्नान गर्नुभन्दा पहिले शरीरमा तेल मालिस गर्नु स्वस्थ र सौन्दर्यताको हिसाबले अति नै राम्रो मानिन्छ । यस्तो अभ्यासले त्वचा कोमल, कान्तियुक्त तथा दागरहित हुन्छ । त्वचामा रक्तसञ्चार बढ्छ ।विषालु तत्वहरु शरीरको बाहिरी भागबाट राम्रोसँग पखालिन्छ र छालामा चाउरी पर्न पनि दिँदैन । कपाल नुहाउनुअगाडि शुद्ध तोरीको तेलले १० मिनेटजति मसाज गरेर नुहाउँदा कपाल झर्ने र चायाको समस्या पनि हट्छ ।

 

शरीरिक व्यायाम: दैनिक ३० मिनेटदेखि ४५ मिनेटसम्मको व्यायाम (सूर्य नमस्कार, एरोबिक्स, योग आदि) ले शारीरिक सामथ्र्य र रोग–प्रतिरोध क्षमता बढाउँछ । शरीरको समस्त स्रोतहरुको अवरोधलाई खुलाएर सक्रिय बनाउँछ ।

रक्तसञ्चार गतिशील बनाउँछ । शरीरमा निर्मित एवं सञ्चित मल पदार्थहरुलाई शरीरबाट बाहिर धकेलेर निकाल्छ । अतिरिक्त बोसोलाई गलाउँछ । शरीरलाई खँदिलो, सुन्दर एवं आकर्षक आकृति दिन्छ ।

क्षौरकर्म: नियमितरुपमा दाह्री–जुँगा काट्नाले अनुहारको छाला सफा, स्वस्थ र सुन्दर देखिन्छ । शरीरमा लघुता र प्रसन्नता आउँछ । फलतः शरीरमा ऊर्जाको सञ्चार बढ्छ । साथै नियमितरुपमा नङ र दाह्री–जुँगा सफा गर्नाले यसले निम्त्याउन सक्ने संक्रमणबाट सुरक्षा प्रदान गर्दछ ।

उद्वर्तन (उबटन): सुगन्धित पदार्थहरुको लेप (उदहारणका लागि चन्दन, कपुर र गुलाबजल) या उबटन गर्नाले शरीरको सम्पूर्ण दुर्गन्ध दूर हुन्छ । यसले गर्दा मनमा प्रसन्नता र स्फूर्ति आउँछ ।

उबटनले शरीरको अतिरिक्त बोसो पनि काट्छ । शरीरकोे अंग–प्रत्यङ्गहरुलाई स्थिर एवं दृढ बनाउँछ । छालामा चमक ल्याई स्वाभाविक रङ्गलाई थप आकर्षक बनाउँछ ।

स्नान: शीतल जलको स्नान शारीरिक थकान र मानसिक तनाव हरण गर्ने सुलभ एवं सहज विधि हो । स्नानले शरीरबाट निस्कने अतिरिक्त ताप, दुर्गन्ध र पसिना हट्छ । जुन दैनिक स्वास्थ्य रक्षाको लागि अत्यावश्यक हुन्छ । स्नानले शरीरको सतहमा रहेका सबै प्रकारका विकारहरुको सफाइ गर्दछ ।

छालामा रहेका छिद्रहरुको अवरोध खुलाई छालामा वायुको प्रवेश बढाउँछ । फलतः रक्तको शोधन हुन्छ । जठराग्नि प्रदीप्त भएर भोक र प्यास जाग्छ । शरीरको समस्त ज्ञानेन्द्रियहरु सक्रिय गर्दछ । स्नानले तनाव र थकान हरण भएपछि गहरो निद्रा आउँछ ।

नीमको पात, कागतीको रस, अमलाको फल, गुलाफको फूल आदियुक्त पानीले नुहाउने वा चन्दन पाउडर वा नीमको पात वा तुलसीको पात वा घिउकुमारीको पेस्ट वा मेवाफलको पेस्टयुक्त फेसवासले मुख धुने गर्नुपर्छ ।

नुहाउनेबित्तिकै सम्पूर्ण शरीरमा शुद्ध नरिवलको तेल दल्नुपर्छ । आयुर्वेदअनुसार छालाको  लागि नरिवलको तेल सबैभन्दा उत्तम मोइश्चराइजर हो ।

सफा र आरामदायक लुगा: सफा एवं आरामदायक कपडा लगाउनाले व्यक्तिमा सुन्दरता, प्रसन्नता, आत्मविश्वास आदिको वृद्धि हुन्छ । अतः सौन्दर्यताको लागि वस्त्रधारण पनि एक महत्वपूर्ण पक्ष हो ।

घाम र धूलोबाट बचावटः घाम, प्रदूषित वायु र धूलोको अधिक सम्पर्कले छालामा रुक्षता र विवर्णता उत्पन्न हुन्छ । सूर्यको सीधा किरण (घाम) र धूलो हरसम्भव छालामा पर्न दिनुहुन्न । यसका लागि घाम र धूलो–धुवाँ छेक्ने सहज प्राकृतिक उपायहरु अवलम्बन गर्नुपर्छ ।न्युजइन्फो 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

केदारनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित

भारतको उत्तराखण्डमा अवस्थित केदारनाथ पदयात्रा मार्गमा रहेको चिरबासा नजिकैको पहाडबाट लगातार ढुङ्गा...