यस्ता छ्न क्वाँटी खानुका फाइदै फाइदा

जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन । बिहान ब्राह्मणले जपेको डोरो हातमा बाँध्ने, जनै फेर्ने, दिदी बहिनीले आफ्ना दाजु भाइलाई राखी बाँध्ने र नौ प्रकारका गेडागुडी मिश्रित क्वाँटी खाने गरिन्छ । क्वाँटी पौष्टिक तत्वको खानी मानिन्छ । यसमा प्रशस्त प्रोटिन, भिटामिन र मिनरल्स रहेको हुन्छ । जुन शरीरका लागि आवश्यक तत्व हुन् । शरीर तन्दुरुस्त राख्न पौष्टिक तत्वको आवश्यकता पर्छ । ती पौष्टिक तत्व विभिन्न खानामा पाइन्छ ।

यिनै पौष्टिक तत्वको मात्रा अंकुरित गुडागुडीमा रहेको हुन्छ । अंकुरित गुडागुडी जनैपूर्णिमा मात्र होइन अघिपछि पनि खान सकिन्छ । बढ्दो उमेरका केटाकेटी र बुढाबुढीलाई थप पौष्टिक तत्वको आवश्यकता बढी हुन्छ ।क्वाँटीमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइने भए पनि सबै व्यक्तिका लागि फाइदाजनक नहुने मानिन्छ । तर व्यक्ति स्वास्थ्य छ भने क्वाँटी खाँदा बेफाइदा नहुने चिकित्सकको सुझाव छ ।

कुनै विशेष रोगबाट ग्रसित व्यक्तिलाई साधारण खाना पचाउन गाह्रो हुन्छ भने त्यस्ता व्यक्तिले क्वाँटी खान नहुने चिकित्सकको भनाइ छ । किनभने क्वाँटीमा प्रशस्त मात्रामा क्याल्सियम भिटामिन हुने भएकाले पचाउन गाह्रो हुने हुँदा पेटसम्बन्धी रोगीले नखाएकै चिकित्सकको सल्लाह छ । क्वाँटीलाई हाइजेनिक तरिकारले पकाएर खाएमा सबै उमेर समूहका व्यक्तिलाई फाइदा हुन्छ । मासु र क्वाँटीसँगै खाँदा उच्च प्रोटिनको मात्रा बढी हुने भएकाले यसबाट फुड प्वाइजन हुने संभावना पनि बढी हुने भनाइ छ ।

क्वाँतीबाट क्वाँटी: क्वाँटी शब्द नेपाल भाषाको ‘क्वाति’ शब्दबाट बनेको हो । जसअनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप भएकाले ‘क्वाति’ वा ‘क्वाँटी’ को अर्थ तातो सुप भन्ने बुझिन्छ । केराउ, सिमी, मटर, चना, राजमा, बोडी, भटमास, मुगी, मासलगायत विभिन्न गेडागुडी भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि खान योग्य मानिन्छ । यसरी तयार पारिएको गेडगुडीलाई क्वाँटी भनिन्छ । क्वाँटीबारे सामाजिक, सांस्कृतिक र वैज्ञानिक तथ्य रहेको पाइन्छ ।

थकित शरीरमा ऊर्जा ल्याउँछ: नेपाल देश कृषिप्रधान देश हो। यतिबेला किसान खेती गरेर थकित भएका हुन्छन् । खेती गर्ने क्रममा शारीरिक श्रम बढी खर्च हुनेगर्छ। खेतीको चटारोबाट मुक्त रहेका किसानलाई थप आराम र ऊर्जाको आवश्यकता पर्छ । त्यसैको परिपूर्ति गर्न जनैपूर्णिमामा क्वाँटी खाने गरिन्छ। नेपाल कृषिप्रधान देश भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने प्रचलन छ ।

स्मरणशक्ति बढाउँछ: क्वाँटी पौष्टक तत्वको खानी हो । यसमा प्रशस्त मात्रामा भिटामिन, क्याल्सियम र मिनरल्स रहेको हुन्छ । त्यसैले यो सबै उमेर समूहका व्यक्तिलाईलाई फाइदाजनक छ । यसको नियमित सेवनबाट रोग प्रतिरोधात्मक शक्ति बढ्न जान्छ । यसले एसिडिटी तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट छुटकरा गराउँछ । शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गर्छ । त्यसैले क्वाँटी जनैपूर्णिमामा मात्रै होइन हरेक दिन खानु आवश्यक छ ।

नियमित सेवन गरे हुने फाइदा: कब्जियतको समस्या हटाउँछ । मधुमेह तथा पायल्स भएका मानिसलाई फाइदा गर्छ । बुढ्यौली हुनबाट जोगाउँछ । तुरुन्तै शक्ति दिन्छ। रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। स्मरणशक्ति बढाउँछ । रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा गर्छ । पाचनशक्तिमा सुधार ल्याउँछ । सौन्दर्यमा निखार ल्याउँछ ।

प्रतिकृया दिनुहोस