सयपत्री मालाको मुल्य सय रुपैयाँ

चितवन, कात्तिक ०१ ।  
किसानले तिहार लक्षित सयपत्री फूलको मालाको मुल्य कायम गरेका छन् । व्यवसायीबाट उपभोक्ता ठगिने सम्भावना बढि हुने भन्दै चितवनका किसानले आज(मंगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि मालाको मुल्य सार्वजनिक गरेका हुन् ।

बजारलाई एकरुपता ल्याउनका लागि होलसेल र खुद्रा मुल्य निर्धारण गरिएको फ्लोरिकल्चर एशोशियसन चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, एउटा मालाको सय रुपैयाँ मुल्य निर्धारण गरिएको छ । ‘किसानहरुसंग सल्लाह गरेर ५० देखि ५५ रुपैयाँसम्म होलसेल रेट राखिएको छ’ उहाँले भन्नुभयो, ‘फ्लोरिकल्चर एशोसियन नेपाल चितवन र केन्द्रको पनि आधिकारीक धारणा ८० देखि १०० रुपैयाँमा खुद्रा बिक्रि वितरण गर्नुपर्छ भन्ने हो ।’ 

 

किसानले पहिलोपटक तिहार लक्षित मालाको मुल्य निर्धारण गरेका हुन् । व्यवसायीबाट उपभोक्ता ठगिने हुँदा मुल्य कायम गरिएको उहाँले बताउनुभयो । गतबर्ष ५० रुपैयाँसम्ममा भारतीय माला बजारमा पाईएको थियो । तर, दुई बर्षअघि उपभोक्ताले तीन सय रुपैयाँ मुल्य तिरेका थिए । त्यसलाई रोक्नका लागि मुल्य कायम गर्न परेको उहाँको भनाई छ । एउटा मालाको सय रुपैयाँभन्दा बढी मुल्य नर्तिन उहाँले अपिल समेत गर्नुभएको छ । 

तिहारको समयमा भारतबाट सयपत्री फूल आयात गरे नष्ट गर्ने चितवनका किसानले चेतावनी समेत दिएका छन् ।  चितवनलाई पूग्ने सयपत्री फूल र माला जिल्लामा उत्पादित रहेको भन्दै भारतीय माला रोक्न माग गरेका हुन् । 

‘तिहार लक्षित सयपत्री फूल हामीले जिल्लालाई पूग्ने उत्पादन गरेका छौँ,’ दुई विघामा खेती गर्दै आउनुभएको किसान गोविन्द बास्तोलाले भन्नुभयो, ‘हामीले ४० प्रतिशत सयपत्री फूल निर्यात गर्नसक्छौँ ।’ प्रमुख जिल्ला अधिकारीको सहयोगमा भारतबाट आयातित माला रोक्ने तयारी भएको उहाँले बताउनुभयो । उहाँका अनुसार, चितवनमा तिहार लक्षित दुई ट्रक माला भारतबाट भित्रिएको छ । 

सयपत्री फूलको मालालाई सात दिनसम्म स्टोरेज गरेर राख्न मिल्छ । सोही अनुसार व्यवसायीले भारतबाट फूल आयात गर्ने योजना बनाएको उहाँको भनाई छ  । जिल्लामा ३ देखि ४ लाख माला उत्पादित रहेको कृषि प्राविधिक तथा कृषक सुन्दर बस्नेतले बताउनुभयो । त्यसमध्ये ६० प्रतिशत चितवनमा खपत हुने गरेको छ । चितवनमा उत्पादित माला हुँदाहुँदै व्यवसायीहरुले भारतबाट ल्याउने गरेको किसानको आरोप छ । किसानले नेपाली मालालाई प्रोत्साहन गर्न व्यवसायीलाई अनुरोध गरेका छन् । भारतबाट सस्तोमा ल्याएर व्यवसायीले किसानसंग बार्गेनिङ गर्ने गर्दछन् । 
 

प्रतिकृया दिनुहोस