नारायणी नदी किनारमा भदौ २३ गते गोवंश हत्याको विरोधमा विशाल धार्मिक सभा हुने

चितवन,१६ भदौ । धरान लगायत देशका विभिन्न स्थानमा भएको गाई हत्याको विरोध एवम् गोवंश रक्षार्थ नारायणी नदी किनारमा विशाल धार्मिक सभा हुने भएको छ । भदौ २३ गते गर्न लागिएको धार्मिक सभाको लागि गोवंश रक्षार्थ विशाल धार्मिक सभा आयोजक समिति गठन गरिएको छ ।
 
नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको अध्यक्षतामा आज भरतपुर–९ स्थित त्रिपुरेश्वर शिवालय मन्दिर परिसरमा भएको भेलाले १९५ सदस्यिय मुल आयोजक समिति बनाएको हो । ज्ञानानन्द सरस्वती महाराजको संयोजकत्वमा निर्देशन मण्डल, टंकनाथ पौडेलको संयोजकत्वमा १५ सदस्यिय कार्य सम्पादन समिति र ११ वटा विभिन्न उपसमिति गठन गरिएको छ।

निर्देशन मण्डलमा देवघाटधामका महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, स्वामी रमणान्द गिरी, लंकुस्थित लक्ष्मीबैकुण्ठनाथ मन्दिरका महन्त आचार्य जगन्नाथ शर्मा र निम्बार्क दर्शन केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक हरिशरण आचार्य लगायतका सन्तहरु रहेका छन् । आज भएको भेलामा चितवन, नवलपुर, नवलपरासी, तनुहँका विभिन्न धार्मिक एवम् सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

‘अनेकतामा एकता सनातन वैदिक हिन्दु धर्मको विशेषता, ओमकार परिवार (वैदिक, बौद्ध, जैन, शिख, किरात र प्रकृतिपूजक) एक होऔ। संविधानको पालना गराऔँ’ भन्ने नारा सहित धार्मिक सभा हुन लागेको श्री गण्डकी नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष एवम् धार्मिक सभाको प्रचारप्रसार समितिका संयोजक प्रेमनिधी भारद्धाजले बताए ।
 

प्रतिकृया दिनुहोस