आध्यात्मिक शिविरको लागि पाइलट बाबा भरतपुर आउने

चितवन,२१ भदौ । भरतपुरमा पाइलट बाबाको आध्यात्मिक शिविर हुने भएको छ ।

आउँदो मंसिर ८ देखि १२ गतेसम्म पायलट बाबाको पाँचदिने आध्यात्मिक शिविर हुन लागेको हो । 
सो शिविर हुने हरिद्वारस्थित पाइलट बाबा आश्रम र महायोग फाउन्डेसनले जनाएको छ । भरतपुरको लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट रिसोर्टमा शिविर हुनेछ । रिसोर्टका सञ्चालक देवेन लोहनीका अनुसार पायलट बाबा मंसिर ६ गते चितवन आइपुग्नेछन् ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई ‘भरतपुर भ्रमण वर्ष ’का रूपमा मनाउने घोषणा गरेको छ । मेयर रेनु दाहालले सो आध्यात्मिक शिविरप्रति खुसी व्यक्त गरेकी छन् ।

को हुन् पाइलट बाबा ?
भारतमा झण्डै २ करोड ८० लाख साधु सन्त छन् । यी साधु सन्त विभिन्न १३ वटा अखाडासँग आबद्ध छन् । संख्या, प्रसिद्धि एवम् विस्तारका दृष्टिकोणले जूना अखाडा सबैभन्दा ठूलो र प्रभावशाली छ । यसै अखाडाका वरिष्ठतम महामण्डलेश्वर श्री १००८ सोमनाथ गिरी जनमानसमा महायोगी पाइलट बाबाका नामले विख्यात छन् ।

उज्जैन पीठाधीश्वर समेत रहेका उनी नेपालमा पनि उत्तिकै विख्यात सन्त एवम् गुरुका रूपमा स्थापित छन ्। उनको नेपाल र नेपालीप्रति अगाध श्रद्धा र माया हुनुको एउटा फरक एवम् विशिष्ट कारण छ ।

सत्य एवम स्वयंको खोजका लागि भौँतारिदै हिँडेको क्रममा उनले मकवानपुर जिल्लाको भैंसेनिकट त्रिखण्डी महादेवमा गुरु भेट्टाए । त्रिखण्डीमै हरि बाबाले उनले संन्यास दीक्षा दिए । हरि बाबा आफ्ना गुरु राम अवतारसँग त्रिखण्डीमा बस्थे । त्रिखण्डी उनको गुरुस्थली हो ।

संन्यास दीक्षा उपरान्त उनले नेपाल र भारतका उच्च हिमाली भागमा अनेकौँ वर्ष कठिन तप गरे । साधना सम्पन्न भएपछि उनले भारत भ्रमण गरेर योग, ध्यान, धर्म, अध्यात्मको अलख जगाए । भूमिगत समाधि, जल समाधि, ‘एयर टाइट ग्लास’ समाधिका साथै अनेकौँ स्थानमा दस महाविद्या यज्ञ आयोजित गरेर उनले सनातन हिन्दू धर्मको यश र कीर्ति स्थापित गर्नुका साथै लाखौँ मानिसलाई सद्मार्गमा ल्याए ।

उनको शिविरमा भारतीय र नेपालीका अतिरिक्त सयौँ विदेशी पनि सहभागी हुने गरेका छन् । पाइलट बाबाले दसौँ हजार विदेशीलाई सनातन हिन्दू आचरणमा प्रवृत गराए । के अमेरिकी, के जापानी, के रसियन, के यूक्रेनियन, के यूरोपियन– विभिन्न देशका हजारौँलाई उनले दीक्षा दिए । सयौँ व्यक्तिलाई सन्यासी बनाए ।

नैनीताल, हरिद्वार, सासाराम, उत्तरकाशी, गंगोत्री, ऋषिकेश (रायवाला) मा पाइलट बाबाका आश्रम छन् । १५ जुलाई १९३८ मा जन्मिएका पाइलट बाबा ८६ वर्ष पुगेका छन् । जहाजको पाइलट रहेका उनी पछि बाबा बनेपछि पाइलट बाबाको रुपमा चिन्न थालियो ।

प्रतिकृया दिनुहोस