नेपाल सन्त समाजको आयोजनामा गोवंश रक्षाका लागि नारायणी नदी किनारमा भदौ २३ गते धार्मिक सभा हुने

चितवन,२१ भदौ । नेपाल सन्त समाजको आयोजनामा भदौ २३ गते शनिबार नारायणी नदीकिनारमा धार्मिक सभा गरिने भएको छ ।
 
पूर्वको धरानमा गोरु काटेर सामूहिक भोज गरेको घटनाको विरोधमा गोवंश रक्षाका लागि चितवनको नारायणी नदीकिनारमा धार्मिक सभा गर्न लागिएको आयोजकले बताएको छ । धार्मिक सभाको लागि गोवंश रक्षाका खातिर विशाल धार्मिक सभा मूल आयोजक समितिसमेत गठन गरिएको छ ।

धार्मिक सभाका लागि गठित समितिले आज (बिहीबार) पत्रकार सम्मेलन गरेर धार्मिक सभाको ओयोजनाबारे जानकारी दिएको छ । चितवन, नवलपुर, नवलपरासी र तनहुँका ओमकार परिवार (वैदिक, बौद्ध, शिख, किराँत, जैन र प्रकृतिपूजक)ले गोवंश रक्षाका लागि धार्मिक सभा गर्न लागेको ‘गोवंश रक्षार्थ विशाल धार्मिक सभा मूल आयोजक समिति’का संयोजक टंकनाथ पौडेलले जानकारी दिए ।

भरतपुरको बेलचोक, चौबीससकोठी, पोखरा बसपार्क र गैंडाकोटको भृकुटी चोकबाट विशाल धार्मिक र्‍याली निकालिने उनले बताए । गाई (गोरु) काटेर सामूहिक भोज गर्दै सामाजिक सञ्जालमा राखेर ओमकार परिवारलाई चिड्याउन गरिएको कार्य आपत्तिजनक भएको उनले बताए । नेपालको मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ पशुपंक्षीसम्बन्धी कसुरको दफा २८९ मा गाईगोरु काट्न, मार्न वा कुट्न समेत नहुने उल्लेख छ ।

गौहत्यामा संलग्नलाई चाँडै कानुनी दायरामा नल्याइए सामाजिक सद्भाव खल्बलिने भन्दै समितिअन्तर्गको प्रचारप्रसार उपसमिति संयोजक प्रेमनिधि भारद्वाजले गौहत्यामा संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याउन दबाब दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए । गोवंशको हत्यामा संलग्नलाई कारवाही नगर्दा यस्ता घटना बारम्बार भइरहेकाले धार्मिक सभा गर्न बाध्य हुनुपरेको उनले जिकिर गरे । धार्मिक सभामा एक लाख भन्दा बढी हिन्दु धर्मावलम्बी सहभागी हुने उनले दाबी गरे ।

गौमाता र लक्ष्मीको रुपमा पूजा गरिने गाईलाई काटेर केही उच्छुंखल व्यक्तिले संविधानको उल्लंघन गरेको भागवत बाचक बालकृष्ण अर्यालले बताए । विभिन्न धर्मावलम्बी मिलेर बसेको ठाउँमा यस्ता किसिमका गलत कार्य गरिनु सर्वथा गलत र अस्वीकार्य भएको उनले बताए । धार्मिक सहिष्णुता जोगाउन यस्ता गतिविधि नरोकिए पटकपटक खबरदारीका कार्यक्रम गर्न बाध्य हुने उनले बताए । ओमकारलाई मान्ने सम्पूर्णलाई गोवंश रक्षार्थ धार्मिक सभामा उपस्थित हुन अर्यालले आग्रहसमेत गरे ।

नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको अध्यक्षतामा सम्पन्न गरिने सो सभामा महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराज, १००८ स्वामी रमणानन्द गिरी महाराज, आचार्य जगन्नाथ शर्मा, राष्ट्रिय संगठन सचिव जनजाती कल्याण आश्रमका प्रेम थुलुङ, प्राध्यापक हरिशरण उपाध्याय, केन्द्रीय सदस्य लालबहादुर चौधरी, बौद्ध धर्मका बौद्धिक व्यक्तित्व मोहन लामा रुम्बालगायतका व्यक्तिहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गर्मीमा बेलफल खानुका यस्ता छन् फाइदा

अषार, ३ चितवन । औषधीय गुणले भरिपूर्ण बेलफल  खानु अत्यन्तै स्वास्थयवद्धक मानिन्छ ।  एक अत्यन्तै औष...