भरतपुरको वागीश्वरीमा तीन दिने सामूहिक गौ पूजन सुरु

चितवन,२६ कार्तिक भरतपुरको वागीश्वरीमा तीन दिने सामूहिक गौ पूजन सुरु भएको छ । योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा आजदेखि सामूहिक गौ पूजन अभियान सुरु भएको हो । लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरीमा गौ पूजन गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिनुभयो ।

पहिलो दिन नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवम् हरिहर आश्रम देवघाटधामका पिठाधिष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गौ आरती गरेर गौ पूजनको सुरुवात गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै महाराजले एक दिनमात्र गाईको संरक्षण गरेर नहुँने बताउँदै गाईको सधैँ पुजा गर्नुपर्ने बताउनुभयो । उहाँले गाईको धेरै महत्व रहेको बताउँदै गाईको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले योगी नरहरिनाथलाई राष्ट्रले चिन्न नसको भन्दै दुःख व्यक्त गर्नुभयो ।

सामुहिक गौ पूजन २८ गतेसम्म हुनेछ । वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ पूजन गर्न थालिएको हो । वैदिक गाईको वैदिक तवरबाट पूजा गरिने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिनुभयो । यहाँ सामूहिक गौ पूजासँगै गोवर्द्धनको पर्वत बनाएर पूजा गरिन्छ । प्रत्येक वर्ष गाई र गोवर्द्धन पूजाको दिन गाई र गोबद्र्धनको पूजा गर्नेको भीड लाग्छ । धर्म, संस्कृतिको रक्षाका लागि सम्पूर्ण वैदिक सनातन धर्मावलम्बी पूजा गर्न आउने गर्दछन् । पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको वागीश्वरीमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ । दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस