वागीश्वरीमा तीन दिनसम्म सामूहिक गौ पूजन गरियो

 भरतपुर,२९ कात्तिक । भरतपुरको वागीश्वरीमा तीन दिनसम्म सामूहिक गौ पूजन गरिएको छ । योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा लक्ष्मी तथा गोवद्र्धन पूजाको अवसर आइतबारदेखि मंगलबारसम्म सामुहिक गौ पुजन गरिएको हो ।
सामुहिक गौ पूजनमा हजारौँ भक्तजनको सहभागिता रहेको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए । वागीश्वरीमा नेपाल कै सबैभन्दा धेरै भक्तजन उपस्थिती भई सामुहिक गौ पुजन भएको ढकालको दाबी छ । पहिलो दिनमा लक्ष्मिको प्रतिकको रुपमा गाई पूजा, दोस्रो दिनमा ३३ कोटी देवताको बास भएको माताको रुपमा गाई पूजा र तेस्रो दिनमा गोवद्र्धन पूजा गरिएको उनले जानकारी दिए । लक्ष्मी पूजा तथा गोवद्र्धन पूजाको अवसरमा विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरीमा गौ पूजन गरिएको कार्यक्रम संयोजक ढकालले जानकारी दिए ।

पहिलो दिन नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवम् हरिहर आश्रम देवघाटधामका पिठाधिष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गौ आरती गरेर गौ पूजनको सुरुवात गरेका थिए । वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ पूजन गर्न थालिएको हो । वैदिक गाईको वैदिक तवरबाट पूजा गरिएको उनले जानकारी दिए । तीन दिनसम्म गौः कथा श्रवण गरिएको थियो । आज गोवद्र्धन पूजाको दिनमा विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी प्रमुख अतिथि रहनु रहेका थिए । सो अवसरमा बोल्दै अधिकारीले गाईको संरक्षण गर्न चरणको व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले गाईको ओसारप्रसारमा ध्यान दिँदै राज्यले यसको संरक्षणमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा प्राडा गुरुप्रसाद सुवेदी र कुँवेर सुवेदीले गौ कथाको श्रवण गरेका थिए ।

यहाँ सामूहिक गौ पूजासँगै गोवद्र्धनको पर्वत बनाएर पूजा गरिएको थियो । धर्म, संस्कृतिको रक्षाका लागि सम्पूर्ण वैदिक सनातन धर्मावलम्बी पूजा गर्न आउने गर्दछन् । पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको वागीश्वरीमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ । दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको छ ।

यहाँ गाईको रेखदेखको लागि नौ जना कर्मचारी खटिएका छन् । योगी नरहरीनाथले २०४३ सालमा माडीबाट कोटी होम लगाउन सात वटा गाई लिएर आएका र त्यो संख्या बढेर अहिले दुई सय पुगेका हुन् । गौ संरक्षणका लागि खोलिएको अध्यक्षकोषमा नयाँ पाँच जना संरक्षक थपिएका छन् । संरक्षक बन्नका लागि अक्षयकोषमा एक लाख रुपैयाँ भन्दा बढी रकम जम्मा गर्नुपर्ने हुन्छ । त्यस्तै ११ हजार भन्दा बढी दिएर दश जना आजिवन सदस्य बनेको कार्यक्रम संयोजक ढकालले जानकारी दिए । आगामी बर्षबाट वागीश्वरी क्षेत्रलाई गौ सेवा तिर्थको रुपमा विकास गर्न आयोजकले सबैलाई अनुरोध समेत गरेको छ । कार्यक्रममा योगी नरहरी नाथ गौ संरक्षण केन्द्रका अध्यक्ष शैलेन्द्र पिया, पूर्व अध्यक्ष टंकनाथ पौडेल, निर्वतनमा गौ सरक्षक समितिका संयोजक राम वस्ती लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस