श्री चन्द्रविनायकलाई पिता पशुपतिनाथको दर्शन गराइयो

काठमाडौँ,१४ मंसिर । मार्ग शीर्ष कृष्ण द्वितीयाका दिन हिजो काठमाडौँ उपत्यकाका चार विनायकमध्येका एक श्री चन्द्रविनायकलाई पिताजी पशुपतिनाथको दर्शन गराइएको छ ।
 
चावहिल क्षेत्रमा मनाइने श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको तेस्रो दिन आज दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराइएको हो । दर्शनपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाएर जात्रा पनि गरिएको व्यवस्थापन समिति सदस्य राजु भारतीले राससलाई जानकारी दिनुभयो । यो जात्रा प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वकासाथ मनाइन्छ ।

जात्राको दोस्रो दिन मङ्गलबार मार्गशीर्ष कृष्ण प्रतिपदाका अवसरमा श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएको थियो ।  कार्तिक शुक्ल पूर्णिमाका दिन सोमबार सुरु भएको जात्रा श्री चन्द्रविनायक र श्री भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन बिहीबार सकिने कार्यक्रम छ ।
जात्रा करिब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुवात् गराएको स्थानीयवासीको भनाई छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा चावहिल क्षेत्रमा बिहीबार सिन्दूर जात्रा गरिन्छ । 

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ । जात्राको पहिलो दिन सोमबार ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मूल मन्दिरमा आज घुमाइएको हो ।

पशुपतिनाथ अमालकोट कचहरीका द्वारेले कार्तिक शुक्ल पूर्णिमाका दिन बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ । – रासस

प्रतिकृया दिनुहोस