भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

काठमाडौँ,१५ मंसिर । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रको धीरनारायण मन्दिरअघिको गरुडनारायण मूर्ति ढल्यो । मूर्ति ढलेको नौ वर्षमा पनि संरचना अझै अलपत्र छन् । ठडिएको छैन ।

नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रस्थित हिटी पोखरी परिसरमा रहेको धीरनारायण मन्दिरलाई केही भएन । मन्दिरअघि पाँच फिट उचाइमा स्थापना गरिएको गरुडनारायण भने ढलेको साढे आठ वर्ष पूरा भयो । तर अझै यसलाई उठाउने कोही फेला परेको छैन । मन्दिर क्षेत्रमा रहेको गरुडनारायण मूर्ति पाँच फिटमाथिबाट खसेर भुइँमा ढलेकोे नौ वर्ष पूरा हुन लाग्दा पनि यसलाई उठाउने निकाय फेला परेको छैन ।

हिटी पोखरी संरक्षण समाजका अध्यक्ष तेजश्वी शम्शेर राणा तीनै तहका सरकारलाई अनुरोध गर्दा पनि सम्पदा जोगाउने सानो काम हुन नसकेको बताउनुहुन्छ । स्थानीय सरकारलाई पनि यो मूर्ति उठाउन पटकपटक अनुरोध गरेको वीरशम्शेरको सातौँ पुस्ताका सन्तति उहाँ बताउनुहुन्छ । गरुडनारायण मूर्तिसँगै रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको पाटी पनि भत्किएको थियो । पाटी पुनःनिर्माणको पनि अझै अत्तोपत्तो छैन ।

विसं १७९६ मा धीरशम्शेरले यहाँ नारायण मन्दिर स्थापना गरेको परिसरमा राखिएको शिलालेखमा उल्लेख छ । मन्दिर परिसरमै ठूलो घण्ट भने विसं १९३१ राखिएको थियो । कमलको फूल शैलीको यो मन्दिरमा विसं २०७७ देखि अर्जुन क्षत्रीले पूजा गर्दै आउनुभएको छ । उहाँ विसं २०७२ देखि मन्दिरको सेवामा लाग्नुभएको थियो । तत्कालीन पुजारी भोलाप्रसाद पन्तले गुठी संस्थानलाई पत्र लेखी क्षत्रीलाई पुजारी नियुक्त गर्न अनुरोध गर्नुभएको थियो ।
 
 विसं २०७७ अघि मन्दिर क्षेत्रमा विकृति, विसङ्गतिका घटना बढ्न थालेपछि स्थानीयवासीले हिटी पोखरी संरक्षण समाजको गठन गरी यसको रेखदेख गर्दै आएका छन् । पुजारी क्षेत्री यो समाजको उपाध्यक्षका रुपमा पनि सक्रिय हुनुहुन्छ । 

समाजले खसेको गरुडनारायणको मूर्ति माथि राख्न सरोकार भएका गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकालाई अनुरोध गर्दै आएपनि कसैले काम गरेका छैनन् । काठमाडौँ महानगरपालिका वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ भने सम्पदा संरक्षणका लागि वडाले सक्दो सहयोग गर्दै आएको दावी गर्नुहुन्छ ।

करिब चार रोपनी क्षेत्रफलमा फैलिएको हिटी पोखरीमा अहिले पनि दुई वटा धाराबाट पानी आउने गरेको छ । पिउन योग्य पानी भएकाले यहाँ पानी लिन आउनेको पनि भीड लाग्ने गर्छ । सडकपेटीबाट पैदल हिँड्ने कति मानिस यहाँ पानी पिउन जाने गरेका छन् । नारायणहिटी दरबारको नामकरणमा यो हिटीको पनि नाम जोडिएको छ । 

प्रतिकृया दिनुहोस