इच्छाकामना मन्दिरमा पञ्चमी मेला, मन्दिर पुनःनिर्माणपछि भक्तजन बढे

चितवन,१७ मंसिर । चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरमा शुक्रबारदेखि पञ्चमी मेला लागेको छ । प्रत्येक बर्ष हुँदै आएको मेला यसबर्ष पनि ठूलो पञ्चमीको अवसर पारेर आयोजना गरिएको हो ।

 मन्दिरमा पूजा गर्न र मेला भर्न चितवन, धादिङ, तनहुँ, गोरखा, काठमाडौं लगायतका जिल्लाबाट भक्तजनहरु इच्छाकामना मन्दिर पुगेका छन् । इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार मन्दिरमा शुक्रबार रातभर मेला लागेको छ भने शनिवार बिहानैदेखि पूजा गर्न आउने भक्तजनको घुइँचो लागेको छ ।

 ‘यसबर्ष भक्तजनको संख्या उल्लेख्य रहेको उहाँले बताउनुभयो । सडक पूर्वाधारको विकास र मन्दिर निर्माणपछि भक्तजनको संख्या बढेको छ,उहाँले भन्नुभयो,यसबर्ष पाँचहजार बढी भक्तजनले मन्दिरको दर्शन गरेका छन ।’ मेलाको अवसर पारेर पर्यटन प्रबद्र्धनका लागि म्याराथन प्रतियोगिता र चुड्का प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बोहोराले बताउनुभयो । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले विभिन्न सांगितक प्रस्तुती दिएका छन् ।


इच्छाकामना मन्दिरमा रातभर मेला लाग्ने र बिहान पूजाआज गरेर बलि चढाउने परम्परा रहेको इच्छाकामना सिद्धबाबा संरक्षण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले बताउनुभयो । उहाँले यहाँ गरिएको भाकल पुरा हुने भएकाले प्रत्येक वर्ष भक्तजनहरु बढ्दै गएको बताउनुभयो । ‘यहाँ शनिवार र अन्य विदाको दिन भक्तजनको संख्या उल्लेख्य हुन्छ,उहाँले भन्नुभयो, बस्ने ठाउँ लगायतका संरचना निर्माण गर्न बाँकी छ । ’


इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिरको प्रबद्र्धनका लागि गाउँपालिकाले मेला सञ्चालनमा सहयोग गरेको बताउनुभयो । उहाँले गाउँपालिकाले भौतिक संरचना निर्माण गरिरहेको भन्दै मन्दिरलाई बिशेष प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो । उहाँले मन्दिरलाई जोडेर इच्छाकामनाका पर्यटकिय क्षेत्रको एकीकृत रुपमा विकास गर्न लागिएको जानकारी दिनुभयो ।


इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्दछ । मनकामना माईको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ । इच्छाकामना र मनकामना मन्दिर दुई विपरीत अर्थात् आमुन्नेसामुन्ने डाँडामा छन् । तीर्थाटनमा पुग्ने भक्तजनको इच्छाएको कुरा पूरा गरिदिने भएकोले इच्छाकामना भनिएको हो । यहाँबाट सफा मौसममा मनास्लु, गणेश लगायतका हिमाल सहजै देख्न सकिन्छ । फिस्लिङ र मुग्लिन बजारदेखि मोटरबाटो प्रयोग गरेर एक घण्टाको यात्रामा इच्छाकामना मन्दिर पुग्न सकिन्छ ।

प्रतिकृया दिनुहोस