देवघाटमा शतबीज छर्ने भक्तजनको भीड

चितवन । आज बालाचतुर्दशीको दिन देवघाटधाममा शतबीज छर्न आउने भक्तजनको भीड लागेको छ । देवघाट क्षेत्र विकास समितिले यसबर्ष शतबीज छर्न आइतबारदेखि नै ठूलो संख्यामा भक्तजन देवघाट आएको जनाएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाका अनुसार आइतबार दिउँसोबाट देवघाटमा भक्तजन आएका छन । रातभर दियो बालेर जाग्राम बसी आज बिहान ३ बजेदेखि स्नान गरेर शतबीज छर्न थालिएको हो । उहाँका अनुसार चितवन र तनहुँतर्फ शतबीज छर्ने व्यवस्था गरिएको छ ।

रातभर गण्डकी र त्रिशुलीको वेणिसंगममा ठूलो संख्यामा भक्तजनहरु दियो बालेर जाग्राम बसेको रानाले बताउनुभयो । बालाचतुर्दशीको अघिल्लो रात आइतबार दिवङ्गत पितृका नाममा महादीपदान गर्न लाखौँ भक्तजन यहाँ आएर रातभर जाग्राम गर्ने परम्परा छ । भक्तजनको संख्या पछिल्ला वर्षको सबैभन्दा बढी हो । दिवगंत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै बालाचतुर्दशीमा शतबीज छर्ने गरिन्छ । शतबीजमा धान, गहुँ, जौँ, हलेदो, सक्खरखण्डलगायत चिजबीज छर्ने परम्परा छ ।

आजका दिन देवघाटधामको त्रिशूली र कालीगण्डकीको संगम वेणीमा शतबीज छर्नाले दिवंगत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको छ । देवघाट पवित्र तीर्थस्थल हो । ठूलो संख्यामा भक्तजन आउने भएकाले सुरक्षा, बत्ती, शौचालयलगायत व्यवस्थापनमा समितिले ध्यान दिएको अध्यक्ष रानाले बताउनुभयो । भक्तजनलाई नदीमा आवतजावत गर्नका लागि डुङगाको व्यवस्था गरिएको छ । आज विभिन्न शिव मन्दिर र नारायणी नदी किनारमा पनि सतबीज छर्नेको भीड लाग्छ ।

प्रतिकृया दिनुहोस