देवघाटमा लाग्ने माघे सक्रान्ति मेला व्यवस्थापनको तयारी पूरा

चितवन,२९ पुस । त्रिशुली र कालिगण्डकी नदीको संगमस्थल देवघाटमा लाग्ने माघे सक्रान्ति मेलाको व्यवस्थापनको तयारी पूरा भएको छ । देवघाट क्षेत्र विकास समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको बताएको हो । माघे सक्रान्तिका दिन देवघाटको बेणी संगममा स्थान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ ।

माघे सक्रान्ति मेलामा छिमेकी देश भारतबाट समेतगरी पाँच लाख भक्तजन आइपुग्ने बताइएको छ । माघे सक्रान्तिका लागि विभिन्न जिल्लाहरुबाट भक्तजनहरु आउने क्रम सुरु भइसकेको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक तथा माघे सक्रान्ति मेला व्यवस्थापन समितिका सदस्य सचिव सदन बरालका अनुसार गत वर्षको माघे सक्रान्ति मेलामा साढे २ लाख भक्तजन देवघाट पुगेका थिए ।

आज बिहान बेणी संगममा धार्मिक विधि अनुसार लिङ्गो गाडेपछि माघे सक्रान्ति मेला शुभारम्भ हुने बरालले बताए । माघे सक्रान्तिका दिन रामनगर, ठिमुरा र दासढुंगाबाट देवघाट प्रवेश गर्ने र बागीश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको छ ।

देवघाटमा साना सवारी साधन पार्किङको लागि सीताराम संस्कृत माविको कम्पाउण्ड र ठूला सवारी साधनलाई दाहसंस्कार प्रवेशद्धार अगाडि पार्किङ स्थलको व्यवस्था गरिएको उनले बताए । पार्किङ गर्दा साइकलको १० रुपैयाँ, मोटरसाइकलको २० रुपैयाँ, कार/जीप/भ्यानको ५० रुपैयाँ र ठूला सवारी साधनको १०० रुपैयाँ शुल्क उठाउने समितिको योजना छ ।

नदी वारपार गर्दा डुङ्गा र ¥याफ्टिङको एकतर्फी भाडा ५० रुपैयाँ निर्धारण गरिएको छ । आकस्मिक उद्धारका लागि दुई वटा काठका डुङ्गा, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार र नेपाली सेनाको नयाँ सबुज गणबाट गरी दुई/दुई वटा ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर रानाले जानकारी दिए ।

मेलामा सुरक्षा व्यवस्था मिलाउन बागमती प्रदेश प्रहरीबाट १७८ जना, जिल्ला प्रहरी कार्यालयबाट १०० जना, ५० जना सशस्त्र र ३० भन्दा बढी नेपाली सेना परिचालन हुने छन् । तनहुँतर्फबाट करिब १४५ जना सुरक्षाकर्मी परिचालन गरिने छ । झोलुंगे पुलमा एक पटकमा सय जनालाई एकतर्फी रुपमा प्रवेश अनुमति दिइने रानाले बताए ।

ज्योतीषिय गणना अनुसार सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर संक्रान्ति (माघे संक्रान्ति) भनिन्छ । पद्य्म पुराणका अनुसार सुर्य मकर राशीमा गएको बेला माघ महिना भर देवघाटधाममा स्नान गर्नाले ठुलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहेको छ । साथै पवित्र त्रिशुली नदी र कालीगन्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर संक्रान्तिको दिन नै भएको मानिन्छ । सोही कारण पनि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नेहरुको ठुलो घुईँचो लाग्ने गर्छ ।

देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको धार्मिक तिर्थस्थल हो । गोसाँइकुण्डबाट आएको त्रिशूली र दामोदर कुण्डबाट आएको कालीगण्डकीको मिलन एवं नारायणी नदीको मुहानको रुपमा रहेको देवघाटधामको बेणी संगम भएकोले यो पर्वको विशेष महत्व रहेको छ । यसै दिन पवित्र देवनदीको संगममा स्नान गर्न सम्पूर्ण देवी–देवताहरु आउने हुनाले पनि भक्तजनहरुले अदृष्य रुपमा देवी देवताहरुलाई भेटेर मोक्ष प्राप्ती गर्न सक्दछन् भन्ने पौराणिक मान्यता रही आएको छ ।

प्रतिकृया दिनुहोस