अयोध्यामा श्रीराम गृह प्रवेश, ससुराली नेपालमा दीप उत्सव

काठमाडौं,९ माघ । भारतको उत्तरप्रदेशस्थित अयोध्यामा भगवान् श्रीरामको बालस्वरुप मूर्तिको प्राण प्रतिष्ठा भएको अवसरमा जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गरिएको छ।

राम जन्मभूमि अयोध्यामा भगवान् श्रीरामको प्राणप्रतिष्ठा भएको अवसरमा सोमबार मर्यादापुरुषेत्तम श्रीरामको ससुराली जनकपुरधाममा दीपोत्सव मनाइएको हो।गत पाँच सय वर्षदेखि त्रिपालमुनि रहेका ज्वाइँचेला रामलला वर्षौँपछि भव्य एवम् दिव्य मन्दिरमा विराजमान भएको खुसीमा जनकपुरवासीले जानकी मन्दिरमा सवा लाख दीप बाल्नुका साथै जानकी मन्दिरमा विशेष आरतीसमेत आयोजन गरेका छन्।

मन्दिर परिसर र वरपर फुलअबीर प्रयोग गरी श्री रामलगायतका धर्मोदेव सम्बोधन हुने नाउँ अंकित थरिथरीका कलात्मक तस्बिर बनाइएका छन्। सोही अवसरमा जनकपुरधामका जानकी मन्दिर, राम मन्दिरलगायतका देवालयहरूमा श्री रामनाम सङ्कीर्तन, भजन, रामायण पाठ आदि धार्मिक कृत्यहरू हुँदै छन्।

साथै राम मन्दिरमा एक खालका पोसाक एक सय एक महिलाले एकै पटक दीप बालेका छन्। भगवान् रामको घरफिर्तीको खुसी प्रकट गर्ने यो विशेष तरिका भएको कार्यक्रम संयोजन गर्ने महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए।


गाउँसहरका विभिन्न चोक चौराहामा श्रद्धालु भक्तजनहरूले राम रथ बनाई बाजागाजाका साथ रामनामको नारा घन्काउँदै बजार प्रदक्षिणा गरिरहेका छन्। सयौँको समूहमा रहेका प्रदक्षिणा गर्नेहरूमा साधु सन्तका अतिरिक्त अधिकांश किशोर किशोरी र युवा देखिन्छन्।

जनकपुरधाम र अन्य विभिन्न स्थानमा रामपताका फहराइएको छ भने घर आँगनमा दीपावली गरिएको छ।अयोध्याको राम मन्दिर उद्घाटनका दिन जनकपुरधाममा मेला नै लागेको छ। जानकी र राम मन्दिरलगायतका ठाउँमा अन्य दिनको तुलनामा निकै बढी श्रद्धालु भक्तजनहरू ओइरिएका छन्।

राम मन्दिर उद्घाटन भएको दिन ऐतिहासिक महत्वको भएकाले जनकपुरधाममा विशेष किसिमका उत्सव मनाइएको जानकी मन्दिरका कार्यवाहक महन्थ मनोज दास वैष्णवले बताए।

वैष्णवले भने, ‘त्रेतायुगमा १४ वर्षको वनवास पाएका राम सीताको छ सय वर्षको निर्वासन सकिएको छ। ज्वाइँ छोरी वा दिदी भिनाजु घर वास हुँदाको खुसी अतुल्य हुन्छ। यसकै प्रकट विभिन्न रूपमा भइरहेका छन्।’

प्रतिकृया दिनुहोस