सकियो लुम्बिनीमा त्रिपिटक पाठ

अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका सहित विभिन्न संस्थाको सह आयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा  सञ्चालन गरिएको  तीन दिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन मङ्गलवार सकिएको छ ।


त्रिपिटक पाठको  निवर्तमान शिक्षामन्त्री अशोक राईले एक समारोहबिच समापन गर्नुभयो। समापन समारोहलाई सम्बोधन गर्दै निवर्तमान शिक्षामन्त्री राईले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धका शिक्षाहरूको सँगालो त्रिपिटक पाठले विश्वभर सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो।

गौतमबुद्ध एसियाको मात्रै नभएर विश्वकै प्रकाश भएको बताउँदै बुद्धको शिक्षा विश्वका लागि अपरिहार्य भइसकेको उहाँले बताउनुभयो। उहाँले विश्वमा देखिएको अशान्ति र अहिंसालाई सही मार्गमा ल्याउने बुद्धको शिक्षाहरू पवित्र स्थल लुम्बिनीमा वाचन गरिने कुरा आफैमा स्मरणीय रहेको बताउनुभयो।

यस्तै उक्त अवसरमा अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु फ्रा खुर धमेशभनले आजको आधुनिक समाजमा बुद्ध शिक्षाको आवश्यकता बढ्दै गएको बताउनुभयो । उहाँले महासङ्घले तेस्रो पटक लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको त्रिपिटक वाचन गर्न सफल भएको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशा पूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायान लगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भएपनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ ।

प्रतिकृया दिनुहोस