आजदेखी विक्रम बाबा मेला सुरु

चितवन,२६ चैत । नेपालकै पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने एक मात्र बिक्रम बाबा मेला आज (सोमबार) देखि सुरू भएको छ । आजदेखि सुरु भएको मेला १५ दिनसम्म चल्नेछ ।


बिगतका वर्षहरुमा मेलालाई भरतपुर महानगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण नभए पनि यसपटकबाट भने महानगर आफैंले मेला सञ्चालन गर्ने तयारी थालेको हो ।

भरतपुर– २३ मा रहेको घैलाघारी सामुदायिक वन, केरुङ्गा उपभोक्ता समिति, क्लब तथा टोलविकास संस्थासँग समन्वय र सहकार्य गरी मेला सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरेको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँशीको दिनदेखि सुरु भएर वैशाख पूर्णिमासम्म मेला सञ्चालन हुँदै आइरहेको छ । यस वर्ष पनि चैत २६ गते कृष्ण औँशीको दिनदेखि सुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सञ्चालन हुनेछ ।


मेलालाई सफल बनाउन बिक्रम बाबा मेला मूल समारोह समितिको संयोजकमा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी छन् भने भरतपुर– २३ का वडा अध्यक्ष दीपक दवाडीको संयोजकत्वमा सात सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरिएको छ ।

महानगरपालिकाले मेलामा प्रयोग हुने पार्किङ शुल्क दर पनि निर्धारण गरेको छ । जस अनुसार ठूला सवारीसाधनको लागि १०० रुपैयाँ, कारको लागि ८० रुपैयाँ, मोटरसाइकलको लागि २० रुपैयाँ र साइकलको लागि १० रुपैयाँ कायम गरिएको छ । त्यस्तै पानी २० रुपैयाँ, सादा खाना १५० रुपैयाँ, मःम १२० रुपैयाँ, चाउमिन ८० रुपैयाँ, जेरी पुरी एक सय रुपैयाँ र चिया २५ रुपैयाँ निर्धारण गरिएको छ । मेलामा धुमपान तथा मद्यपानलाई पूर्णरुपमा निषेध गरिएको छ । त्यस्तै मेला परिसरमा सहायता कक्ष र हेल्थ डेस्क पनि राखिने भएको छ । भक्तजनहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स, भइपरी आउने दैवीप्रकोप तथा उद्वारको लागि दमकल पनि मेला अवधिभर मेला परिसरमा रहनेछ । विक्रमबाबा पूजा स्थल कसरा क्षेत्रको भित्री व्यवस्थापनको जिम्मा चितवन राष्ट्रिय निकुञ्जले गर्नेछ भने बाहिरी क्षेत्रको मेला व्यवस्थापनको जिम्मा नगर प्रहरी बल, नेपाल प्रहरी र सशत्र प्रहरी बलले लिने छ ।

विक्रम बाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढेको देखिन्छ ।

विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।

किम्बदन्तीका अनुसार विक्रम नाम गरेको आदीबासी (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउमा पुजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।

प्रतिकृया दिनुहोस