वैदिक सनातनीहरुको आस्थाको केन्द्र त्रेतायुगकालिन काठमाडौको मातातिर्थ कुण्ड

प्रत्येक वर्ष वैशाख कृष्णपक्षको अमावास्या तिथिमा आमालाई सम्मान गर्ने पर्वका रूपमा मातातीर्थ औंसी मनाउने गरिन्छ। याे दिवस आफूलाई जन्म दिने आमाको मुख हेर्ने र आमालाई विशेष रूपले सम्मान गर्ने पर्व हाे। त्यसैले यस दिन आमा जीवित हुनेहरूले आमाको दर्शन गरी आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्दछन् भने आमा नहुनेहरूले विभिन्न तीर्थहरूमा गई आमाको मोक्षगतिको कामनासाथ आमाका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्दछन्।
मातातीर्थ कुण्ड र किंवदन्ती
काठमाडौ उपत्यकाकाको चन्द्रा नगरपालिका ६ थानकोट नजिक पर्ने यस कुण्डको उत्पत्तीको प्रसंग त्त्रेता युग सगँ जोडिएको छ । त्रेतायुगमा दशरथपुत्र श्रीराम वनवास जाँदा लक्ष्मण र सीताका साथमा घुम्दै यस ठाउँमा आइपुग्नुभयो। अपरिचित उहाँलाई स्थानीय बासिन्दाहरूले नौलो र शंकास्पद देखेर आक्रमण गरे। त्यसपछि श्रीराम र उनीहरूबीच ठूलो युद्ध नै भयो। दुवै पक्ष थकित र भोक–प्यासले आकुल भए। माता सीताजी पनि प्यासले आकुल हुनुभयो। वरिपरि पानीको खोजी भयो, कतै नभेटिएपछि भगवान् श्रीरामले गंगाजीको स्तुति गर्न थाल्नुभयो।
‘मातागंगासमोतीर्थपितापुस्करमेवचः’ भन्दै जब श्रीरामले जमिनमा बाण प्रहार गर्नुभयो, पानीको कुण्ड बन्यो। पानी उघाउन जाँदा माता सीताजीले उक्त कुण्डमा सारा ब्रह्माण्डको दर्शन पाउनुभयो। कुण्डको जलमा वहाँको छाया पर्नासाथ भित्रको ढुंगामा वहाँको मूर्ति समेत कुँदिन पुग्यो। यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गर्नुभएको पवित्र कुण्डलाई मातातीर्थ भनिएको हो।
मतातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् । जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुनः अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमशः हराउँदै गए ।
ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंसी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे । हरेक बर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो ।
यसरी हरेक बर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।
बौद्ध धर्माम्बलीहरुको पनि आस्थाको केन्द्र मातातिर्थ कुण्ड
मातातिर्थ औंसीका दिन वैदिक सनातनीहरु सबैको आस्थाको केन्द्र बन्दै गएको छ । यहाँ बौद्ध धर्माम्बली मान्नेहरु समेत आमाको समझनामा कुण्ड स्नान लगायत दिप प्रज्वलन गर्र्न आउने गर्दछन् ।
प्रतिकृया दिनुहोस