तोकिएकै समयमा एनआरएनएको एकता महाधिवेशन गर्न माग

काठमाडौ, १९,वैशाख । गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन तोकिएकै मितिमा गर्न प्रतिनिधिहरुले माग गरेका छन् । महाधिवेशनका लागि विश्वभरिबाट काठमाडौँ आइपुगेका डेलिगेट्स (प्रतिनिधिहरू) ले तोकिएको मिति वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) मै महाधिवेशन सम्पन्न गर्न जोडदार माग गरेका छन् ।
सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिको आह्वानमा महाधिवेशनमा सहभागी हुन काठमाडौँ आइपुगेका प्रतिनिधिहरूले बिहीबार एक संयुक्त अपिल प्रकाशित गर्दै त्यस्तो माग गरेका हुन् ।
महाधिवेशनमा भाग लिन करिब ३,२०० जनाले प्रतिनिधिका लागि आवेदन दिइसकेको र निर्वाचन समितिले पहिलो चरणको मतदाता नामावली पनि प्रकाशित गरिसकेको उल्लेख गर्दै प्रतिनिधिहरूले भनेका छन्, ‘सर्वोच्चको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले पारदर्शी रूपमा तयारी अगाडि बढाइ रहेको छ । होटेल बुकिङ, उद्घाटन समारोहलगायत सबै तयारी पुरा भइसकेको अवस्थामा महाधिवेशन सार्ने प्रयास गर्नु संस्थाको साखमाथि गम्भीर प्रहार हुनेछ।’
प्रतिनिधिहरूले महाधिवेशन सारिएमा हजारौँ एनआरएनहरूको टिकट, बिदा र तयारीमा लागेको रकम खेर जाने उल्लेख गरेका छन् । ‘हामी महिनौँ अगाडि छुट्टी लिएर, महँगो टिकट काटेर आएका हौँ । महाधिवेशन नहुनु भनेको हाम्रो समय, श्रम र स्रोतको घोर अपमान हो । महाधिवेशनमा भाग लिएर मतदान गर्न पाउनु तथा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नु हाम्रो नैसर्गिक तथा संविधान प्रदत्त अधिकार हो । यदि यो अधिकार कुण्ठित गरियो भने हामी नेपाल वा बसोबास गरिरहेको मुलुकका कानुनी निकायबाट न्याय माग्न बाध्य हुनेछौँ,’ संयुक्त अपिलमा भनिएको छ ।
गैर आवासीय नेपाली संघ लामो समयदेखि आन्तरिक विवादमा अल्झिँदै आएको छ । उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतले दिएको परमादेशअनुसार गठन भएको उच्चस्तरीय समितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको भन्दै प्रतिनिधिहरूले न्यायिक आदेशको सम्मानमा महाधिवेशन तोकिएको मितिमा गरिनु पर्ने बताएका हुन् ।
उक्त संयुक्त अपिलमा जापान, अमेरिका, बेल्जियम, कतार, युके, अष्ट्रेलिया, कोरिया, स्पेन, जर्मनी, सिंगापुर, क्याम्बोडिया, युएई, मलेसिया लगायत ३० भन्दा बढी देशबाट आएका प्रतिनिधिहरूले जारी गरेका हुन् ।
उनीहरूले भनेका छन्, “अब बहानाको समय होइन, एकताको महाधिवेशन सफल बनाउने अवसर हो । हामी संस्थाका सबै पदाधिकारी, अभियन्ता र हितचिन्तकहरुसँग आग्रह गर्छौँ– महाधिवेशन तोकिएको मितिमै गरौँ, एनआरएनएको गौरव बचाऔँ ।”
प्रतिकृया दिनुहोस