साउनमा आध्यात्मिक ऊर्जा : सन्तुलित जीवनको माग

असार मसान्तसँगै आर्थिक वर्षको दौडधूप सकिन्छ, तर यो समय धेरैका लागि शारीरिक थकान र मानसिक तनावको चरम बिन्दु पनि हो । प्रतिवेदन, हिसाबकिताब, कर र लक्ष्यहरू पूरा गर्ने चापले हाम्रो सम्पूर्ण ऊर्जा चुसिसकेको महसुस हुन्छ ।
यस्तो बेला स्पा र वेलनेस थेरापीहरू केवल विलासिता होइन, आवश्यकताको रूपमा अगाडि आउँछन् । लामो समय कम्प्युटरमा काम गर्दा कक्रिएका काँध, ढाड र घाँटीको मांसपेशीलाई डिप टिस्यु मसाजले निकै राहत दिन्छ । शरीरभरि रक्तसञ्चार राम्रो हुँदा थकान हट्छ र हल्कापन महसुस हुन्छ । अर्कोतर्फ, एरोमाथेरापीले तनाव घटाउँछ र मानसिक शान्ति दिन्छ । स्टिम बाथ र सउनामार्फत पसिनासँगै शरीरका विषाक्त पदार्थ निस्कन्छन्, छाला चम्किलो र ताजा देखिन्छ । नयाँ आर्थिक वर्षमा फेरि उत्साहका साथ लाग्न, यस्तो विश्राम र उपचारको अनुभव महत्त्वपूर्ण हुन्छ ।
साउन महिना भनेको केवल हरियो चुरा र मेहन्दी लगाउने फेसनको समय होइन, यो आत्मा र सोचमा गहिरो असर पार्ने महिनासमेत हो । विशेषगरी साउनको सोमबार व्रत, शिवभक्ति र मौन ध्यानजस्ता अभ्यासले मानसिक अनुशासन र शुद्धिको अनुभूति दिन्छन् । व्रत गर्दा पाचन प्रणालीलाई विश्राम मिल्छ, शरीर डिटक्स हुन्छ, र मानसिक रूपमा पनि दृढता विकास हुन्छ । ध्यान, जप वा मन्दिरमा केही समय बिताउँदा मन शान्त हुन्छ र जीवनप्रति दृष्टिकोण सकारात्मक बन्छ ।
साउन महिना प्रकृतिसँग नजिकिने राम्रो मौका पनि हो । हरियालीले आँखालाई शीतलता दिन्छ, मेहन्दीले शरीरलाई चिसो बनाउँछ, अनि वर्षाको रिमझिमले मनमा सुकुन ल्याउँछ । केही समय हरियो वातावरणमा ध्यान गर्दै वा गहिरो श्वास लिँदै बिताउनु आफैंमा एक प्राकृतिक उपचार हो । यस्तो साधारण तर प्रभावकारी अभ्यासले सन्तुलित जीवनतर्फ डोर्याउँछ । त्यसैले यो सिजनलाई केवल वि श्रामको रूपमा होइन, नयाँ वर्षको सुरुवात अघि शरीर, मन र आत्माको पुनरुत्थानको समयको रूपमा लिऊँ ।https://annapurnapost.com/story/482929/
प्रतिकृया दिनुहोस