नेपालकै दुर्लभ सहस्त्रलिङ्ग ऐतिहासिक धाममा लाग्ने भो धार्मिक मेला

तडी । नेपालकै दुर्लभ  सहस्त्रलिङ्ग ऐतिहासिक धार्मिक स्थल, बैतडीको दशरथचन्द नगरपालिका–४, देवलहाटस्थित श्री सहस्त्रलिङ्ग धाममा यस वर्ष साउन २६ गते विशेष मेला लाग्ने भएको छ। साउन महिनाको अन्तिम सोमबारका दिन लाग्ने यस दिव्य मेलामा सहभागी हुन समस्त हिन्दु धर्मावलम्बी र श्रद्धालु भक्तजनहरूलाई हार्दिक आह्वान गरिएको छ।

सहस्त्रलिङ्ग धाम यहाँका जनताको धार्मिक, पौराणिक, पुरातात्त्विक र सांस्कृतिक धरोहरका रूपमा चिनिन्छ। यहाँ साउन महिनामा दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी वीरबहादुर चन्द बताउँछन्। यसैकारण साउनभरि यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। धामका पुजारीका अनुसार, यहाँ दर्शन गरेर रुद्राभिषेक पूजाआजा गर्नाले चिताएको फल प्राप्त हुन्छ।

जिल्ला सदरमुकामबाट करिब २ किलोमिटरको दूरीमा रहेको देवलहाट गाउँमा अवस्थित  शिव कुण्ड कुवामाथि कलात्मक शिवलिङ्ग छ। यस लिङ्गमा १५ वटा तेर्सो रेखामा क्रमैसँग साना-साना लिङ्गहरू कुँदिएका छन्। यसको लिङ्ग भाग मात्र ५० सेन्टिमिटर छ, भने पीठिकादेखि माथिको भाग २६० सेन्टिमिटर अग्लो छ। पाण्डेका अनुसार, यो शिवलिङ्गमा कुँदिएका लिङ्गका आकृतिहरू भगवान शिवका १०८ वटा नाम र स्वरूपका प्रतीक हुन्।

यस लिङ्गको स्थापना कहिले र कसले गरेको हो भन्नेबारे कुनै ऐतिहासिक प्रमाण भने पाइएको छैन। प्रारम्भमा यो शिवलिङ्ग त्यहाँका सातवटा देवलहरूमध्ये कुनै एकमा राखिएको हुन सक्ने अनुमान गरिएको छ।

यति ठूलो धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको भए पनि सहस्त्रलिङ्ग धाम सरकारी उपेक्षामा परेको छ। स्थानीय तह र प्रदेश सरकारले यसको संरक्षण, फेला परेका वस्तु राख्ने सङ्ग्रहालय, पुस्तकालय, गुरुकुल विद्यालय र देवलहाटसम्म पुग्ने स्तरीय सडक निर्माणमा कुनै चासो नदेखाएको स्थानीय बताउँछन्।

प्रचारप्रसारको अभावमा यहाँ बाह्य पर्यटक खासै नआएको स्थानीय हरिदत्त भट्टको भनाइ छ। स्थानीय तह र प्रदेश सरकारले धामसँगै रहेको बस्तीलाई होमस्टेको रूपमा विकास गर्न सहयोग गरेमा आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित गर्न सकिने अपेक्षा स्थानीयको छ।

नेपालकै गौरवका रूपमा रहेको यस ऐतिहासिक र पुरातात्त्विक स्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग मिल्ने थियो। हालसम्म नेपालका विभिन्न ठाउँका साथै भारतको पिथौरागढबाट पनि भक्तजनहरू यहाँ दर्शनका लागि आउने गरेका छन्।

२०८२ साल साउन २६ गते सोमबार बिहान ८ बजे पीपलको रुख र शिव कुण्ड नजिकै रुद्र अभिषेक पूजाआजाको आयोजना गरिएको छ। यस पवित्र कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण भक्तजनमा हार्दिक निमन्त्रणा गरिएको छ।

प्रतिकृया दिनुहोस