कैलाश गुठी समूहद्वारा देवघाटका वृद्धाश्रम र गौ संरक्षण केन्द्रलाई सहयोग

देवघाट, ३ पुस ः
भरतपुर महानगरपालिका–११ स्थित कैलाश गुठी समूहले आज देवघाटधाममा रहेको रोटरी करुणालय वृद्धाश्रम तथा थाहा सदावर्त र श्रीवागीश्वरी आध्यात्मिक परिषद्अन्तर्गत योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित गौ संरक्षण केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।
गुठीले टोलमा एकबद्ध भई प्रत्येक एकादशी साँझ घर–घरमा पुगेर भजन–कीर्तन तथा पूजा–आजाबाट संकलित दान रकम सामाजिक सेवामा खर्च गरेको हो । सोही अवसरमा गुठीले वृद्धाश्रममा बिहानको भोजनको व्यवस्था समेत गरेको छ । गुठी समूहका अध्यक्ष खड्ग केसीले सेवाभावलाई प्राथमिकतामा राख्दै एकादशी तथा पूजा–भजन–कीर्तनबाट संकलित रकम पुण्य कार्यमा खर्च गरिएको बताउनुभयो ।
आश्रमका व्यवस्थापक कृष्णप्रसाद आचार्यका अनुसार आश्रममा हाल ३५ जना वृद्धवृद्धा स्थायी रूपमा बसोबास गर्दै आएका छन् भने बिहान–बेलुका भोजनका लागि बाहिरबाट आउनेको संख्या १३० जनाभन्दा बढी छ । उहाँका अनुसार दैनिक रूपमा करिब १५० जनाभन्दा बढीका लागि भोजन पाक्ने व्यवस्था हुँदै आएको छ । “देवघाटमा कोही पनि भोको नरहोस् भन्ने उद्देश्यले यहाँ आउने जो–कोहीले बिहान र बेलुका भोजन पाउन सक्छन्,” उहाँले भन्नुभयो । यस्ता दाताहरूको सहयोगले ठूलो राहत मिलेको भन्दै उहाँले गुठी परिवारप्रति आभार व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गर्नुभयो ।

यसैगरी, गुठी समूहले वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रलाई पनि सहयोग गरेको छ । गौ–पालन तथा संरक्षणमा टेवा पु¥याउने उद्देश्यले उक्त सहयोग गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।
वागीश्वरी आश्रमका अध्यक्ष अशोक पोखरेल शर्माका अनुसार देवघाटधाम प्रवेश मार्गमा अवस्थित उक्त केन्द्रमा हाल स्थानीय जातका २०८ वटा गाई, गोरु तथा बाछाबाछीको संरक्षण भइरहेको छ । केन्द्र दाताहरूको सहयोगमा सञ्चालन हुँदै आएको र मासिक करिब पाँच लाख रुपैयाँ खर्च हुने उहाँले बताउनुभयो । “हाल केन्द्रमा करिब एक करोड रुपैयाँको अक्षयकोष भए पनि त्यसले मात्र पर्याप्त हुँदैन। निरन्तर दाताहरूको सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो । गुठी समूहप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले सानो सहयोगले पनि गौ संरक्षण र पालनमा टेवा पुग्ने बताउनुभयो ।
उक्त अवसरमा गुठी समूहले गौ संरक्षण तथा आहारका लागि रु १९ हजार ५१५ सहयोग गरेको र आगामी दिनमा पनि यस्तै सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

कार्यक्रममा कैलाश गुठी समूहका सदस्यहरूको सहभागिता रहेको थियो । भाइचाराको हितमा स्थापना भएको गुठीले टोलमा भजन–कीर्तन तथा पूजा–आजाबाट संकलित रकम सामाजिक सेवामा खर्च गर्दै आएको छ 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माडीको कालभैरव मन्दिरमा गजुर हालियो मौला गाडियो

मंसिर,,२८ माडी । चितवनको दक्षिणमा रहेको  माडी उपत्यकाको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा ४ दिन...