समाज विश्व सम्पदा सूचीको बौद्धनाथ स्तूपमा मनपरी : चिनियाँ लामा भूपति बज्र पदमुक्त
सुरेन्द्र काफ्ले
काठमाडौं : नियुक्तिदेखि नै विवादमा मुछिँदै आएका बौद्धनाथ स्तूपअन्तर्गतको बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख पुजारी ‘चिनियाँ लामा’ भूपति बज्र लामालाई पदमुक्त गरिएको छ। गुठी संस्थानको सञ्चालक समिति बैठकले आरोपै आरोपमा मुछिएपछि उनलाई ‘चिनियाँ लामा’ पदबाट हटाउने निर्णय गरेको हो।गुठी संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार पछिल्लो समय लामाले गरेका विवादास्पद गतिविधिबारे सञ्चारमाध्यममा समाचार आएपछि संस्थानले कारबाही अघि बढाएको हो। विभागीयमन्त्री भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. कुमार इङ्नामको निर्देशनमा छानबिन प्रक्रिया अघि बढाइएपछि गत शुक्रबारको सञ्चालक समिति बैठकले लामालाई पदमुक्त गर्ने निर्णय गरेको हो।
मन्त्री इङ्नामले लामाविरुद्ध परेका उजुरी र सञ्चारमाध्यममा आएका सामग्रीका आधारमा छानबिन गरी निर्णय गर्न निर्देशन दिएका थिए। सोहीअनुसार प्रारम्भमा लामासँग स्पष्टीकरण मागिएको थियो। तर, चित्तबुझ्दो जवाफ नआएपछि उनलाई पदबाट हटाइएको हो। मन्त्री इङ्नामले पदमा रहँदा गरेका अनुचित कार्यकै कारण लामालाई हटाइएको बताउँदै अब योग्य र विवादरहित व्यक्तिलाई ‘चिनियाँ लामा’ पदमा नियुक्त गरिने जानकारी दिएविश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तूपसँग जोडिएका विभिन्न विवादमा भूपति बज्र लामा लामो समयदेखि जोडिँदै आएका थिए। नियुक्तिपछि गुठी जग्गाको संरक्षण नगरेको, गुम्बाको उचित व्यवस्थापन नगरेको तथा बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध तथा मेलम्ची घ्याङ गुठीबीच स्वामित्व विवाद चुल्याएको आरोप उनीमाथि छ।
त्यस्तै, स्तूपमा उठेको भेटी दुरुपयोग गरेको, स्तूपमा जथाभावी प्वाल पारेको, गुम्बामा नियमित नबस्ने तथा पदीय आचरणविपरीत गतिविधि गरेको आरोपसमेत लगाइएको थियो। यी सबै विषयमा छानबिन गरी उनलाई ‘चिनियाँ लामा’ पदबाट मुक्त गरिएको गुठी संस्थानले जनाएको छ। लामामाथि नियुक्तिका क्रममा तत्कालीन भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई घुस बुझाएको आरोपसमेत छ। उनको नागरिकता शंकास्पद रहेको भन्दै पटक–पटक सच्याइएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो। कूटनीतिक राहदानी दुरुपयोग गरेको आरोप पनि उनीमाथि लागेको छ।
यसअघि बौद्धनाथ परिसरमा रहेको ‘बुद्धचित्त’ बोटमा फलेका दाना टिप्ने विषयलाई लिएरसमेत ठूलो विवाद भएको थियो। पछिल्लो समय भक्तालुहरूलाई स्तूपमा पठाउने क्रममा ‘चिनियाँ लामा’ले ५ देखि १० हजार रुपैयाँसम्म घुस लिने गरेको उजुरी आएको मन्त्री इङ्नामले बताएका थिए। उनका गतिविधिले बौद्धनाथ स्तूपको गरिमा आँच आएको भन्दै स्थानीयवासीहरूले पटक–पटक विरोध जनाउँदै आएका थिए। गुठी कार्यालयमा तालाबन्दीसम्म गरिएको इतिहास पनि छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भूमिव्यवस्था मन्त्रालयले यस विषयमा विभिन्न समयमा छानबिन समिति गठन गरेका थिए। संस्कृति मन्त्रालयले तत्कालीन सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा तथा भूमि व्यवस्था मन्त्रालयले उपसचिव नीरज पौडेलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। विगतमा सत्ता र शक्तिको आडमा उनले आफ्नो पद बचाइरहेको थिए।
२०७३ असार २१ गते भूपति बज्र लामा बौद्ध घ्याङ गुठीको प्रमुख ‘चिनियाँ लामा’ नियुक्त भएका थिए। नियुक्तिदेखि नै उनको विरोध सुरु भएको थियो। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, भूपति बज्र लामाकै कारण बौद्धस्तूप लथालिंग भएको आरोप लगाउँदै आएका छन्। भूपति ब्रज लामाको विवादस्पद कामले नै बौद्धको गरिमा, प्रतिष्ठमा पनि आँच आइरहेको उनको आरोप छ। बौद्धनाथस्थित धार्मिक गुरुलाई परम्परागत रूपमा ‘चिनियाँ लामा’ भनिन्छ। गुठी संस्थानअन्तर्गत रहेको बौद्धनाथ स्तूपमा ‘चिनियाँ लामा’ नियुक्त गर्ने अधिकार गुठी संस्थानमै निहित छ।
यसैबीच, बौद्धनाथ स्तूपलगायत विश्व सम्पदा सूचीमा रहेका जग्गा हिनामिनाको विषयमा महालेखा परीक्षकको कार्यालयले समेत अनुसन्धान गरिरहेको छ। जानकारहरूका अनुसार विगतमा करिब १४ सय रोपनी रहेको बौद्ध स्तूपको जग्गा अहिले घटेर करिब १८ रोपनीमा सीमित भएको छ। हाल स्तूप र पोखरी मात्र बाँकी रहेको बताइन्छ। स्तूपको नाममा १५ रोपनी २ आना ३ पैसा र पोखरीको नाममा ३ रोपनी १ आना २ पैसा जग्गा मात्र रहेको छ। बाँकी जग्गामा अतिक्रमणको जोखिम बढ्दो छ।
काठमाडौं उपत्यकाका स्तूपमध्ये सबैभन्दा ठूलो बौद्धनाथ स्तूपलाई ‘स्वस्ति’ पनि भनिन्छ। तिब्बत जाने प्राचीन मार्गमा अवस्थित यस स्तूपको गोलाद्र्ध ३६ मिटर उचाइको छ। तिब्बती शरणार्थीहरूको बसोबास रहेको बौद्धक्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ, जहाँ आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ।https://annapurnapost.com/story/493253/
प्रतिकृया दिनुहोस