यस्तो छ फागुन महिनाको राशिफल

फागुन २०८२उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई फागुन महिना उपलब्धिमूलक रहनेछ। रोकिएका कामले गति लिनुका साथै आयस्रोत सबल बन्नेछन्। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। हराएको नगद प्राप्त हुनेछ। उधारो तथा सरसापटमा गएको रकम समेत फिर्ता लिन सकिनेछ। सेयर तथा साझेदारीमा मनग्य फाइदा लिने समय छ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ। पछिल्ला दिनमा साेखले खर्च बढाउनेछ। भौतिक साधनमा क्षति पुग्ने र फजुल खर्च बढ्ने सम्भावना छ, आर्जित धन र उपलब्धि जोगाउने प्रयास गर्नुहोला।

वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिलाई फागुन महिनामा केही नयाँ अवसर प्राप्त हुनेछन्। व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। बिग्रिएका काममा सुधारका लक्षण देखिनेछन्। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ। प्रयत्न गर्दा नयाँ काम थाल्ने वातावरण बन्नेछ। सेयर, व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषि उपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। मिहिनेतीहरूलाई कर्मयोगले उचाइमा पुर्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन् भने मित्रता र प्रेमको बन्धन कसिनेछ। आयस्रोत सबल हुनेछ, स्रोत–साधन जुट्नेछन् र कामको यश लिने अवसर प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। प्रयत्न गर्दा देशविदेशको यात्रा हुन सक्छ।

मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिलाई फागुन महिनामा केही समस्या आउनेछन्। तापनि अध्ययनमा राम्राे प्रगति हुनेछ। पेसा–व्यवसायमा आंशिक लाभ हुनेछ। प्रयत्न गर्दा नयाँ काम थाल्ने वातावरण बन्नेछ। मिहिनेतले केही उपलब्धि प्राप्त गर्न सकिनेछ। स्वास्थ्यका लागि सन्तुलित आहार, व्यायाम र विश्राममा विशेष ध्यान पुर्याउनुपर्ने समय छ। खर्च लागे पनि केही स्रोत–साधन जुटाउन सकिनेछ। व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। बिग्रिएका काममा सुधारका लक्षण देखिनेछन्। नोकरी तथा राजनीतिमा पनि अवसर खोज्ने समय छ। तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्नुहोला। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। पहिलेकाे सेयर तथा लगानीको लाभांश घट्न सक्छ। तापनि नयाँ क्षेत्रमा लगानी गर्न सकिने समय छ, अवसरका लागि प्रयत्न गर्नुहाेला।

कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिलाई फागुन महिना केही संघर्षमय रहनेछ। स्वास्थ्य कमजाेर हुनाले जोस–जाँगरमा कमी आउनेछ। पेसा–व्यवसायमा गरेकाे लगानी अड्किन सक्छ। भएकाे आम्दानी तथा सञ्चित रकम बाहिरिनाले अर्थ अभाव देखापर्नेछ। सामाजिक प्रभाव समेत कमजाेर बन्ने समय छ। नयाँ व्यवसाय थाल्ने योजनामा हुनुहुन्छ भने वैधानिक प्रावधान अध्ययन गरेर मात्र काम थालनी गर्नुहाेला। परीक्षणका लागि सीमित लगानी गर्नु उचित हुनेछ। मिहिनेत गर्दागर्दै पनि काम राेकिन सक्छ। आफ्नैले समेत अवरोध पुर्याउन सक्छन्। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। कुनै काम अड्किए पनि पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला। सफलताको सिढी उक्लन केही समय लाग्न सक्छ। धैर्यसाथ प्रयत्न गर्दा केही समस्या समाधान हुनेछन्।

सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिलाई फागुन महिना उतारचढावमय रहनेछ। घर–गृहस्थीमा अलमल भइरहनेछ। पतिपत्नीबीच मतभेद र घरखर्च बढ्न सक्छ। किनमेलमा अधिक खर्च हुने र आयआर्जनमा कमी आउने समय छ। सहयाेगकाे आशा देखाउनेहरूले समेत निराश पार्न सक्छन्। शरीरमा थकान र कमजाेरी महसुस हुनेछ। कार्यक्षेत्रमा आइपर्ने समस्या सुल्झाउनैपर्ने चुनौती आउन सक्छ। तापनि निरन्तर प्रयत्न गर्दा काम सम्पादन हुनेछ। खर्च लागे पनि रकम जुटाउन सकिनेछ। दिगो व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। आफ्नो उपलब्धिमा हक जमाउनेहरू स्वतः पराजित हुनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पेसा–व्यवसायमा आंशिक उपलब्धि प्राप्त हुनेछ। रोग र शत्रु परास्त हुनेछन्। प्रतिकूल परिस्थितिमा पनि सावधानीले उपलब्धि जोगाउन सकिनेछ।

कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिलाई फागुन महिना निकै उपलब्धिमूलक रहनेछ। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ हुने समय छ। आँट र लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। स्थापित पेसा–व्यवसायले नयाँ उचाइ प्राप्त गर्ने समय छ। स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले काम गर्ने जोश–जाँगर बढ्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू सहयोगीका रूपमा उपस्थित हुनेछन्। अरूका हातमा गएको धन र वस्तुसमेत फिर्ता हुनेछ। अर्थ उपार्जनका नयाँ स्रोत फेलापार्न सकिनेछ। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुने समय छ। नियमित आम्दानी बढ्नाले पुरानो कर्जा, सापटी घटाउन सकिनेछ। अध्ययनमा सफलता मिल्नेछ।

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिलाई फागुन महिना आर्थिक दृष्टिले न्यून उपलब्धिमूलक रहनेछ। धेरैजसो पेटको समस्याले सताउने हुँदा खानपानमा सजग रहनुहोला। स्वास्थ्य र यात्राको प्रसंगमा अधिक खर्च हुनेछ। आफ्ना बाध्यता र कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आफ्नो मान्यतामा अडान लिने बानीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ। अज्ञानता र बलजफ्ती गर्ने प्रवृत्तिले काम बिग्रन सक्छ। तापनि पेसा–व्यवसायमा सामान्य फाइदा भइरहनेछ। नियमित आयआर्जन हुनाले व्यावहारिक समस्या हट्नेछन्। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषि–उत्पादनको राम्रो मूल्य प्राप्त हुनेछ भने पशुपालनबाट पनि लाभ उठाउन सकिनेछ। सवारी तथा भौतिक साधन जुटाउने समय छ। अध्ययन र लेखनतर्फ प्रगति हुनेछ। मिहिनेतले उपलब्धि दिलाउनेछ।

वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिलाई फागुन महिनाभरि घरायसी समस्याले पिराेल्न सक्छ। घरको जिम्मेवारी बढ्नाले सामाजिक कामबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। समय छँदा आलस्य गर्ने प्रवृत्तिले भने धेरै अवसर गुम्न सक्छन्। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। अरूको भावना र विचारलाई बेवास्ता गर्नाले परिवारमा असमझदारी देखा पर्नेछ। नोकरीमा अरूको दबाब झेल्नुपर्ने परिस्थिति रहनेछ। भूमिबाट लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। आवेशमा गरिएका क्रियाकलापले सम्बन्ध कमजाेर बन्न सक्छ। महत्त्वाकांक्षाले समस्या निम्त्याउने हुँदा बुद्धि–विवेकले काम लिनुपर्ने समय छ। धैर्य, संयमित व्यवहार र लगनशीलताले अप्ठ्यारा काम पनि सम्पादन हुनेछन्। मेहनतले अवसर प्रदान गर्नेछ भने सावधानीले उपलब्धि जोगाउन सकिनेछ।

धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिलाई फागुन महिना उत्साहवर्द्धक रहनेछ। पेसा–व्यवसायमा राम्राे फाइदा मिल्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनुका साथै लेखनकलामा निखारता आउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने समय छ। प्रतिष्ठित व्यक्तिले हौसला प्रदान गर्नेछन्। बल, तेज, पराक्रम बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा पाइनेछ। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। रोकिएका काम सम्पादन गर्ने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति अभिवृद्धि हुने सम्भावना छ। कृषितर्फ नयाँ प्रविधि भित्र्याउने समय छ। आवश्यक भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ। दाजुभाइमा भने केही असमझदारी बढ्न सक्छ, सबैलाई समेटेर अघि बढ्नुहोला।

मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशिलाई फागुन महिनामा केही चुनौती देखिए पनि आंशिक उपलब्धि प्राप्त गर्न सकिनेछ। महत्त्वाकांक्षी काम थालनी हुनेछ। तर केही अवरोध र चुनौतीसमेत झेल्नुपर्ने देखिन्छ, विशेष योजनामा स्वयं जुट्नुहोला। प्रयास गर्नेहरूलाई अवसरका बाटाहरू फेला पर्नेछन्। पढेर भन्दा गरेर सिक्ने समय छ। हल्ला नगरी काम गर्दा उपलब्धि हातपार्न सकिनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ। कामका सन्दर्भमा प्रचलित नियम उल्लंघन हुने हुँदा विवादमा परिने सम्भावना छ। आलोचकहरूले समाजमा अफवाह फैलाउने चेष्टा गर्नेछन्। आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। वाणीको लय कठोर बन्नाले साथीभाइ टाढिन सक्छन्। विरोधीहरूले सहयोगी भड्काउन सक्छन्, सजग रहनुहोला। खर्च लागे पनि भौतिक साधन र उपकरण जुटाउन सकिनेछ।

कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिलाई फागुन महिनामा उच्च महत्त्वाकांक्षाले चुनाैती निम्त्याउन सक्छ। अरूको सुझावविपरीत आफ्नो निर्णय लागू गर्दा समस्यामा परिनेछ। अहंकार मिश्रित बोली–व्यवहारले सहयोगीहरू टाढिनेछन्। जटिल काम पनि एक्लै समेट्नुपर्ने चुनौती आउन सक्छ। समस्याबाट बाहिरिन समय लाग्नेछ। पद–प्रतिष्ठाका पछि लाग्दा श्रम, समय र धन खर्च हुनेछ। मिहिनेतको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। वादविवादको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला। परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ। प्रयत्न गर्दा व्यवसायमा सुधारका लक्षण पनि देखिनेछन्। पेसागत जिम्मेवारी बढ्न सक्छ। अध्ययनमा जुट्नेहरूलाई सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा उच्च रक्तचाप, टाउको दुख्ने र चाँडो रिस उठ्ने समस्या देखापर्ने छन्, सजग रहनुहोला।

मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिलाई फागुन महिनामा आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ। स्वास्थ्य कमजोर रहनेछ र जोस–जाँगरमा कमी आउनेछ। विशेषतः अप्ठ्यारा काम आँट गर्दा समस्यामा परिनेछ। र, समस्याबाट बाहिरिन खर्च लाग्नेछ। अरूको प्रलोभनमा फसिने सम्भावना छ। धेरै लाभको आशा गर्दा व्यर्थैमा श्रम, समय र धन खर्च हुनेछ। सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। समयमा अल्छी गर्दा पछिल्ला दिनमा धोका हुन सक्छ। सानो काममा अधिक समय बित्नेछ र श्रमको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ। धैर्यसाथ प्रयत्न गर्दा समस्या समाधान हुनेछन्। र, सावधानीले उपलब्धि जोगिनेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। विदेश ताक्नेहरूलाई यात्राको साइत भने जुर्न सक्छ।

प्रतिकृया दिनुहोस