अचम्मै भो ! सिन्धुपाल्चोकमा दियो गोरुले दूध

सिन्धुपाल्चोक – मानिसहरुले भन्ने गरेको त सुनेकै हो ‘भाग्य बलियो भयो भने गोरु पनि ब्याउँछ ।’ गोरु ब्याएको त देखिएको छैन, तर पछिल्लो पटक गोरुले दूध दिएको भनिएको सुनिएको छ । हेलम्बु गाँउपालिका वडा नम्बर –६, इचोकको पुरानागाँउका सोनाम तामाङको गोरुले दैनिक दूध दिँदै आएको छ । 

तामाङको गोरुले दैनिक बिहान बेलुका गरेर एक मानाभन्दा बढी दूध दिइरहेको छ । अहिले गाँउलेहरु र हेर्न जानेहरुले गोेरुको दूध प्रसाद भनेर खाइरहेका छन् । यो भन्दा अगाडि कहिँ कतै नदेखेको र नसुनेको यो घटनाले सबैलाई चकित बनाएको छ । तर गोरुधनी तामाङ भने दङ्ग पर्नुभएको छ । अहिले उहाँको घरमा गोरुले दूध दिएको हेर्न विभिन्न ठाउँबाट आउने मानिसहरुको भिडभाड नै लाग्ने गरेको छ । 

तामाङका अनुसार गएको जेठ महिनाबाट गोरुको अण्डकोश छेउमा रहेका थुनहरु बढेको हो । थुन बढेको केही समयपछि गोरुको थुनबाट दूधको थोपा खसेको थियो । त्यसपछि तामाङले दूध हो कि भनेर परीक्षण गरेपछि चारमध्ये २ वटा थुनहरुमा दूध आउने गरेको छ । तामाङका अनुसार अहिने हेर्न आउने सबैले शिवजीको वाहन भनेर पूजा गर्ने गरेका छन् । 

गोरुको दूध अन्य गाईको भन्दा फरक छैन् । रातो र कालो रङ्ग मिसिएको यो गोरु एक वर्षअघि तामाङ परिवारले किनेर ल्याएको हो । गोरुले चमत्कार नै गरेको तामाङ परिवारको भनाई रहेको छ । गोरुले दूध दिएको हेर्न पुग्नुभएका गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि गोरुले सबैलाई चकित बनाएको बताउनुभयो । 
स्वास्थ्यकर्मीहरु भने हर्मोन गडबढका कारण गोरुको दूध आएको हुनसक्ने बताँउदै आएका छन् । हेलम्बु पशु सेवा कार्यालयका प्रमुख टोपबहादुर बराल भने हर्मोनको कारण यस्तो हुनसक्ने भए पनि ठ्याक्कै यही नै हो भन्ने स्थिति नभएको बताउनुहुन्छ । 

गोरुले दूध दिनु विज्ञानसम्मत नभएको वरिष्ठ पशु चिकित्सक डाः शरदसिंह यादवले बताउनुभयो । यस्तो घटना हालसम्म आफूलाई थाहा नभएको र गोरुले दूध दिनु अनुसन्धानको विषय बनेको उहाँको भनाई छ । यसको बारेमा विस्तृत रुपमा अध्ययन र अनुसन्धान गरेपछि मात्र यही हो भन्न सकिने उहाँको भनाई छ । उज्यालो अनलाईनबाट 

प्रतिकृया दिनुहोस