योगी गंगानाथको निधन


भरतपुर, १० मंसीर
देवघाटको वागीश्वरीमा रहेको योगी नरहरीनाथ आश्रमका संरक्षक योगी गंगानाथको ६९ वर्षको उमेरमा निधन भएको छ । धादिङ डुम्रीचौरका गंगानाथ ०४९ सालदेखि योगीनरहरीनाथ आश्रममा बस्दै आएका थिए । नेपालका चर्चित आध्यात्मिक व्यक्ति योगी नरहरीनाथसँग गंगानाथ विगतमा सहकार्य गर्दै आएका थिए ।
वेद, वेदान्त, इतिहास, पुराणका ज्ञाता गंगानाथको पार्थीव शरिरमा सोमबार विधिपूर्वक वागीवरी क्षेत्रमा भूसमाधि गरिएको छ । दम रोगका बिरामी रहेका गंगानाथ केही वर्ष देखि बिरामी थिए । आफ्नो आमाको देहान्त पश्चात घर छाडेर हिडेका गंगानाथ वागीश्वरी क्षेत्रलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्न सक्रिय थिए । उनी सो क्षेत्रमा रहेका कोटीहोमलाई निरन्तरता दिन लागिपरेका थिए ।
ध्यान तपस्यामा बस्दै आएका बेला गंगानाथको आइतबार साँझ ज्यान गएको हो । हिन्दुपरम्परा अनुसार तपस्या गरेकै आसन बनाएर वागीश्वरी क्षेत्रमै भूसमाधि गराइएको छ । उनी स्थानीय गाई लोपोन्मूख भएकोमा निकै चिन्तित हुने गर्दथे । आश्रमका अर्का संरक्षक योगी बलभदनाथले १३ औं दिनको दिनमा रुद्री, भण्डारा, शंकढाल गरिने बताए ।

प्रतिकृया दिनुहोस