गणेधाम, भरतपुर र समग्र प्रदेशको नै आकर्षक धार्मिक पर्यटकिय गन्तब्य मुख्यमन्त्री पौडेल

चितवन, मंसिर २२-

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणेशधाम निर्माणपछि भरतपुर क्षेत्रको कायापलट हुने बताएका छन् ।

आज (शनिबार) भरतपुर महानगरपालिका–११ को गणेशस्थानलाई गणेशधाम निर्माणार्थ आयोजना गरिएको धनधान्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव–२०७५ को उद्घाटन गर्दे मुख्यमन्त्री पौडेलले गणेधाम, भरतपुर र समग्र प्रदेशको नै आकर्षक धार्मिक पर्यटकिय गन्तब्य बन्ने बताए । उनले निर्माणाधिन गणेशधामको गुरुयोजनालाई मूर्तरुप दिन स्थानीय स्तरबाट सक्रियताका साथ काम गर्न आग्रह गरे ।

‘पर्यटन क्षेत्रको विकासले स्थानीयको जीवनस्तरमा पनि सुधार आउँछ मुख्यमन्त्री पौडेलले भने, ‘गणेशधामले हजारौंलाई रोजगारी दिन सक्छ ।’ अहिलेसम्म आर्थिक विकास र समृद्धिको मात्रै कुरा गरेको भन्दै उनले गणेशस्थान जस्ता ओझेलमा परेका धार्मिक क्षेत्रलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।

आर्थिक क्रियाकलाप अघि बढाउन सके मात्रै देशले समृद्धि हासिल गर्ने उनको भनाइ छ । उनले अबका दिनमा दीर्घकालिन महत्वका योजनाहरु गुरुयोजना बनाएर मात्र अघि बढाउनुपर्ने बताए । मुख्यमन्त्री पौडेलले पर्यटकीय क्षेत्रलाई बजारिकरण गर्दे बाह्य पर्यटक ल्याउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले आगामी आर्थिक बर्ष गणेशधामलाई विशेष महत्वमा राखेर सहयोग गर्ने मुख्यमन्त्री पौडेलले प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाको कानुन तथा न्याय समितिका सभापति कृष्णभक्त पोखरेलले गणेशधाम निर्माणको औचित्य १० औं हजारको सहभागिताले पुष्टि गरेको बताए । उनले नेपालको धार्मिक पर्यटनको विकास श्रीगणेशबाट सुरु गरिएको भन्दै यसलाई विश्वभर फैलाइने दाबी गरे । यस्तै राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’ले गणेशस्थानको विकासले समग्र जिल्लाबासीलाई फाइदा पुग्ने बताइन् । उनले धर्म संस्कृतिमा धनी नेपालीमा धार्मिक पर्यटन मार्फत बाह्य पर्यटक भित्र्याँउन सकिने बताइन् ।

कार्यक्रममा चितवन २ (ख) का सांसद विजय सुवेदीले चितवनलाई धार्मिक तथा आध्यात्मिक केन्द्र बनाउने उदेश्यका साथ गणेशधाम निर्माण गर्न लागिएको बताए । उनले भरतपुरबासीको सहभागिताले थप उत्साह बढेको भन्दै छिट्टै गणेशधाम निर्माणको थालनी गर्ने बताए । उनले गणेशधाम सुरुवात मात्रै भएको भन्दै अन्य क्षेत्रको पनि तीव्र विकासको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह, युवा वाचक पण्डित दिनबन्दु पोखरेल, नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले बालेका थिए । कार्यक्रम धनधान्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ आयोजक मुल समारोह समितिका अध्यक्ष दिनेश कुमारचुकेको अध्यक्षतामा सम्पन्न भएको हो ।साभार ः नारायणी अनलाईन 

प्रतिकृया दिनुहोस