जनकपुरमा हिन्दु युवा बाहिनी दस्ता

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर आगमन धर्मनिरपेक्षताका पक्षधरका लागि धेरै नै महँगो पर्ने संकेत देखिएको छ ।  हिन्दु राज्य कायम गराउने संघर्षका लागि लडाकु दस्तालाई औपचारिकता दिने गोप्य योजनाअनुसार आदित्यनाथको जनकपुर आगमन हुन लागेको समाचार स्रोतले जनाएको छ ।

हिन्दु युवा बाहिनीको नाममा लडाकु दस्ता तयार गरी गोरखपुरमा तहल्का मच्चाएपछि अजयसिंह विष्टलाई भारतका कट्टर हिन्दुहरूले योगी आदित्यनाथका रूपमा गोरखनाथ पिठको प्रमुख बनाए । त्यही जगमा उनी  उत्तर प्रदेशको मुख्यमन्त्री बनेका हुन् । उनी अहिले हिन्दु युवा बाहिनीको संरक्षकका रूपमा छन् । यही संगठनका कारण नेपाली मूलका उनी भारतीय जनता पार्टीका लागि अपरिहार्य बनेका छन् । उनले यो संगठनलाई विश्वका सातवटा देशमा पु¥याएका छन् । नेपालमा पनि गोप्य रूपमा यो संगठन धेरै नै अघि बढेको बुझिएको छ ।

नेपाल तरुण दलका पूर्वमहासचिव पुष्पराज पराजुलीको सक्रियतामा नेपाल भित्रिएको यो संगठनको शाखा ४१ जिल्लामा विस्तार भइसकेको छ । विवाह पञ्चमीको दिन योगी आदित्यनाथको सम्मानमा जनकपुरको १२ बिघा मैदानमा परेड प्रदर्शन गर्ने तयारी हिन्दु युवा बाहिनीले गरेको बुझिएको छ । यसबारे अध्यक्ष ज्ञानेन्द्रराज भट्टसँग सम्पर्क गर्न सम्भव भएन । सल्लाहकार पराजुलीले भने परेड प्रदर्शन गर्ने कुरा आफूलाई जानकारी नभएको बताए । उनले भने– ‘आफ्नो संगठनको संरक्षक नेपाल आएको अवस्थामा हिन्दु युवा बाहिनीका सबै सदस्यहरू स्वागतका लागि जनकपुर पुग्नु स्वाभाविक हो, योगीजी आउनुभन्दा एक दिनअघि नै जनकपुर जान हामीले उर्दी जारी गरिसकेका छौं ।’ तरुण खबरबाट 

प्रतिकृया दिनुहोस