रामबहादुर बमजन को हुन् र उनी बारम्बार आरोपमा किन फस्छन्

बमजन

बमजनतस्वीर कपीराइटMAITRIYA.INFO

मध्य तराईको बाराको एकान्त बनमा एक ठूलो पीपलको बोट मुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुले। १६ वर्षीय बमजनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए।

सेतो रङको पातलो कपडा लगाएका उनको शरीर स्थिर थियो। आँखा बन्द थियो। र उनी ध्यानमा लीन थिए। त्यसअघि कसैले नचिन्ने किशोर एकाएक विश्वप्रसिद्ध बन्न पुगे।

सुरुमा आसपासका स्थानीयबासी उनलाई हेर्न बाराको बनमा गए। त्यसपछि अन्य देशका तीर्थयात्री पनि आउन थाले। उनी बनमा ध्यानमा बसेको एउटा तस्बिर सोही वर्ष 'भाइरल'हुन गयो। उक्त तस्बिरले नेपालमा मात्र नभएर विश्वका प्रमुख सञ्चारगृहको समेत ध्यान खिच्न सफल भयो।

उनै रामबहादुर बमजन करिब १३ वर्षपछि फेरि एक पटक चर्चाको केन्द्रमा छन्। उनी चर्चामा आउनुको कारण धेरैलाई प्रिय लागिरहेको छैन। उनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएका विवरणहरू सेतोपाटी डिजिटल पत्रिकामा आएको थियो।

बमजन आबद्ध संस्था, बोधी श्रवण धर्मसंघले एक विज्ञप्ति निकाल्दै, सञ्चारमाध्यममा उनीबारे आएका समाचार अस्विकार गरेको छ।

त्यो विज्ञप्तिले ती समाचार "आधारहीन र सडेगलेका" भएको र तीनलाई संस्थाले "खारेज" गरिदिएको जनाएको छ।

उनीविरुद्ध उजुरीसमेत परेको बताइएको छ। तर उनी कहाँ छन्? त्यो जानकारी प्रहरी प्रशासनलाई समेत छैन।

आखिर को हुन् बमजन?

बमजन आबद्ध धार्मिक संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारी अनुसार उनको जन्म सन् १९९०को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो। उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो। उनका ५ छोरा र ४ छोरी छन्। रामबहादुर तेस्रो छोरा हुन्।

"उनी गर्भमा हुँदा उनकी आमालाई माछा मासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन्। उनी सानो उमेरदेखि नै लामो समयसम्म घर बाहिर जाने गर्दथे।"

उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ।

सन् २००५ मा बीबीसीसँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन ६ महिनासम्म पानी समेत नपिएर ध्यानमा लीन भइसकेको र बुद्धत्व प्राप्त नहुँदा सम्म उनी ध्यानमै रहने बताएका थिए।

उक्त विवरणका अनुसार गौतम बुद्धको आमाको नाम मायादेवीसँग मिल्न गएको बमजनको आमाको नामका कारण पनि स्थानीयहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए।

त्यसो त तपस्या सुरु गर्नु अघि नै उनले आफ्नो परिवारका अन्य सदस्यलाई पशुबली नदिन, माछा मासु र रक्सी सेवन नगर्न आग्रह गर्ने गरेको पारिवारिक श्रोतहरूले बताउने गरेका छन्।

तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिनै रह्यो। १६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए।

तपस्याप्रति उनको लगाव र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थान आसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गरेको जानकारहरू बताउँछन्।

अनुयायीहरूले बिस्तारै उक्त क्षेत्रलाई लुङ्ता छोर्तेन जस्ता धार्मिक ध्वजा-पताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो।

नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनको कर्मले यति चर्चा पायो कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे।

देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको सङ्ख्या समेत क्रमिकरूपमा बढाउँदै लगे। त्यसै कारण उनले "भित्रभित्रै असीमित शक्ति" आर्जन गर्न थालेको उनीबारे प्रकाशित थुप्रै विवरणहरूमा उल्लेख छ।

कहाँ कहाँ छन् आश्रम?

बमजनतस्वीर कपीराइटMAITRIYA.INFO

बाराको रतनपुरी गाउँ नजिकैको बनबाट तपस्या सुरु गरेका बमजनले पछिल्लो दशकमा मुलुकको विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो वासस्थान समेत फेरिरहने गरेको अधिकारीहरूको भनाइ छ।

बारा बाहेक सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत उनको आश्रम रहेको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताए।

बीबीसीले सम्पर्क गरेको दुई जना प्रहरी अधिकारीका अनुसार उनी हालका दिनमा कहाँ बसिरहेका छन् भन्ने कुराको खोजी प्रहरीले समेत गरिरहेको छ।

तर आरोप बमजनप्रति भन्दा पनि आश्रम गएका आफन्तहरूको खोजीसँग सम्बन्धित भएकाले तत्काल बमजनलाई नै कारबाही गर्ने भन्दा पनि उनका आश्रम लगायत अन्य स्थानमा हराइरहेकाहरूको खोजी गर्नेतर्फ आफ्नो कारबाही केन्द्रित हुने प्रहरी अधिकारीहरूले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईका अनुसार बमजन हालका दिनहरूमा बारामा बस्न छोडेका छन्।

उनले भने, "वहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा नभए पनि हामीले हेटौँडामा परेको उजुरीको सम्बन्धमा भने खानतलासी गर्न सुरु गरिसकेका छौँ,'' उनले भने।

आरोपहरू के छन्?

बमजनले सञ्चालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको विवरण सार्वजनिक भएसँगै बमजन माथि विभिन्न किसिमका आरोप लाग्न सुरु भएको छ।

हेटौँडास्थित प्रहरी कार्यालयमा फुलमाया रूम्बा र कर्म वाइबालगायतका अनुयायी बमजनको आश्रमबाटै हराएको भनेर उजुरी परेपछि उनी विरुद्धका आरोपहरू थप पेचिलो बन्दै गएका छन्।

''हामीकहाँ कुनै बेला आश्रममा बस्ने गरेका दुई जना अनुयायी खोजी गरिदिनुपर्‍यो भन्दै उजुरी परेसँगै हराइरहेका भनिएकाहरूको खोजतलास तीव्र बनाएका छौँ,'' जिल्ला प्रहरी कार्यालयका डिएसपी यज्ञप्रसाद भट्टराईले बीबीसीलाई जानकारी दिए।

बमजनको आश्रम भएको सबै स्थानमा हराइरहेकाहरूको फोटोसहितको प्राप्त अन्य विवरण सम्बन्धित जिल्लाका प्रहरी प्रशासनलाई पठाई सकिएको उनले जानकारी दिए।

प्रहरी समक्ष उजुरी दिनेमा फुलमाया रूम्बाका भाइ विजय रूम्बा र सञ्चलाल वाइबा का छोरा महेन्द्र वाइबा रहेको भट्टराईले पुष्टि गरे।

त्यस्तै बाराका हस्तबहादुर आले मगर र नुवाकोटकी गंगामाया तामाङले पनि हराई रहेका आफन्तको खोजी गरिदिन सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा उजुरी दिएको विवरणहरू सार्वजनिक भएको छ।

प्रशासनले समयमै ख्याल नगरेको दाबी

बमजनतस्वीर कपीराइटMAITRIYA.INFO

२०७२ सालको भूकम्प अघि नै सिन्धुपाल्चोकस्थित आश्रममा गएका पिता कर्म वाइबाले आश्रमबाट फर्कन्छु भनेर फोन गरे पनि नफर्किएको र त्यसको एक महिनापछि हेटौँडास्थित प्रहरी कार्यालयमा उजुरी दिएको उनका छोरा महेन्द्र वाइबाले बीबीसीसँग बताए। तर उजुरी दर्ता नम्बर लिन बिर्सेका कारण प्रशासनले कारबाही अघि नबढाएको उनले बताए।

''चैत्र १४ गते फोन गरेर आउँछु भनेका बुवा महिना दिन बितिसक्दा समेत नआएपछि आश्रममा खोजी गर्न गएको थिएँ। तर त्यहाँबाट निस्किसकेको खबर पाएपछि हेटौँडास्थित प्रहरी कार्यालयमा उजुरी दिएँ,'' महेन्द्र वाइबाले जानकारी दिए। ''दर्ता नम्बर नलिएकाले त्यस्तो भएछ। पछि थाहा पाएँ।"

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने सम्बन्धित ठाउँका प्रमुख जिल्ला अधिकारीहरूलाई उक्त विषयबारे जानकारी सङ्कलन गरेर मन्त्रालयलाई जानकारी दिन निर्देशन दिई सकिएको जानकारी दिए।

उनका अनुसार घटनाको अनुसन्धानको क्रममा दोषी ठहर भए बमजनमाथि समेत कारबाही हुन सक्ने छ। ''हामीले कानुन बमोजिम कारबाही अगाडि बढाउने हो। अनुसन्धानले आरोप प्रमाणित गरे जो सुकै भए पनि कारबाही गर्नेछौँ," सुबेदीले भने।

बारम्बार विवादमा

बारा जिल्लामै केही स्थानीयहरू माथि हातपात गरेको विवरण आएपछि सन् २०१० मा बमजनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। बीबीसीले घटना लगत्तै गरेको समाचारमा बमजनले ध्यान गरिरहेको बेला उनीहरूले बाधा गरेकोले आक्रमण गरेको स्वीकारेका थिए। सन् २०१२ मा फेरि सोही कारण देखाउँदै करिब तीन महिना दुई जना विदेशी महिलालाई बन्धक बनाएपछि उनी चर्चामा आए।

यसै वर्षको भदौ महिनामा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। त्यसपछि बमजनविरुद्ध थप आरोपहरू लागेका र प्रहरीमा उजुरीहरू परेका विवरण बाहिर आइरहेका छन्।

बीबीसी नेपाली सेवाबाट

प्रतिकृया दिनुहोस