आनीमा किन आकर्षण ?

काठमाडौँ — रामबहादुर बम्जनको जघन्य आपराधिक क्रियाकलापबारे सेतोपाटीले समाचार प्रकाशन गरेको एक साता भयो । समाचार तीन महिना लगाई सर्लाही, रौतहट, मकवानपुर, बारा, सिन्धुली र नुवाकोट पुगेर तयार गरिएको थियो । केही दिनपछि काठमाडौं पोस्ट र कान्तिपुरको सम्पादकीयले त्यसलाई जोड दिएको छ ।ती सामग्रीले धर्मका नाममा समाजमा हिंसा फैलाउने जो कोही खरानी घसेकाहरूलाई कानुनको दायरामा ल्याएर सजाय तोकिनुपर्छ भन्ने सन्देश दिन खोजेका छन् । समाचारअनुसार गंगामाया र अन्य आनी बम्जनको सिकार भएको देखिन्छ ।

आनीहरूमाथि बलात्कार, कुटपिट र हिंसा भएको तथा आनीहरू र पीडितको बाउसमेत बेपत्ता भएको पहिलोपटक सुनिँदै छ । समाजमा विशेष गरी हिमाली तथा अरू उत्पीडित समुदायबाट महिला किन आनी बन्न प्रोत्साहित हुन्छन् भन्ने विषयमा यो लेख केन्द्रित छ ।
आनी बन्न चाहने महिलाको सामाजिक पक्षलाई विश्लेषण गर्न आवश्यक छ । यसमा विवाह, शिक्षा र आध्यात्मिक पक्षहरू महत्त्वपूर्ण हुन्छन् । हिमाली समाजमा विशेष गरी किशोरीहरूको चाँडै विवाह हुने गर्छ । विवाहपछि उनीहरू घर र खेतीपातीको काममा नियन्त्रित हुन्छन् । यस्तो कार्य विभाजनका कारण महिलाहरू आनी समाजको कल्पना गर्न बाध्य हुन्छन् ।
आनी समाजमा वैवाहिक जीवन बाध्यकारी हुँदैन, स्वतन्त्रताको मलजल हुन्छ । स्वतन्त्र परिवेशमा आनीहरूको कल्पनालेआफ्नो र समाजको चित्रण गर्ने अवसर पाउँछ । अर्को पक्ष शिक्षा हो । घर र खेतको काम गाह्रो हुन्छ । दिनभरि दाउरा टिप्ने र विशेष गरी जाडोयामका निम्ति घर अगाडि दाउरा संकलन गर्नुका साथै याक, बाख्रा र भेडा चराउन व्यस्त हुनुपर्छ । यसले उनीहरू शिक्षाको अवसरबाट वञ्चित हुन्छन् । शिक्षाको निरन्तरताका लागि पनि उनीहरू आनी बन्न चाहन्छन् । आनीले गुम्बामा घरमा जस्तो काम गर्नुपर्दैन । हिमाली भाषाको प्राथमिकताले पनि आकर्षण बढाएको छ ।
भौगोलिक विषमता र जलवायु परिवर्तनले दिनानुदिन हिमाली क्षेत्रको जनजीवन चुनौतीपूर्ण बन्दैछ । अर्कोतिर, पढ्न मन भए पनि गाउँमा प्राथमिक स्कुल हुँदैन । स्कुल भए पनि शिक्षकहरू रजिस्टरमा मात्र देखिन्छन् । अर्को पक्ष आध्यात्मिक हो ।
हिमाली समाजको मूल्यमान्यता बौद्ध धर्मबाट निर्देशित छ । त्यहाँका परिवारले त्यसैको पैरवी गर्छन् । परिवारमा कम्तीमा एक जनालाई गुम्बामा राख्न पाए मानव जीवन सार्थक हुने र पाप नभई धर्म हुने विश्वास त्यही पैरवीको द्योतक हो । आनी बन्न बाबा, आमा, दाजुभाइ र दिदीबहिनीबाट सहयोग हुन्छ । आनीलाई छरछिमेकले पनि राम्रै दृष्टिले हेर्छन् । समाजमाआफ्नो परिवारको इज्जत बढ्ने हुनाले पनि आनी बन्न प्रोत्साहन गरेको देखिन्छ ।
यसमा राजनीतिक तथा आर्थिक पक्षलाई नकार्न मिल्दैन । नेपालको पूर्व ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका हिमाली समुदायहरू विशेष गरी चारमहिने खेतीपाती नै गर्ने हुन् । असोजको अन्तिमसम्ममा भित्र्याउने उवा, फापर र आलु तथा नेपाल खाद्य संस्थानबाट किनेको चामलबाटै उनीहरूले जीवन निर्वाह गरिरहेका हुन्छन् । हिमाली समुदायहरूको खेतीपातीमा राज्यले आंशिक आर्थिक सहयोग गर्नुबाहेक धेरै वर्षदेखि बेवास्ता गरिरहेको छ ।
आधुनिक खेतीपातीमा प्रेरित गर्ने तथा जाडोयाममा कस्तो बाली लगाउन सकिन्छ भन्नेबारे सरकारले सोचेको देखिँदैन । समुदायलाई विकासे कार्यक्रममा निर्भर नबनाई नेतृत्वदायी भूमिका दिने विषयमा पनि वास्ता भएन । संघीय शासन प्रणाली लागू गरिएको भनिए पनि यसमा प्रदेश सरकार र स्थानीय तहले सोचेअनुसार काम गर्न सक्नेमा शंकै छ ।
सन् १९६० देखि १९७० तिर चीनसँग नेपाल सरकारले उत्तरी नाकाका सम्बन्धमा गरेको सम्झौता थियो । त्यसले हिमाली समुदायको ट्रान्स हिमालयन व्यापार र चरन क्षेत्रमा प्रत्यक्ष असर पार्‍यो । यसबाट समुदायको आर्थिक अवस्था झनै कमजोर भयो । हाल याक र अन्य बस्तुभाउ हुनेले पारि तिब्बतसम्मको व्यापार वर्षको एकचोटिमा सीमित भएको छ ।
नेपालका अन्य छिमेकी पहाडी गाउँ र जिल्लासँग व्यापार सम्बन्ध स्थापित भए पनि समुदायका कैयौं घरधुरीलाई खासै फाइदा हुँदैन । उवा, जिम्बु र ड्री (याकको स्त्रीलिंग) बाट बनेको छुर्पी मात्र चल्ने तर भोटबाट आएका व्यक्तिहरू देख्दा नाक खुम्च्याउने विभेदकारी परम्परा कायमै छ । यसले पनि हिमाली समुदायको आर्थिक उन्नतिमा असर गरेको छ । खान पुग–नपुगको अवस्थाले परिवारमा भएका छोरीहरूलाई आनी बन्न पठाउनुपर्ने बाध्यता बनेको छ । यसकै पृष्ठभूमिमा बौद्ध धम्मको प्रवद्र्धन पनि हुन्छ र तीनछाक राम्रैसँग खान पाउँदा आफ्नो सन्तान स्वस्थ हुन्छन् भन्ने सोचले आनी जीवनलाई धेरै हिमाली परिवारले स्विकारेका हुन् ।
युनिभर्सिटी अफ भर्जिनियाका प्राध्यापक कर्टिस श्यफरले सन् १६७५ मा जन्मेकी डोल्पोकी आनी उर्गेन छुकीको जीवनीमा आधारित किताब ‘हिमालयन हर्मिटेज’ (सन् २००४) लेखेका छन् । किताबका अनुसार बाख्रा चराउनुका साथै ध्यान गर्ने, व्रत बस्ने गरेकी छुकीले कैलाश मानसरोवर र काठमाडौंसम्मको यात्रा गरेकी छन् । उनले आनीको जीवनमा दु:खकष्टबाट मुक्त हुने दाबी गरेकी छन् । धेरै आनीको जीवनमा सहयोग गर्दै काठमाडौंको फर्पिङमा गुम्बा चलाइरहेकी आनी छोइङ डोल्माले अन्तर्वार्ताहरूमा आनीको जीवन जेल जस्तो हुँदैन भनेकी छन् ।
गंगामाया तथा अन्य तीन आनी सरिता, शर्मिला र सिर्जना तामाङले सांसारिक जीवन त्यागेर जीवनभर आनी बस्नका निम्ति रामबहादुर बम्जनको आश्रममा पुगेका हुन् । हालै सार्वजनिक भएका समाचारअनुसार गंगामाया तथा अन्य तीन आनीको जीवन नर्कतुल्य बनाउनेमा बम्जनको प्रमुख भूमिका देखिएको छ । उनीहरूले सोचेअनुरूप आश्रम पाएनन् ।
आनीहरूका विषयमा केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरूले सोच्नैपर्छ । न्यायसंगत र भयमुक्त समाज विकासमा सरकारले चासो दिनुपर्छ । धर्मको खरानी घसेर गलत क्रियाकलाप गर्ने व्यक्तिहरूमाथि छानबिन हुनुपर्छ । आपराधिक क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ । आनी समाजकै अंग हुन् । राज्यको परम् दायित्व विभेदकारी समाजको अन्त्य गर्दै सुशासन कायम गर्नु हो । नत्र हाम्रा आनीहरूले असुरक्षित महसुस गरी नै रहन्छन् ।कान्तीपुर दैनिकबाट

प्रतिकृया दिनुहोस