कोटिहोम महायज्ञको १०८ हवनकुण्डमा हवन शुरु


नारायणगढ ,१२ माघ ।
नारायणगढको नारायणी नदीकिनारमा माघ ११ देखि सञ्चालन गरिएको कोटिहोम महायज्ञमा विधिपूर्वक हवन शुरु गरिएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको १०८ हवन कुण्डमा सोमबारदेखि १०८ पण्डितहरुद्वारा हवन शुरु गरिएको हो । सो हवन कुण्डमा विभिन्न वनस्पतिसहित वैदिक मन्त्रद्वारा हवन शुरु गरिएको महायज्ञका प्रवक्ता दिलिप न्यौपानेले बताउनु भयो । सो हवन कुण्डमा १०८ पण्डितले एक करोड २५ लाख मन्त्रद्वारा हवन गर्ने न्यौपानेले जानकारी दिनुभयो । सोमबार सो महायज्ञमा महायज्ञका सङ्कल्पकर्ता धर्मपाल वशिष्ठ गुरु तथा मूल पण्डित बालव्यास श्रवण न्यौपानेले कथा वाचन गरेका थिए । सोमबारको कार्यक्रममा विश्व हिन्दू महासंघ उपाध्यक्ष विष्णु रेग्मी, सामाजिक व्यक्तित्व द्रोणबाबु सिवाकोटीलगायतका व्यक्तिहरु सहभागी रहेका महायज्ञ मूल समितिका महासचिव समेत रहेका प्रवक्ता न्यौपानेले जानकारी दिनु भयो । सोमबार विशेषगरि कथासँगै विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएका थिए । फागुन ११ गतेसम्म सञ्चालन हुने ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष बिराट मासिक ज्ञान महायज्ञ २०७६’ मा आर्थिक सङ्कलन हुने क्रम समेत तीव्र रहेको न्यौपानेले बताउनु भयो । महायज्ञमा कथा श्रवणका लागि सोमबार एक हजार भन्दा बढी मानिसहरु उपस्थित भएका न्यौपानेको भनाइ छ । महायज्ञको आम्दानीले जगतपुरको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गरिने, चितवनमा आयुर्वेदिक शिक्षालयको स्थापना गरिने, लगायतका धार्मिक, शैक्षित तथा सामाजिक काम गरिने छ । नेपालको इतिहासमा नै पहिलो पटक ठूलो महायज्ञको आयोजना गरिएको उल्लेख गर्दै न्यौपानेले यसले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पु¥याउने बताउनु भयो । सो महायज्ञ सञ्चालनका लागि तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै महायज्ञका प्रवक्ता न्यौपानेले २५ करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गरिने जानकारी दिनु भयो ।

 

प्रतिकृया दिनुहोस