धार्मिक पुस्तकालय निर्माणार्थ शरदपुरमा महायज्ञ हुँदै

 माघ १४, भरतपुर । ॐकार परिवारको सहभागिता तथा ब्राह्मण समाज नेपाल चितवनको आयोजनामा भरतपुर ९ शरदपुरमा हुन लागेको श्रीमद्भागवत् महापुराण तथा धनधान्याचल विराट ज्ञान महायज्ञ स्थलमा सजावटको काम सकिएको छ । त्यहाँ माघ १५ देखि २३ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हो । महायज्ञको उद्घाटन सन्त समाज नेपालका अध्यक्ष तथा हरिहर सन्न्यास आश्रम देवघाटका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीबाट हुने बताइएको छ । महायज्ञको पहिलो दिन बुधबार बिहान शोभायात्रा गरिने आयोजकले जानकारी दिएको छ । ब्राह्मण समाजले शरदपुरमा रहेको आफ्नो जग्गामा गरीब, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको सहयोगार्थ भवन बनाउने उद्देश्य राखेर महायज्ञ सञ्चालन गर्न लागेको हो । सो भवनलाई धार्मिक पुस्तकालय र दीवा सत्संग आश्रमका रूपमा पनि सञ्चालन गरिने महायज्ञका संयोजक टंकनाथ पौडेलले जानकारी दिए । भरतपुर महानगरपालिका वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनलाई एउटा कित्तामा १.५० वर्ग मिटर क्षेत्रफल पर्ने गरी ६०१ कित्तामा विभाजन गरिएको छ । समाजले एउटा कित्ताको मूल्य रु २१ हजार १ सय ११ कायम गरेको बताएको छ । जग्गादान गर्न इच्छुक व्यक्तिहरूले आफूले चाहेको कित्ता नं रोजेर रकम बुझाउने गरेका छन् । महायज्ञकै दौरान माघ १६ गते सामूहिक व्रतबन्धको समेत कार्यक्रम रहेको आर्थिक संयोजक रामप्रसाद वस्तीले बताए । समाजले सामूहिक व्रतबन्ध गरेबापत प्रति बटुक पाँच हजार रुपैयाँ बुझाउनुपर्ने जनाएको छ । भवन निर्माणका लागि हालसम्म १३० कित्ता जमिन दान गरिएको छ भने ४५ लाख रुपैयाँ संकलन भइसकेको छ । महायज्ञमा दैनिक बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म कथा पारायण हुने आयोजकले जनाएको छ । महायज्ञमा पं बालकृष्ण अर्यालबाट कथा प्रवचन गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस