ॐकार परिवारको महायज्ञ दोस्रो दिनसम्म उठ्यो ६५ लाख बढि आर्थिक संकलन

माघ १६, भरतपुर । भरतपुर महानगरपालिका वडा नं ९ शरदपुरमा जारी श्रीमद्भागवत् विराट ज्ञान महायज्ञमा बिहीबार एकै दिनमा १५ लाख बढी रुपैयाँ चन्दा संकलन गरिएको छ । ॐकार परिवारको सहभागिता र ब्राह्मण समाज नेपालको आयोजना रहेको महायज्ञ बुधबारदेखि सुरु भएको हो । महायज्ञमा प्रमुख वाचकको रूपमा भने पण्डित बालकृष्ण अर्याल रहेका छन् । ब्राह्मण समाजको भवन निर्माणका लागि भरतपुर ९ निवासी डा. कल्याणी मिश्रको परिवारले १ लाख ७ सय ९९ रुपैयाँ प्रदान गर्यो । त्यस्तै, महायज्ञकी मूल कर्ता अञ्जना घिमिरेले पाञ्चायन मन्दिर बनाउन सर्वाधिक १३ लाख ५१ हजार रुपैयाँ दान गरिन् । वडा नं ९ कार्यालयले पनि सत्संग भवन र धार्मिक पुस्तकालय निर्माणका लागि १० लाख रुपैयाँ प्रदान गरेको छ । स्थानीय संगम टोल विकास संस्थाले पनि महायज्ञमा १ लाख ९३ हजार १ सय ५५ रुपैयाँ प्रदान गरेको छ ‌। भरतपुर ९ बसपार्कका रमेशलाल पौडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरे । कार्यक्रममा प्रमुख अतिथि रहेका समाजसेवी डा. चन्द्र भण्डारीले यज्ञको प्रशंसा गर्दै सबैलाई सो महायज्ञमा सहभागी हुन आग्रह गरे । बिहीबार साँझसम्म मात्रै महायज्ञमा ६५ लाख ३६ हजार १ सय ६५ रुपैयाँ चन्दा संकलन भइसकेको छ । त्यस्तै, भवन निर्माणका लागि विभिन्न दाताहरूले कूल ७८० बोरा सिमेन्ट पनि प्रदान गरेका छन् । यसैबीच, महायज्ञमा १४५ कित्ता जमिन दान गरिएको छ । वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनलाई एउटा कित्तामा १.५० वर्ग मिटर क्षेत्रफल पर्ने गरी ६०१ कित्तामा विभाजन गरिएको हो । समाजले एउटा कित्ताको मूल्य रु २१ हजार १ सय ११ कायम गरेको बताएको छ । महायज्ञमा बिहीबारै दुई बटुकहरूको व्रतबन्ध समेत गरिएको छ ‌। एक जना बटुकको व्रतबन्धको शुल्क पाँच हजार रुपैयाँ लिएको आयोजकले बतायो । माघ २३ गतेसम्म चल्ने महायज्ञबाट संकलित रकमले वृद्धवृद्धाका लागि दिवा सत्संग भवन तथा धार्मिक पुस्तकालय लगायतका संरचना निर्माण गरिने आयोजकले जनाएको छ । हरिहर सन्न्यास आश्रम देवघाटका पीठाधीश तथा सन्त समाज नेपालका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले बुधबार उद्घाटन गर्नुभएको महायज्ञको सुरुवाती सत्रमा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका प्रवक्ता पेमा दोर्जे लामा, ठकुरी समाज महासंघ नेपालका अध्यक्ष चन्द्र कुमार सिंह, नेपाल दसनामी समाजका केन्द्रीय उपाध्यक्ष रमेश गिरी, नेपाल क्षत्री समाज बाग्मती प्रदेशका प्रमुख सूर्यबहादुर कार्की लगायतले शुभकामना सन्देश दिएका थिए ।

प्रतिकृया दिनुहोस