जबर्जस्ती रातो मच्छिन्द्रनाथको रथयात्रा : प्रहरीद्वारा बलप्रयोग

ललितपुर,१८ ,भदौ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न हजारौँ युवा पुल्चोक (ललितपुर)मा उत्रिँदा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरी हटाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड महामारीका कारण मुलुकमा दैनिक सङ्क्रमित थपिँदै गएका कारण थप जोखिम बढ्न नदिन रथयात्रा नगरिने निर्णय भए पनि युवाहरु रथयात्राको साइत रहेको मानी बिहीबार (१८ भदौ) बिहान ११ बजेतिर रथयात्रा गर्न भेला भएका थिए ।

‘जात्रा रोक्न पाइँदैन, माथिको आदेश चाहिँदैन’, हाम्रो परम्परा हामी अघि बढाउन चाहन्छौँ’ भन्ने नाराका साथ थुप्रै युवा सडकमा उत्रिएका देखिन्थे । ती युवा सडकमा उत्रिएर करीब २० पाइला रथयात्रासमेत गरेका थिए ।महामारी नियन्त्रण नभएसम्म मच्छिन्द्रनाथको रथयात्रा तथा भोटोजात्रा दुवै गर्न अनुमति नदिइने ललितपुर जिल्ला प्रशासनको अडान छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कुनै पनि मानवीय क्षति हुन नदिई सामान्य तरीका अपनाएर रथयात्रा गर्न आएका मानिसलाई हटाएको दाबी गरे । ललितपुरमा रहेका १९ जातीय समुदाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि ती युवा सडकमा उत्रिएर रथयात्रा गर्न खोज्ने विषयमा जानकारी नभएको प्रजिअ भट्टको भनाइ छ ।रथयात्राका लागि उपयुक्त साइत रहेको ठानी युवाहरु सडकमा उत्रिएको हुन सक्ने गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशी बताउँछन् । यस वर्ष महामारीका कारण मच्छिन्द्रनाथको भोटोजात्रा कहिले सम्पन्न हुन्छ भन्ने कसैलाई पनि जानकारी छैन ।

विसं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी नागहरु इताउता लागेपछि वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

प्रतिकृया दिनुहोस