भगवान गणेशलाई कहिल्यै चढाउनु हुँदैन तुलसी ! कारण यस्तो छ

भरतपुर । गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो । जसको अर्थ हुन्छ गणहरूका देवता । भगवान श्री गणेशको पूजा सबै देवताहरू भन्दा पहिले हुन्छ । काममा कुनै बिध्न बाधा उत्पन्न नहोस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन् ।

त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन । अनि तुलसी चाहिँ भगवान् विष्णुको प्रिय बिरुवा हो । तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ । तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ । गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ । दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ ।

कथाअनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो । उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो । अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई जिउँदै निल्थ्यो ।असुरबाट त्रस्त भएर देवराज इन्द्रसहित सबै देवीदेवता र प्रमुख ऋषिमुनि भगवान् महादेवसँग प्रार्थना गर्न पुगे । अनलासुरलाई अन्त्य गर्न उनीहरूले महादेवसँग अनुरोध गरे तर महादेवले असुरको अन्त्य गणेशजीले गर्ने बताउनुभयो ।

अनलासुरसँग युद्ध गर्न गणेशजी जानुभयो । असुरले उहाँलाई निल्न खोज्यो तर उल्टै गणेशजीले असुरलाई निल्नुभयो । असुरलाई निलेपछि गणेशजीलाई बेस्सरी पेट पोल्यो ।धेरै प्रकारका उपाय गरियो र पेटको जलन शान्त भएन ।त्यसपछि कश्यप ऋषिले २१ मुन्टो दूबोको गाँठो बनाएर गणेशलाई खान दिनुभयो । दूबो खाएपछि गणेशजीको पीडा शमन भयो ।

त्यतिखेरदेखि नै श्रीगणेशलाई दूबो चढाउने परम्परा शुरु भएको हो । गणेशजीलाई तुलसी किन चढाउनु हुँदैन भन्ने विषयमा पनि एउटा कथा भेटिन्छ । कथाअनुसार प्राचीन समयमा तुलसीले गणेशजीसँग विवाहको प्रार्थना गरेकी थिइन् । तर गणेशजीले मान्नुभएन ।

रिसाएकी तुलसीले गणेशजीलाई दुईवटा विवाह होस् भनी श्राप दिइन् । गणेशजीलाई पनि रिस उठ्यो र तिम्रो विवाह एक असुरसँग होस् भनी श्राप दिनुभयो । राक्षससँग विवाह हुने श्राप सुनेपछि तुलसीले गणेशजीसँग माफी मागिन् ।त्यसपछि गणेशजीले तिम्रो विवाह शंखचूर्णसँग हुनेछ तर तिमी भगवान् विष्णुको प्रिय हुनेछौ अनि कलियुगमा मानिसहरूलाई मोक्ष दिनेछौ तर मेरो पूजा गर्दा तिमीलाई चढाउनु अशुभ हुन्छ भन्नुभयो ।

प्रतिकृया दिनुहोस