भारतको हरिद्वारमा नेपालका पूर्वराजा ज्ञानेन्द्रको शाही सान

पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाह अहिले भारतको हरिद्वारमा छन् । ०६२-६३ को जनआन्दोलनमार्फत नेपालबाट राजतन्त्रको जरो उखालिएपछि तत्कालीन राजा ज्ञानेन्द्र सर्वसाधारणको हैसियतमा झरे । मठ–मन्दिर भ्रमण गने र पार्टी–सार्टी गर्नेबाहेक उनको अरु सार्वजनिक गतिविधि पनि देखिँदैन । सरकारले पूर्वराजाको हैसियतमा दिइएका सुरक्षा तथा सुविधा पनि धमाधम खोसिरहेको छ ।

भारतले आफ्नो देशमा आयोजना हुने सबैभन्दा ठूलो धार्मिक कार्यक्रममा नेपालका पूर्वराजालाई विशिष्ट अतिथिको रुपमा निम्त्याएको छ । यो मात्रै धेरै ठूलो विषय हुन्थेन, तर उल्लेखनीय पक्ष के छ भने भारतमा उनलाई भुतपूर्व होइन, ‘बहालबाला’ राजाकै हैसियत दिएर व्यवहार भइरहेको छ । निमन्त्रणपत्रदेखि मेलामा टाँगिएका पर्चा–पम्लेट सम्ममा पूर्वराजालाई ‘नेपाल नरेश’ वा ‘हिन्दू सम्राट’ भनिएको छ ।

पूर्वराजालाई पठाइएको निमन्त्रण पत्रको ‘विषय’ छः ‘वैदिक सनातन धर्म हिन्दूका हिन्दू सम्राटलाई पवित्र भूमि हरिद्वारमा निमन्त्रणा ।’ निमन्त्रणपत्रको भाषा यस्तो छ, ‘तपाईं श्रीमान हिन्दू सम्राट एवम् हिन्दू राजा भएका कारणले मेरो प्रबल इच्छा छ कि दिनाङ्क १२.०४.२०२१ मा हुने शाही स्नानमा तपाईं सहभागी भएर गंगामा स्नान गरिकन भारतवर्षका ऋषि मनिषिबाट आशिर्वाद ग्रहण गरी आफ्नो राज्यको कुशलता हेतु आशीष प्राप्त गर्नु, किनकी राजा स्वयम् देवस्वरुप हुन्छन् र तपाईंमाथि देवाधिदेव महादेव पशुपतिनाथ भगवानको अपार कृपा प्राप्त छ ।’ हिन्दूस्तान टाइम्स, डीएनआइजस्ता प्रख्यात मिडियाले समेत ज्ञानेन्द्रलाई ‘नेपालका राजा’ भनेर समाचार लेखेका छन् ।

हरिद्वारमा हुने कुम्भमेला भारतको सर्वाधिक ठूलो धार्मिक समारोह हो । प्रत्येक १२ वर्षमा हुने यो मेलालाई ‘विश्वभरमै सर्वाधिक मानिस एकसाथ भेला हुने धार्मिक कार्यक्रम’ का रुपमा प्रचारित गर्ने गरिएको छ । यो हिन्दूको मेला भएकाले भारतको हिन्दूवादी सरकारले महत्व दिने नै भयो । सन् २०१९ मा प्रयागराजमा आयोजित कुम्भ मेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गंगा स्नान गरेका थिए ।

कुम्भमेलामा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र गत विहिबार भारत प्रस्थान गरेका थिए । हिजो आइतबार उनी हरिद्वार पुगे जहाँ उनलाई निराजनी अखडाका आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरी र पतञ्जलीका आचार्य बालकृष्णले दक्षिणकाली मन्दिरमा स्वागत गरेका थिए । उत्तराखण्डका मुख्यमन्त्री सीएम रावतको प्रतिनिधिका रुपमा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागका महानिर्देशक राजवीर चौहानले हरिद्वार पुगेर पूर्वराजालाई भेटेका थिए ।

आजको शाही स्नानमा पूर्वराजाका साथमा मुख्यमन्त्री रावत पनि सहभागी भएको केही भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पूर्वराजाले राजनीतिक भेटघाट पनि गर्ने चर्चा चलेको छ, तर आधिकारिक पुष्टि भएको छैन । हरिद्वारमा उनले केन्द्रीय रक्षामन्त्री राजनाथ सिंह, यूपीका मुख्यमन्त्री योगी आदित्यनाथ, महाराष्ट्रका गभर्नर भगतसिंह कोशियारीलगायतसँग भेट गर्न सक्ने बताइएको छ । उनका सबै भेटघाटका सूचना गोप्य राखिएका छन् तर नेपालको परराष्ट्रमन्त्रालय भने मौन छ ।

प्रतिकृया दिनुहोस