नयाँ वर्ष२०७८: नारायणी नदी किनारमा स्नान गर्न तिर्थालुहरुको भीड

चितवन, वैशाख १-

नयाँ वर्षको पहिलो दिन आज बिहान देवघाटदेखि गोलाघाटसम्म नारायणी नदी किनारमा स्नान गर्न तिर्थालुहरुको भीड लागेको छ ।

हिन्दू परम्परा र संस्कृति अनुसार नयाँ वर्षको पहिलो दिन नदीमा पूजा आराधना गर्दै स्नान गर्ने प्रचलन भएकोले पनि तिर्थालुहरुको भीड लागेको हो । आज बिहान सबेरैदेखि नारायणी नदीको दुवै किनारमा मानिसहरुको भीड लागेको थियो ।

चितवनको रत्ननगरदेखि नारायणीमा स्नान गर्न परिवारसहित आएका ६० वर्षीय कृष्ण भट्टराईले आफ्नो हिन्दू परम्पराअनुसार ग्रह काट्नको लागि स्नान र दान गर्न नदी किनारमा आएको बताए । उनले भने, ‘हिमालय पर्वतदेखि बगेका विभिन्न नदीहरु मिसिएर बगेको नारायणी नदीको आफ्नै धार्मिक महत्व रहेकोले पनि यहाँ आएर स्नान गर्दा बेग्लै आनन्दको अनुभूति हुन्छ ।’ उनले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्पराअनुसार राम्रो ज्ञान दिनको लागि पनि नातीनातिनासँगै स्नान गर्न आएको विचार राखे ।

पण्डित शेखर शास्त्रीले वर्षभरी जानेर वा नजानेर गरेका कुनै पनि पाप कर्म पखाल्न पनि आज नदीमा गरिने स्नानको विशेष धार्मिक महत्व हुने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘जल जीवन दाता हो । नयाँ वर्षको पहिलो दिन नदीमा गएर स्नान गरेर पाप पखाल्ने हिन्दू परम्परा छ । गोरखनाथका अनुयायीहरुलाई दान र दक्षिणा गरेमा पुण्य प्राप्त हुन्छ ।’ - नारायणी अनलाइनबाट 

 

प्रतिकृया दिनुहोस