दुई विश्व हिन्दु महासंघ एक भए, यस्तो छ एकीकरण घोषणापत्र

संसारभरिका समस्त ॐकार परिवारको अभिभावक संस्थाका रूपमा वि सं २०३७ सालको श्रीराम नवमीका दिन स्थापना भएको विश्व हिन्दु महासंघ आज एकचालिसौं वार्षिकोत्सव मनाउँदै छ । चारै शंकराचार्यहरु, असंख्य साधुसन्तहरुका साथै राष्ट्रका विशिष्ट व्यक्तित्वहरुको समुपस्थितिमा तत्कालीन राष्ट्रप्रमुख श्री ५ वीरेन्द्र र राष्ट्रगुरु योगी नरहरीनाथको सत्संकल्पमा स्थापना भएको यस महासंघको अन्तर्राष्ट्रिय समितिका साथसाथै वि सं २०४५ सालदेखि नेपाल लगायत संसारका विभिन्न देशमा राष्ट्रिय स्तरका समितिहरु कृयाशील रहेका छन् ।


विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति वि सं २०६० सालमा परिस्थितिवश विभाजित हुन पुगेको थियो । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिभित्रको द्वन्द्व र विभाजन भएको मौका छोपेर विश्वकै एकमात्र सनातन हिन्दु अधिराज्यको संवैधानिक पहिचान हटाएर नेपाललाई धर्म निरपेक्ष राज्यको रूपमा परिभाषित गर्ने षड्यन्त्रले सफलता पायो । त्यसैगरी नेपाली धार्मिक समाज छिन्नभिन्न भयो । नेपाली मौलिक संस्कृति र धर्ममा आक्रमण अतिक्रमणको शृङ्खला निरन्तर बढेर गयो । धर्म परिवर्तन , गौहत्या, मन्दिरका पुजारी हत्या जस्ता जघन्य अपराध बढेर गए ।

राष्ट्रको धार्मिक पहिचान गुमेको र धर्ममाथी हमला बढेर गएको परिस्थितिमा धर्म संस्कृति बचाउन र राष्ट्रको गुमिसकेको धार्मिक पहिचान संविधानत: स्थापित गर्नका लागि सम्पूर्ण हिन्दु समाज एकजुट भएर संघर्षको बाटो समाउनुको विकल्प छैन । नेपालमा रहेका धार्मिक संघसंस्था र अभियानहरु संगठित र एकतावद्ध हुनुपर्ने राष्ट्रिय आवस्यकतालाई संवोधन गर्ने प्रयासको थालनीस्वरुप विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाँसबारी र विश्व हिन्दु महासंघ नेपाल द नं ३३८ वीचमा एकीकरण गर्ने प्रक्रिया निष्कर्षमा पुर्‍याएका छौं । हामीले गरेको एकता सहमतिपत्रलाई विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले अनुमोदन गरिसकेको छ । आजको रामनवमी पर्वको पावन दिनमा यसै समारोहबाट हाम्रो एकता पूरा भएको सार्वजनिक घोषणा गर्दछौं ।

यस घोषणासंगै धार्मिक क्षेत्रमा सक्रिय हुँदै आएका अन्य धार्मिक संघसंस्था र अभियानलाई नेपाली राष्ट्रियता र धार्मिक अस्तित्व रक्षाको संगठित प्रयासमा जुट्दै बलियो धार्मिक शक्तिकेन्द्र स्थापनाका लागि एकीकरण अग्र यात्रामा आवद्ध गराउँदै लैजाने संकल्प गर्दछौं । धार्मिक शक्तिकेन्द्र निर्माणको यो सत्कार्यमा आत्मीयतासाथ जुट्न जोडिन सम्पूर्ण धार्मिक संघसंस्था र अभियानहरुलाई आह्वान गर्दछौं । जयतु हिन्दु राष्ट्रम् ।

डा रामचन्द्र अधिकारी
कार्यकारी सभापति
राजेन्द्रकुमार भण्डारी
मानार्थ सभापति
मिति २०७८ बैशाख ८ गते श्री राम नवमी

प्रतिकृया दिनुहोस