छठको आज ‘खरना’ विधि गरिदे , अस्ताउँदो सूर्यलाई अघ्र्य भोलि दिइदै

तराईको मिथिलामा मनाइने महान् पर्व छठको आज तेस्रो दिन  मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको

पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा-अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।

आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन् । यो विधिलाई ‘खरना’ भनिएको हो ।खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी बर्तालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटाको नयाँ चुल्हामा र माटाकै नयाँ भाँडामा सखर, दूध र गम्हरी चामलको खीर पकाइन्छ ।

गम्हरी चामलका अभावमा धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ । खरनामा नैवेद्य चढाइने बेलामा जति अघ्र्यदान गरिने हो, त्यति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ ।यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मुला, पान र सुपारी आदि राखिन्छ । नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ । नैवेद्यलाई उत्सर्ग गरिसकेपछि बर्तालु र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन छ ।

पर्वको चौथो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने प्रचलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ ।

छठपर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त तथा नातेदारकहाँ पुर्‍याउन जाने परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी-जाँतोमा पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएकामा अब  पहाडिया हिन्दू र इस्लाम धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेकाले छठपर्व साझा बनेको छ ।तराईमा  ठूलो महत्वको साथ मनाइने यस पर्व छठ ,केहि वर्ष देखि काठमाडौ , नायणगढ , लगायत देशका ठूला शहरहमा पनि मनाइन थालिएको छ । त्यस क्षेत्र बस्दै आएका मधेशी समुदायका साथै पहाडियाहले पनि मनाउन थालेका हुन् । 

 

प्रतिकृया दिनुहोस