हरिबोधिनी एकादशीकै दिन किन गरिन्छ तुलसी विवाह ? यस्तो छ रहस्य र पूजा विधि

काठमाडौँ । कार्तिक शुक्ल पक्षको एकादशीका दिनलाई हरिबोधनी एकादशी अर्थात तुलसीको विवाह भनिन्छ। यस दिन हिन्दूहरुले तुलसी विवाह गर्ने गर्छन । उक्त दिनलाई हरिबोधिनी एकादशी वा देवउठनी एकादशी समेत भनिन्छ । हरिशयनी एकादशीका दिन सुतेका भगवान् विष्णु (श्रीहरि) हरिबोधिनी एकादशीकै दिन उठ्ने विश्वास गरिन्छ । यससँगै अन्य देवताहरु समेत उठ्ने विश्वास गरिन्छ । यही दिन विष्णुप्रिया तुलसीको विवाह भगवान् विष्णुकै प्रतीक मानिने शालिग्राम शिला (ढुंगा) सँग गरिन्छ ।
यस्तो छ तुलसी विवाहको पौराणिक कथा
कार्तिक शुक्ल एकाशदीका दिन तुलसीको विवाह गर्ने प्रचलन कसरी चल्यो ? यस सन्दर्भमा एक पौराणिक कथा छ । किंवदन्ती अनुसार वृन्दा नाम गरेकी एक सद्गुणी स्त्री थिइन् । उनका पति जलन्धर क्रूर र भागवानविरोधी भएर त्रिलोधिपति बनेर बसेका थिए । वृन्दाको पवित्रताका कारण नै उनी अजेय र शक्तिशाली रहेको भनिन्थ्यो । उनलाई महादेवले पनि हराउन सकेनन् । त्यसपछि सबै देवताहरूको आदेशमा श्रीहरि (विष्णु)ले जालन्धरको रूप धारण गरी वृन्दाको पतिव्रत (सतीत्व) भंग गरिदिए ।

विष्णुले जाल गरेर आफ्नो पवित्रता भंग गरेको थाहा पाएपछि वृन्दाले आत्मदाह गरिन् । त्यसपछि उनको खरानीको राशमाथि एक वनस्पती बोट उम्रियो । तब भगवान् विष्णुले भन्नुभयो– आजदेखि उसको नाम तुलसी हो र मेरो एउटा रूप यही ढुङ्गाको रूपमा रहनेछ, जसलाई शालिग्रामको नामले जानिनेछ । र मेरो (शालिग्राम ढुंगा) को तुलसीजीसँगै पूजा गरिने छ, तुलसीबिनाको प्रसाद म ग्रहण गर्दिनँ ।

त्यसैबेलादेखि सबैले तुलसीको पूजा गर्न थालेको भनाइ छ । र, कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह शालिग्रामसँग गरिदिने परम्परा बस्यो ।

हरिबोधिनी एकादशीकै दिन किन विवाह ?
प्रचलित मान्यताअनुसार, करिब ४ महिना लामो योग निद्राबाट ब्यूँझिएपछि भगवान् विष्णु (श्री हरि)ले माता तुलसीको पुकार सबैभन्दा पहिले सुन्छन् । एक्त एकादशीमा भगवान् विष्णुसँगै सबै देवताहरुले पनि योग निद्रा त्यागेर ब्युँझन्छन् । उक्त दिन भगवान् विष्णुको पूजा गरिन्छ अनि त्यसपछि विष्णुरुप शालिग्रामसँग तुलसीको विवाह गरिन्छ । त्यही दिनदेखि नै हिन्दू संस्कारभित्र विवाह, मुण्डन, व्रतबन्धजस्ता मांगलिक कार्यहरु समेत गर्नु शुभ मानिन्छ । त्यसअगाडि र हरिशयनी एकादशीपछिका करिब ४ महिना विष्णु र देवताहरु सुत्ने भएकाले विवाह, व्रतबन्धजस्ता मांगलिक कार्य गरिँदैन ।

तुलसी विवाह गर्ने दिन श्रीहरिलाई जगाउनको लागि यो मन्त्रको जप गर्नुपर्ने शास्त्रमा बताइएको छ–

उत्तिष्ठोतिष्ठ गोविन्द त्याज निद्रम् जगत्पत्ते।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तम भवेदिदम्।
उथिते चेष्टते सर्वमुत्तिष्ठोतिष्ठ माधव ।
गता मेघ व्याच्छैव निर्मलं निर्मलादिश॥
शारदानी च पुष्पाणी गृह मम केशव ।

यस्ताे छ विवाह विधि
तुलसीकाे विवाह गर्दा हिन्दू वैवाहिक संस्कारजस्तै सबै कार्य सम्पन्न गरिन्छ । विवाहको समयमा मंगल गीत (फाग) पनि गाउने गरिन्छ ।

हरिबाेधिनी एकादशीको साँझ तुलसीको मठलाई गेरु वा राताे पहेँलाेले रंगराेगन आदि गरेर सजाइन्छ । त्यसपछि मठकाे चारैतिर मण्डप बनाएर त्यसमाथि दुलहीले लगाउने घुम्टी आकारको वस्त्र (चुनरी) ओढाउने, मठलाई साडीमा बेरेर तुलसीलाई चुरापाेते समेत लगाइदिएर श्रृंगार गर्ने गरिन्छ । दुलहीझैँ सिँगारिन्छ ।

सिंगारपटार सकिएपछि भगवान गणेश आदि देवताहरुको पूजन हुन्छ । साथै शालिग्राम शिलाको पनि विधिवत रुपमा पूजा गरेर तुलसीलाई षोडशोपचार पूजा ‘तुलस्यै नमः’ मन्त्रमार्फत गर्नु गरिन्छ । त्यसपछि एउटा नरिवल, दक्षिणाका साथ टीकाको रुपमा राख्नु पर्छ । अनि भगवान शालिग्रामको मूर्तिको सिंहासन हातमा लिएर तुलसीको मोठलाई सात पटक परिक्रमा गराउनुपर्छ । यी सबै कर्मकान्ड सकेर आरती गर्ने गरिन्छ भने त्यसपछि विवाहोत्सव सम्पन्न हुन्छ । तर याे चलन सबैतिर पूरा गर्ने गरेकाे देखिन्न, सक्नेले सबै विधि पूरा गर्छन् ।

अन्य तथ्य एवं मान्यता
– तुलसी भगवान विष्णुका लागि धेरै नै प्रिय मानिन्छिन् । तुलसी देवी वृन्दाको रूप अर्थात् प्रतीक हो, जसलाई विष्णुले लक्ष्मी (विष्णुपत्नी) भन्दा पनि बढी प्रिय ठान्छन् ।

– कार्तिक महिनामा तुलसीको पूजा गर्नाले विशेष पुण्य प्राप्त हुन्छ र जीवनबाट सबै दुःख तथा कष्ट दूर भाग्छ ।

– शालिग्रामसँगै तुलसीको पूजा गर्दा अकालमा मृत्युकाे भय हुँदैन ।

– कार्तिक शुक्ल एकादशीको दिन तुलसी र शालिग्रामको विधिपूर्वक पूजा गरेमा वैवाहिक जीवनमा आइरहेका समस्या सबै अन्त्य हुने विश्वास गरिन्छ ।

– यदि कसैकाे विवाह भइरहेकाे छैन भने तुलसी विवाह गराइिदनाले एवं तुलसी र शालिग्रामकाे पूजा गर्नाले विवाह हुने निश्चित हुन्छ ।

– तुलसीकाे विवाह गराउनाले कन्यादान गरिदिएजस्तै पुण्य प्राप्त हुन्छ । कार्तिक महिनामा तुलसीको पूजा गर्नु र यसको बोट दान गर्नु उत्तम मानिन्छ।

– तुलसीको पूजा मात्र हैन, यसकाे पात, फूल लगायत सेवन गर्नाले सबै प्रकारका रोग र दु:खहरू हटाउँछ एवं सौभाग्य बढाउँछ । तुलसी चिया स्वास्थ्यका लागि राम्राे मानिन्छ ।

– यस दिन हरिबाेधिनी एकादशीको पौराणिक कथा वाचन वा श्रवण गर्नुपर्छ। कथा सुन्दा वा सुनाउँदा मात्र पनि पुण्य प्राप्ति हुने मान्यता छ ।

– शालिग्राम र तुलसीको पूजा गर्दा पितृदोष समेत कम हुन्छ ।

– श्रीहरि (विष्णु)लाई तुलसीकाे एक पात मात्र समर्पित गर्नाले पनि वैकुण्ठ लोक प्राप्त हुने धार्मिक मान्यता छ ।

 न्यूज 24 नेपालबाट

प्रतिकृया दिनुहोस