मातृसत्तात्मक तन्त्र परम्परा!

नेपालमा अहिले दुइटा धार्मिक-साँस्कृतिक परम्परा निकै प्रभावशाली रूपमा अभ्यासमा छन्।

एउटा हो श्रमण परम्परा।

अर्को ब्राह्मण परम्परा।

श्रमण परम्परामा व्यक्ति घरबार त्यागेर नागरिक (सामाजिक) जीवनबाट टाढा रहेर 'अनागरिक' बन्छ। सामाजिक नीति-नियम, पारिवारिक जिम्मेवारी, आर्थिक क्रियाकलाप लगायत वर्ग, जात, लैंगिक दायरा र सीमा सबैबाट आफूलाई बाहिर राख्छ।

आफ्नो भन्ने केही राख्दैन। आनगरिक हो तर पनि सबभन्दा माथिको मानिन्छ। उसको प्रभाव राजादेखि जनतासम्म सबैमा छ। त्यसैले त संन्यासी या योगीहरूलाई ठूला भनिने व्यक्तित्वहरू पनि ढोग्न पुग्छन्। बौद्ध देशमा बौद्ध भिक्षुहरूको प्रभाव पनि यस्तै छ। यिनीहरूले राजनीतिमा समेत प्रभाव पार्न सक्छन्, विशेषगरी चुनावको नतिजामा। योगी, संन्यासी, भिक्षु, नागा, आघोरी आदि सबै श्रमण परम्परा भित्र पर्छन्।

बाह्मण (या पुरेत या पूजारी) परम्परा भनेको समाजमा रहेर समाजमा रहेका नागरिकको जन्म हुनु अगाडिदेखि मृत्यु पछिसम्म पनि सबै कर्मकाण्ड गरिदिने, नामकरणदेखि विवाह हुँदै मृत्युपछि स्वर्गको बाटो देखाइदिने काम यिनको अधिकार क्षेत्रभित्र पर्छ। यिनको प्रभाव पनि निकै छ समाजमा। तर श्रमणको भन्दा कम मानिन्छ। पूजारी, मठाधीस. पाण्डा आदि सबै ब्राह्मण परम्परा भित्र पर्छन्।

 

यी दुवै पितृसत्तात्मक परम्परा हुन्। किनकि यिनका आदर्श पात्र वा प्रमुखहरू पुरुष चित्रित गरिएका छन्। समग्र पुरुष जातिलाई, महिला र अन्यलिंगीका व्यक्तिभन्दा माथिको दर्जा दिइएको छ र पुरुषकै हित हुने गरी शास्त्र र संस्कारहरू बनाइएको छ।

यीबाहेक नेपालमा तेस्रो परम्परा पनि छ जो करिब दुई हजार वर्षअगाडिसम्म निकै बलियो थियो। हिजोआज हराउँदै छ, मासिँदै छ। त्यो हो तन्त्र परम्परा।

तन्त्र परम्परा मातृसत्तात्मक छ। किनकि यिनका आदर्श पात्र वा प्रमुख महिला चित्रित गरिएको छ। तन्त्र परम्परामा जात या लिंग या अन्य कुनै पनि आधारमा मानव मानवबीच भेदभाव गरिएको छैन।

यी तीनै परम्परामा दर्शनमा भने समानता छः संसार बन्धन हो, बन्धनका कारण अविद्या हो। अविद्याले राग, द्वेष र मोहको क्लेशमा हामी फसाइराखेका हुन्छ। निर्वाण या मोक्ष सम्भव छ, विद्या या प्रज्ञाले निर्वाण प्राप्त हुन्छ।

मन्त्र, यन्त्र, तन्त्र

हुन त मन्त्र, यन्त्र र तन्त्रका आफ्नै विशेष अध्ययन र साधना पद्धति छन्। तर सामान्य रूपमा यसरी बुझ्न सकिन्छः

संस्कृत शब्द मन (मानस, विचार, सोच, चिन्तन, कल्पना आदि मनका क्षेत्र हुन्) र त्र (त्राणबाट लिइएको हो जसको अर्थ पार लाग्नु या रक्षा गर्नु भन्ने हुन्छ) मिलेर बनेको शब्द हो मन्त्र।

यन्त्र पनि संस्कृत शब्द यन (औजार, कलपुर्जा या यात्राको साधन) र त्र मिलेर बनेको शब्द हो। भौतिक शरीर र पूरा भौतिक ब्रह्माण्डलाई यन्त्र भनिएको छ शास्त्रमा।

तन्नोती (तानिनु या फैलिनु) र त्र मिलेर बनेको शब्द हो तन्त्र। नाम-रूप (अर्थात् चित्त र शरीर) तानिनु या फैलिनु भनेको ऊर्जासँग सम्बन्धित कुरा हो। पूर्वीय दर्शनमा तीनवटा शरीरको कुरा गरिएको हुन्छ- द्रव्य (भौतिक शरीर), भाव (मनोमय या चित्त शरीर) र ऊर्जा (क्रियाशील शरीर)। बौद्ध दर्शनमा निर्माण काय, सम्भोग काय र धर्म काय उल्लेख गरिएको छ।

तन्त्र भन्नाले मनलाई दुःखबाट पार लगाउन वा रक्षाका लागि ऊर्जा शरीर प्रयोग गरेर बारबार जप गरिनुपर्ने विशिष्ट प्रभावक ध्वनीको मिश्रणबाट बनेका शब्दबाट बनेको मन्त्र हो। 

तन्त्रः ऊर्जाको ‘विज्ञान र अध्ययन’ हो

तन्त्र एउटा पुरातन रहस्यात्मक शिक्षा हो। यस साधनाले साधक (योगी) ले मोक्ष प्राप्त गर्न र सिद्धि प्राप्त गर्न सक्ने विश्वास गरिन्छ। तन्त्रको मूल जरा पूर्व-वैदिक सभ्यतासम्म पाउन सकिन्छ।

तन्त्रमा धेरै विद्याहरू छन्। उदाहरणका लागि नाथा तन्त्र, श्री विद्या तन्त्र, त्रिका वा कश्मीर शैवतन्त्र, काली-विद्या, कुला, वैष्णव-तन्त्र, सौरा-तन्त्र, गणपत्य-तन्त्र, बौद्ध तन्त्र, जैन तन्त्र, मुस्लिम तन्त्र, साथै दक्षिण पूर्व एसिया र ओशिनियाका विभिन्न देशहरूका तन्त्र।

साधारणतया यी सबैका विभिन्न हाँगाहरू हुन्छन् जसलाई दक्षिणचार र वामाचार तन्त्रमा विभाजन गर्न सकिन्छ।

तन्त्र मातृसत्तात्मक छ किनभने यसले ऊर्जामा काम गर्छ। ऊर्जाले सबै कुरा सिर्जना गर्छ। त्यसैले यसलाई मातृत्वका रूपमा बुझिन्छ। विचार, दर्शन, तर्क र बुद्धिमा आधारित धार्मिक अभ्यासहरू पितृसत्तात्मक हुन्छन्। यसैकारण यिनीहरू मानिसका बीचमा भेदभाव गर्छन्। किनभने चिन्तन र बौद्धिक मनको चरित्र नै भेदभाव र मूल्यांकन गर्नु हो।

मातृसत्तात्मक र पितृसत्तात्मक आध्यात्मिक/धार्मिक र साँस्कृतिक परम्पराबीचको भिन्नता:

पितृसत्तात्मक ध्यात्मिक/धार्मिक  साँस्कृतिक परम्परा

मातृसत्तात्मक ध्यात्मिक/धार्मिक  साँस्कृतिक परम्परा  

धार्मिक तथा आध्यात्मिक आदर्श व्यक्ति वा मूली पुरुष हुन्छ।

 

आध्यात्मिक आदर्शका प्रतीक वा मूलीमा स्त्रीको आकृति हुन्छ ।

 

इश्वर वा ब्रह्म वा चेतना मात्र सत्य हो भन्ने विश्वास गर्छ। संसार-जगतलाई मिथ्याको रूपमा लिन्छ।

 

चेतना र शक्तिका साथै जगतको भौतिक प्रकटता सबै सत्य हो। अन्यथा, (चेतना या ईश्वर वा ब्रह्म) सत्यबाट सृष्टि गरिएको संसार कसरी मिथ्या हुन सक्छ?  

यौनिकतामा नियन्त्रण (वा धेरै अवस्थामा अस्वीकार गर्छ)। विशेषगरी महिला र यौनिक अल्पसंख्यकको यौनिकता।

महिला तथा यौनिक अल्पसंख्यकको यौनिकताको स्वतन्त्रता सुनिश्चित गर्छ र यौनिकतालाई उत्सव र भोगको रूपमा मनाउँछन्।

 

ब्रह्मचर्य र कठोर तपलाई मूल्य दिन्छ। काम, वासना र सबै खाले सुख-आनन्दबाट भाग्नु पर्छ भन्छ।

 

काम, वासना र अन्य सुख-आनन्दबाट आफूलाई वञ्चित गर्दैन। बरु मनका अकुशलता (तृष्णा, घृणा, भ्रम) हटाउन यस्ता क्रियाकलापलाई  
साधन वा औजारका रूपमा प्रयोग गर्छ।

 

शरीर अपवित्र छ भन्छ। विशेष गरी महिलाको शरीर घृणित मान्छ।

शरीरलाई शुद्ध मान्छ। विशेषगरी स्त्री शरीर एक मन्दिर हो भन्छ।  

ईश्वर प्राप्ति वा स्वर्ग प्राप्तिका लागि एकदमै संस्थागत पहल गर्नुपर्ने हुन्छ। ईश्वरीय आशिषहरू प्राप्त गर्न ईश्वरको प्रतिनिधि या बिचौलियाको आवश्यक पर्छ। एक साधारण मानव अपर्याप्त हुन्छ।

आध्यात्मिक मार्गमा नितान्त व्यक्तिगत पहुँच राख्छ। आफ्नै साधनामा विश्वास गर्छ। दैविक गुण आफैंमा साकार गर्न ईश्वरीय प्रतिनिधि/बिचौलिया आवश्यक पर्दैन। एक साधारण मानव मोक्ष निर्वाणका लागि पर्याप्त हुन्छ।

त्याग, त्याग, सर्व त्याग भन्छ।

 

त्याग गर्नु वा नगर्नु भन्दा, संन्यास लिएर वा संसारमा नै रहेर पनि आनशक्त हुन सक्नु राम्रो।

नियमहरू निकै महत्त्वपूर्ण मानिन्छन्।

केही सिद्धान्त ठीक छन् तर साधनको हरेक चरणमा, साधिका-साधकका लागि मुक्ति/स्वतन्त्रता कुनै पनि नियम-कानुनभन्दा बढी महत्त्वपूर्ण हुन्छ।

तथ्यांक वा लेखाजोखालाई निकै महत्त्व दिन्छ।

अनुभव बढी मूल्यवान हुन्छ।

अरूको मूल्यांकन र फैसला, सजाय र इनाम।

 

आफ्नो मूल्यांकन आफैं। कर्मले आफ्नो फल दिएर छाड्छ।

विचार, दर्शन, तर्क, बहसमा राम्रो।

कार्य, प्रविधि, कौशल र साक्षात्कर गर्नमा राम्रो।

पितृसत्तात्मक धर्म सँस्कारले पुरुषले मात्र मोक्ष निर्वाण पाउँछन् भनेको छ। महिला र तेस्रोलिंगीले मोक्ष निर्वाण पाउन निकै कठिन या असम्भव प्रायः छ भनेको छ। तन्त्रमा भने महिलाले अझ सजिलै मोक्ष निर्वाण पाउँछन् भनिएको छ। सिधै ऊर्जामा काम हुने हुँदा तर्क, विचार, दर्शन, चिन्तनमा अल्झिनुपर्दैन र महिलाको गुण स्वभावले मोक्ष निर्वाण पाउन तुलनात्मक रूपमा निकै सजिलो हुन्छ।

मातृसत्तात्मक- राज्यः

‘एमाजोन’ ग्रीक शब्द हो जसको अर्थ ‘स्तन नभएको’ भन्ने हुन्छ। ग्रीक माइथोलोजीमा महिला लडाकूहरूको उल्लेख पाइन्छ जसले धनुवाण र तरबार चलाउन सजिलो होस् आफ्नो एक स्तन काट्थे। एमाजोनीहरू ‘आर्टेमिस’ नाम गरेकी देवीको पूजा गर्थे। यिनलाई शिकारकी देवि भनेर चिनिन्छ। यिनै देवीलाई रोमनहरूले ‘डिना’ भन्छन्।

यी एमाजोनीहरू सधैं महिला-संगति मात्र रूचाउँथे। पुरुषको सानिध्यता बिल्कुलै मन पराउँथेनन्, बच्चा चाहिएका बेलामा बाहेक। बालकहरू अरू जनजातिलाई गोद-दान दिन्थे र बालिकालाई मात्र हुर्काउँथे। ती बालिका एमाजोनको भावी पुस्ता हुन्थे। एमाजोनी महिला समलिंगी थिए कि भनेर हिजोआज बहस पनि हुने गर्छ। 

‘किं’ र ‘नर’ मिलेर बनेको शब्द ‘किन्नर’ हो। यसको मतलब नर होइन भन्ने लाग्छ। त्यस्तै ‘किंपुरुष’ भनेको पनि पुरुष होइन भन्ने लाग्छ। पुराण, महाभारत, रामायण लगायत शास्त्रमा किन्नर र किंपुरुष प्रदेश भनेर, हिमवन्त हिमालय र यसको आसपासको पहाडी भूभागलाई जनाउँछ। यो भूभाग पूर्वमा नागाल्यान्डदेखि पश्चिममा कश्मिरसम्म फैलिएको छ।

यसरी किंपुरुष भनेर पुरुष नै नभएको राज्य भनेर भनिएको त होइन होला। बरू पुरुषले नभई महिला तथा लैंगिक अल्पसंख्यकले राज गरेको मातृसत्तात्मक राज्यलाई किंपुरुष या किन्नर प्रदेश भनेको हुनुपर्छ। एकातिर भारतमा किन्नोउर सहर अहिलेसम्म छ। त्यस्तै तेस्रो लिंगीलाई किन्नर (पुरुष होइनन) पनि भनिन्छ।

हिन्दू धर्मशास्त्रमा स्त्री-राज्य (वा मातृसत्तात्मक देश) भनेर उल्लेख गरिएको पाइन्छ। जैमिनी भारतमद्वारा रचित कन्नडा भाषामा लेखिएको महाभारतमा, अश्वमेघ पर्वमा पाण्डवहरूले छाडेको अश्वमेघ यज्ञको घोडाको रक्षाको जिम्मा लिएका अर्जुनको भेट स्त्री-राज्यकी महारानी प्रमिलासँग हुन्छ। उनी अर्जुनसँग विवाह गर्न चाहन्थिन् र अर्जुनलाई आफैंसँग राख्न चाहन्थिन्।

अर्जुन पहिले त मान्दैनन्। तर प्रमिला र उनका महिलाले अश्वमेघ यज्ञको घोडा नियन्त्रणमा लिन्छन् र छाड्न मान्दैनन्। तब अर्जुन हार मान्छन् र विवाह गर्न तयार हुन्छन्। तर उनले केही शर्त राख्छन्- प्रमिलासँग जीवनभर बस्न बाध्य नहुने, बाँकी जंगल पार गर्न प्रमिलाले अर्जुनको साथ-सुरक्षा दिनुपर्ने र घोडा हश्तिनापुर पुगेपछि मात्र प्रमिला घर फर्किने। प्रमिलाले शर्त स्वीकार गर्छिन् र अर्जुनलाई (अर्जुनसँगय होइन, यसको अर्थ निकै महत्वपूर्ण छ) विवाह गर्छिन्।

नाथ परम्पराका गुरुहरू मत्स्येन्द्रनाथ र गोरखनाथको कथाहरूमा पनि स्त्री-राज्यबारे उल्लेख छ।

एक राजकुमारीले एकपटक एक गन्धर्व आकाश मार्गबाट (उडेर) कतै जाँदै गरेको देख्छिन्। उनी गन्धर्वमाथि जोरले हाँस्न थाल्छिन्। तब गन्धर्वले श्राप दिन्छन्- तिमी र तिम्रा साथीहरू टाढाको कदली वन (केरा घारी) मा बस्ने छौ र कुनै पनि पुरुष तिमीहरू भएको ठाउँमा आएमा उसको तुरुन्त मृत्यु हुने छ।

श्राप लागेपछि जंगलमा ती महिलाहरू पुरुषको प्रेमसम्बन्धबाट वन्चित भएर बस्न बाध्य हुन्छन्। लामो समयपछि एकपटक ती महिलाले कुनै पुरुषले गुनगुनाएको सुन्छन्। उसको आवाजमा शक्ति यति हुन्छ कि महिलाहरूले आवाजद्वारा नै गर्भधारण गर्छन्। महिलाहरू गर्भवती भएपछि उनीहरूले हनुमानको प्रार्थना गरी एउटा पुरुष पठाइदिन भन्छन्। यस्तो पुरुष हुनुपर्‍यो जसले गन्धर्वले दिएको श्राप थेग्न सकोस्। ती हुन् गुरु मत्स्येन्द्रनाथ।

मत्स्येन्द्रनाथ स्त्री-राज्यका दुई महारानी, कमला र मंगलाको जादूमा फस्छन्। कदली वन क्षेत्रबाट बाहिर निस्कन सक्दैनन्। धरै वर्षपछि उनका शिष्य गोरखनाथले (जो गोरखा राज्यका गुरु थिए र नेपालका धेरै भूभाग पुगेर ध्यान गरी, मन्दिर निर्माण गरेका थिए भनिन्छ) आफ्ना गुरु भएको ठाउँ थाहा पाउँछन्। उनी महिलाको भेष धारण गरी स्त्री-राज्य पुग्छन्। ध्यान-साधनामा उच्चस्तरका गुरु भएकाले गन्धर्वको श्रापले उनलाई पनि छुँदैन। गोरखनाथ डमरू बजाउँदै स्त्री-राज्यका गोरेटोहरूमा 'मत्स्येन्द्र ध्यान देऊ, गोरख आइपुग्यो' भन्दै हिँड्छन्। मत्स्येन्द्रनाथले सुन्छन् र उनको होस खुल्छ। अनी स्त्री-राज्यबाट दुबै भाग्छन्।

यी स्त्री-राज्यहरू ठ्याक्कै कता पर्छन् भनेर धेरै वर्णन त पाइँदैन। तर अश्वमेघ यज्ञका लागि पाण्डवहरू तराईसम्म आएको कुरा नकार्न सकिन्न। यी स्त्री-राज्यमा वर्णन भएका महिलाको शासन व्यवस्था, मातृसत्ता र विवाहको परम्परा हेर्दा नेपालका थारू समुदायसँग मिल्दो छ। अहिले हराउँदै गए पनि थारू समुदायमा मातृसत्ता थियो। विवाहमा महिलाको सक्रियता र निर्णायक भूमिका हुने कुरा अहिले पनि देख्न पाइन्छ।

थारू समुदायको वैवाहिक परम्परा नियाल्दा मातृसत्ताको प्रशस्तै प्रमाण पाइन्छ। जस्तै: घुसपैठ विवाह (पुरुषलाई विवाह गर्न बाध्य पारिने), कज (अपहरण) विवाह, डोला (पैसा दिएर गरिने) विवाह, छुटकुटा (विधवा) विवाह, उद्दारी (प्रेम) विवाह, घञ्जिया (घर ज्वाइँ) राख्ने जस्ता परम्परा हेर्दा थारू समुदाय मातृसत्ताको दरो परम्परा थियो भनेर मान्न सकिन्छ।

बिपी कोइरालाको उपन्यास सुम्निमामा कोशी टापू वरिपरि बसोबास गरेका किरात र भिल्ल जातिका समुदायलाई मतृसत्ता भएको समुदायका रूपमा परिचित गराइएको छ। लिच्छवि, मल्ल, शाक्य, ठकुरी, शाह, रांणा लगायत क्षेत्री-ठकुरी-राजाहरूले जित्नुअघि यी थारू, भिल्ल, किन्नर तथा किरात समुदाय वा राज्यमा स्त्रीले शासनको बागडोर सम्हालेका थिए कि?

के मातृसत्तामा पुरुषको दमन हुन्छ?

मातृसत्तात्मक राज्य व्यवस्थामा महिलाले नेतृत्व लिएका त हुन्छन्। पितृसत्तालेजस्तो मानवमानवबीच भेदभाव पनि हुँदैन। तर यसले जबर्जस्ती समानता (सबैले उत्तिकै कम गर्नुपर्ने, सबैको आर्थिक हैसियत उस्तै हुनुपर्ने जस्ता नापेर तौलेर गरिने समानता) को वकालत गर्दैन। प्राकृतिक विविधता स्वीकार गर्छ, सम्मान गर्छ। विविध क्षमता र दक्षताको कदर गर्छ। पितृसत्तामा पुरुषले महिला र अन्य लिंगीलाई भेदभाव र दमन गरेको ठिक उल्टो महिलाले पुरुषलाई दमन गर्ने वा भेदभाव गर्ने भन्ने कुरा मातृसत्तामा हुँदैन।

नेपाल मण्डल तान्त्रिक सहर, नेपाल तान्त्रिक देशः

भनिन्छ नेपाल मण्डल (काठमाडौं उपत्यका) का तीनै सहर तन्त्र विधिद्वारा स्थापित हुन्। पहिलो सहर, भक्तपुर, अष्टअजिमालाई विधिपूर्वक आठ दिशामा स्थापना गरेर सहर बसालिएको हो। त्यसपछि कान्तिपुर अष्टमातृकालाई विधिपूर्वक आठ दिशामा स्थापना गरेर बसालिएको। अनि ललितपुर दस महाविद्या देवीहरूलाई विधिपूर्वक स्थापना गरेर बसालिएको।

हरेक गाउँवस्तीमा माईथान र ग्रामदेवी हुन्छन् र आजसम्म पनि पूजा गरिन्छ। पहिलापहिला यस्ता अजिमा वा माईथान मा केबल चिल्लो-साह्रो ढुंगा मात्र राखिन्थ्यो। पछि हिन्दू, बौद्ध र जैन प्रभावले ढुंगाको ठाउँमा मूर्ति राख्न थालियो। अजिमा र माईलाई मातृका र महाविद्या भन्न थालियो।

प्रमुख र शक्तिशाली अजिमा र माईहरू मातृका र महाविद्या बनेपछि यी देवीहरूका श्रीमान खडा गरिए। मातृकाहरूभन्दा पितृक (देव र महादेव) शक्तिशाली र प्रभावशाली बनाइए। त्यसकारण आज जे पनि तन्त्र भनेर अभ्यास गरिन्छ, यो सबै बौद्ध या हिन्दू दर्शन र सँस्कृतिको प्रभावका कारण या त बौद्ध तन्त्र या हिन्दू तन्त्र भनेर चिनिन्छ। मौलिक तन्त्र पूरा नमासिए पनि मिश्रित तन्त्र अभ्यासमा छ आजकल।

मातृसत्तात्मक धर्म सँस्कृतिले महिलाको जीवनको प्राकृतिक विकास क्रमलाई समेत पूज्दै आएको थियो र छ। कुमारी देवी, कामाख्या (माषिक श्राव) देवी, धुमावती (एकल महिला वा विधवा वा मासिक श्राव बन्द) आदि प्रशस्त उदाहरण छन्।

बच्चा जन्मिँदा आमाको दूध र बच्चा अजिमालाई चढाउने चलन पितृसत्तात्मक सँस्कृति स्थापित हुँदै गर्दा सूतकमा परिणत भयो। मासिक श्रावको रगत कामाख्या देवीलाई चढाउने चलन छाउपडीमा परिणत भयो। ध्यान-साधना गर्ने मन्दिरजस्तो शरीर घृणाको टोकरी बनाइयो। महिलाको यौनिकतामा ताला लगाइयो। कालीहरूलाई गौरी बनाइयो। (यो पनि पढ्नुहोस्ः कालीदेखि गौरीसम्मको यात्रामा दबाइयो मातृसत्ता)

आदर्श नारीवादी: काली, तारा

देवी काली आफ्नो अविरल र खुला कपालसहित, पहेँला परेका र लगभग लास जस्तो रूद्रमा विजयी भएर उभिरहेकी छिन्। उनी पराजित शत्रुहरूको टाउको, रातो जिब्रो र रगतले भरिएको हत्केलाले क्रोधित छिन्। यस तान्त्रिक मूर्तिकलालाई विचार गर्दा थुप्रै शास्त्रविद्हरूले शताब्दीयौंदेखि एउटै कृतिमा अनेक व्याख्या गरिएका थुप्रै वृत्तान्तहरू प्रकाशित गरेका छन्। तान्त्रिक प्रतीकका रूपमा निष्क्रिय (चेतन)मा, क्रियाशील (स्त्री) ऊर्जाको नृत्यले मात्र अस्तित्व सम्भव छ भन्ने देखाउँछ। (स्त्री) ऊर्जाबिना (पुरुष) चेतना मरेको लाशसरह हो भन्ने अनि संकेत गर्छ यो चित्रले।

कपाललाई विचारको प्रतीक मानिन्छ, काली र बज्रयोगिनीको कपाल सधैं खुला देखाइन्छ। कपाल बाँध्न अस्वीकार गर्छन् यी देवीहरू। यसको संकेत हो- एक त हामी आफ्नो विचार व्यक्त गर्न स्वतन्त्र छौं, अर्को हामीलाई कसैको विचारमा बाँधिनु पनि छैन।

महायान बौद्ध धर्मको एक कथा (तारानाथ, तारातन्त्रको उत्पत्ति) अनुसार, एकपटक देवी ताराले ध्यान साधनामा गरेको प्रगति देखेर एक बौद्ध भिक्षु आएर भनेछन्- नानी तिम्रो ध्यान-साधना एकदम राम्रो छ। तर दुःखको कुरा, तिमी महिला योनीमा जन्म लिएका कारण तिम्रो निर्वाण हुन सक्दैन। कामना गर, अर्को जन्ममा पुरुष भएर जन्मने ताकि तिमीले निर्वाण सजिलै प्राप्त गर्न सक।

देवी तारालाई यो कुरा उचित लागेन र भनिन्- यहाँ वास्तवमा कोही पुरुष छैन। नारी छैन। आत्मा छैन। वस चेतना र ऊर्जा छ। पुरुष वा महिलाको पहिचान लगाउनु खोक्रो कुराहो। ओहो! सांसारिक मूर्खहरू आफैंलाई कसरी झुक्याउँछन्। मैले बोधिचित्त नारीका रूपमा उत्पाद गरेँ, म भविष्यका हरेक जन्म महिलाको रूपमा लिइरहनेछु र एक नारीका रूपमै बुद्ध बन्नेछु।सेतोपाटीबाट

प्रतिकृया दिनुहोस