आज वैशाख शुक्ल पूर्णिमा : बुद्ध जयन्ती / चण्डी पूर्णिमा/ उँभौली पर्व मनाइँदै

शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औँ जन्मोत्सव र किरात समुदायको महान् पर्व उभौली आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरी उत्साहका साथ मनाइँदै छ। वैशाख शुक्ल पूर्णिमाको यो पवित्र दिनमा एकातिर बुद्धका शान्ति र अहिंसाका सन्देश स्मरण गरिँदै छ भने अर्कोतिर प्रकृति र पुर्खाप्रति सम्मान प्रकट गरिँदै छ।

बुद्ध जयन्तीलाई गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको ‘त्रिसंयोग’ परेको विशेष दिनका रूपमा लिइन्छ। कपिलवस्तुको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको र पछि उनले बोधगयामा बुद्धत्व प्राप्त गरी कुशीनगरमा निर्वाण प्राप्त गरेको सम्झनामा बौद्ध धर्मावलम्बीहरूले यस दिनलाई संसारभर उत्सवका रूपमा मनाउँछन्। आज लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्ध र देशभरका किरात बस्तीहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ।

बुद्धले प्रतिपादन गरेका चार आर्यसत्य र अष्टाङ्गिक मार्गको सान्दर्भिकता आज पनि उत्तिकै छ। देशका विभिन्न गुम्बा, चैत्य र विहारहरूमा दीप प्रज्ज्वलन, प्रार्थना तथा बुद्धका मूर्तिहरूलाई नगर परिक्रमा गराई भक्ति प्रकट गरिँदै छ। यो पर्वले समाजमा करुणा, सहिष्णुता र सदाचारको भावना फैलाउन मद्दत पुर्‍याउने विश्वास गरिन्छ।

यस्तै किरात समुदायले आजैका दिन प्रकृति र पुर्खाको पूजा गर्दै उभौली पर्व मनाइरहेका छन्। जाडो सकिएर गर्मीको सुरुवातसँगै बेंसीबाट लेकतिर सर्ने र खेतीपातीको सिजन सुरु हुने समयलाई यो पर्वले संकेत गर्दछ।


वैशाख शुक्ल पूर्णिमा देखि झण्डै १५ दिनसम्म, तेज वर्षात राम्रो भई अन्नपात सप्रियोस् भनी कामना गर्दै साकेला उभौली चण्डी नाचेर मनाइन्छ। अरू समुदाय वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती मनाइरहेका बेला किरात समुदाय सुँगुर, गोरु, भेडा, राँगा आदि बलि दिएर उभौली पर्व भव्य रूपमा मनाइरहेका हुन्छन्। यस दिन किरात समुदायका: राई, लिम्बु, याक्खा, सुनुवारहरू अदि किराँतहरू साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा लेक्पा र सुलुली मन्दिरमा पूजाका लागि लावा लस्करसहित भेला हुन्छन्।

आज धरानको विजयपुरमा स्थित बुढासुब्बा मन्दिरमा बिहानै देखि भक्त जनहरको घुइँचो लाग्ने गर्दछ। आज बुढासुब्बालाई कुखुरा हाँस, सुँगुरको बली दिने गरिन्छ। नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जातजातिहरूले आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको हुनाले आजको दिन कुखुरा, सुँगुर, आदि बली दिएर पूजा अर्चना गर्न आन्तरिक तथा बाह्य भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।

प्रतिकृया दिनुहोस