बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा-आराधना गरिँदै

२९ असोज, काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज (बिहीबार) घर-घरका पूजा कोठा तथा दसैँघरहरूमा नवदुर्गामध्येकी पाँचौँ स्वरूप स्कन्दमाताको विधिपूर्वक पूजा-आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विशेष पूजा अनुष्ठान गर्ने पौराणिक परम्परा रहेको छ । पौराणिक मान्यतानुसार भगवान् स्कन्द (कार्तिकेय) को माता भएकाले यी देवीलाई ‘स्कन्दमाता’ भनिएको हो। कमलको फूलमाथि विराजमान रहने भएकाले यी देवीलाई ‘पद्मासना’ देवीका रूपमा पनि पुजिन्छ । चार हात भएकी स्कन्दमाताको काखमा कात्तिकेय (स्कन्द) विराजमान रहन्छन् । स्कन्दमाताको भक्तिपूर्वक पूजा-आराधना गर्नाले सर्वसाधारण भक्तजनलाई ऐश्वर्य, विद्या, शक्ति एवं मोक्ष प्राप्त हुने र सुख-शान्ति छाउने धार्मिक विश्वास छ ।गत असोज २५ गते वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएसँगै सुरु भएको नवरात्रका क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डा देवीको पूजा-आराधना गरिएको थियो । आज पाँचौँ दिन स्कन्दमाताको उपासनासँगै आगामी दिनहरूमा क्रमशः कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री देवीको पूजा-अर्चना गरिनेछ ।

नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्रहरूको नियमित पाठ-पारायण गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म गरिने देवीको विशेष उपासनापश्चात् विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा ग्रहण गरी सुरु हुने यो पर्व कोजाग्रत पूर्णिमासम्म कुल १५ दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।

दसैँको पाँचौँ दिन आज बिहानैदेखि काठमाडौँ उपत्यकाका प्रमुख शक्तिपीठहरू— गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कलङ्कीमाई र सङ्कटा लगायतका मन्दिरहरूमा पूजा-अर्चना र दर्शन गर्ने श्रद्धालुहरूको ठुलो भीड लागेको छ ।

त्यसैगरी उपत्यका बाहिरका प्रसिद्ध पीठहरू— काभ्रेको पलाञ्चोक भगवती, गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी र तालबाराही, पर्साको प्रसिद्ध गहवामाई, धनुषाको छिन्नमस्ता, बागलुङ कालिका तथा सुदूरपश्चिमको उग्रतारा लगायतका देवी मन्दिरहरूमा पनि बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

पिपलको रुखमा भगवानको आकृति, भक्तजनको भीड

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ फत्तेपुर स्थित खडक खोला तटबन्धमा केही दिन यता निकै भी...