सकियो आमनिर्वाचन, न्यून मतदान

काठमाडौँ — संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनमा निराशाजनक मतदान भएको छ । निर्वाचन आयोगले आइतबार साँझ दिएको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मात्र मतदान भएको छ । यो ५ वर्षअघिको आमनिर्वाचनको तुलनामा करिब ७ प्रतिशतले कमी हो ।आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये १ करोड ९ लाख ७३ हजार २७ जनाले मात्र मतदान गरेका छन् । ०४८ सालपछि भएका संसदीय निर्वाचन (संविधानसभासमेत) मध्ये पनि सबैभन्दा कम हो । ०५१ को मध्यावधि निर्वाचनमा ६१.८६ प्रतिशत र ०६४ को संविधानसभा निर्वाचनमा ६१.७ प्रतिशत मतदान भएको थियो ।

अहिले भएको मतदान ७ महिनाअघि भएको स्थानीय निर्वाचनभन्दा पनि झन्डै ९ प्रतिशत कम हो । स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेकामा ७०.९६ प्रतिशत अर्थात् एक करोड २५ लाख ८३ हजार ८ सय ५० मत खसेको थियो ।

यसपटक प्रदेश १ मा सबैभन्दा कम ५७ प्रतिशत र मधेसमा सबैभन्दा बढी ६५ प्रतिशत मतदान भएको छ । आयोगले दिएको जानकारीअनुसार वाग्मतीमा ६१.५, गण्डकीमा ६०, लुम्बिनीमा ६०, कर्णालीमा ६३, सुदूरपश्चिममा ५९.७७ प्रतिशत मतदान भएको छ । हिमाली जिल्लाको विवरण अद्यावधिक हुन बाँकी रहेको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार साँझ ८ बजेको पत्रकार सम्मेलनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिए पनि आयोगको प्रणालीमा ५९.७५ प्रतिशत मात्रै मतदान भएको विवरण थियो । ‘मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको हो,’ थपलियाले भने, ‘यो निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो ।’आयोगको प्रारम्भिक विवरणअनुसार काठमाडौंमा ५५ प्रतिशतले मात्रै मतदान गरेका छन् । ललितपुरमा ६५ र भक्तपुरमा ७० प्रतिशत मत खसेको छ । चितवनमा ६०, सप्तरीमा ६१, सिरहामा ६२, धनुषामा ६५, महोत्तरीमा ६६, सर्लाहीमा ६१, रौतहटमा ६५, बारामा ६६.८६, पर्सामा ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण छ ।

प्रदेश १ को इलाममा ५७.५, झापामा ६१, मोरङमा ६५ प्रतिशत मतदान भएको छ । लुम्बिनीमा सबैभन्दा बढी पश्चिम नवलपरासीमा ७२ प्रतिशत मतदान भएको छ । रोल्पामा सबैभन्दा कम ४० प्रतिशत मात्रै मतदान भएको विवरण प्राप्त भएको आयोगले जनाएको छ । रूपन्देहीमा ६८, कपिलवस्तुमा ६५, दाङमा ६१, बाँकेमा ६४.७ प्रतिशत मतदान भएको छ । गुल्मीमा ५४ प्रतिशत मात्रै मत खसेको छ । गण्डकीमा सबैभन्दा बढी मनाङमा ७१ प्रतिशत, नवलपरासी पूर्वमा ६६.५, मुस्ताङमा ६६, स्याङ्जा र पर्वतमा ६०–६० प्रतिशत मत खसेको छ । गोरखामा ४६ प्रतिशत मात्रै मत खसेको छ । यो गण्डकी प्रदेशकै सबैभन्दा कम हो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आमनिर्वाचनमा मतदाताको सहभागिता घट्नु चिन्ताको विषय भएको बताए । ‘हामीले धेरै मतदानस्थलको अनुगमन गर्‍यौं । मतदान केन्द्रमा विगतको जस्तो लाइन पनि थिएन । मत हाल्न आएका मतदातामा उत्साह देखिएन,’ उनले भने, ‘दल र उम्मेदवारलाई मन नपराएकै कारण मतदातामा उत्साह नभएको पायौं ।’ विगतमा उम्मेदवारहरूले मतदातालाई उत्साहित बनाएर मतदान केन्द्रमा लैजाने गरेको तर यसपालि त्यस्तो नदेखिएको यादवले बताए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनमा भन्दा कम मतदाता सहभागी हुनु स्वाभाविक भए पनि ०४८ यताकै संसदीय निर्वाचनमा कम हुनु दुर्भाग्य भएको बताए । ‘लोकतान्त्रिक बहुदलीय व्यवस्थाको विरोधमा कम भोट खसेको होइन । असुरक्षाका कारण पनि होइन,’ उनले भने, ‘दलका उम्मेदवारप्रति सशंकित भएर, पाहुना उम्मेदवार भएर, स्थानीय तहमा जस्तो चिनजानको उम्मेदवार नभएर, राजनीतिप्रति वितृष्णा भएर र आफ्नै पार्टीको उम्मेदवार नभएर कम भोट खसेको हो ।’

पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङ मतदानमा सहभागिता कमी हुनुलाई लोकतान्त्रिक व्यवस्थाप्रति निराशाको संकेतका रूपमा बुझ्न सकिने बताउँछन् । आफूले मतदान गरेको गोरखा, बारपाकको वडामा ५१ प्रतिशत मात्रै मत खसेको उनले बताए । ‘भोट हाले पनि के हुन्छ भन्ने निराशा जनतामा छ,’ गुरुङले भने, ‘गठबन्धनकै कारण पनि मतदान कम भएको हुन सक्छ । यहाँ पहिले कांग्रेस र माओवादीको प्रतिस्पर्धा हुन्थ्यो । उम्मेदवारहरू घर–घर डुल्थे । मतदातालाई सक्रिय बनाउँथे । यसपालि त्यो भएन ।’

प्राध्यापक पीताम्बर शर्माले दलहरूप्रति वितृष्णा भएकै कारण मतदाता निर्वाचनमा कम सहभागी भएको टिप्पणी गरे । ‘विगतमा मतदानस्थलबाहिर चासो गर्ने समूह उत्तिकै हुन्थे । यसपालि त्यस्तो पनि देखिएन,’ उनले भने, ‘मतदातालाई दलहरूप्रति आशा नभएको परिणाम अहिले देखिएको हो । यो देश र लोकतन्त्रका लागि राम्रो लक्षण होइन ।’

राजनीतिकशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले पनि मतदाता दलहरूप्रति उत्साहित नदेखिनु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताए ।

निर्वाचनको अन्तिम समयमा प्रमुख दलकै शीर्ष नेताले सक्रियतापूर्वक मतदानमा सहभागी हुन आग्रह पनि गरेका थिए तर मतदाताले त्यसलाई बेवास्ता गरेका छन् । विश्लेषक लोकराज बराल दल र नेताप्रतिको निराशाले मतदान पनि कम भएको औंल्याउँछन् । ‘प्रमुख दलले जनमुखीभन्दा पनि आत्मकेन्द्रित राजनीति गरे, कुर्सीका लागि गठबन्धन गर्ने जस्ता गतिविधिले विश्वास कम हुँदै गयो,’ बरालले कान्तिपुरसँग भने, ‘यही कारण कम मतदान भएको हो ।’

निर्वाचन आयोगले यो आमनिर्वाचनमा ७० प्रतिशत मत खस्ने आकलन गरेको थियो । आयोगको उक्त प्रक्षेपण पनि मिलेन । प्राध्यापक बराल अहिले खसेको मतलाई नराम्रो भन्न नमिल्ने तर्क गर्छन् । ‘६० प्रतिशत मत खस्यो भने त्यसलाई नराम्रो भन्न मिल्दैन तर जनतामा निराशा बढेको हुँदा दलहरूलाई चेतावनी भयो,’ बरालले भने, ‘अहिलेसम्मको परिवर्तनको नेतृत्व दलहरूले नै गरेका हुन्, जनताले साथ दिएका हुन् । अब भोलि के हुन्छ भन्न सक्ने स्थिति छैन ।’

कम मतदानले दलहरूलाई आत्मसमीक्षाको सन्देश दिएको नेताहरूको भनाइ छ । ‘अहिलेको चुनावमा जनताको जुन प्रकारको उत्साह हुनुपर्ने थियो, त्यो देखा नपर्नुको कारण के हो ? राज्य सञ्चालनमा संलग्न मूलधारका दलहरूले गम्भीर आत्मसमीक्षा गर्न जरुरी देखियो,’ माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने ।

काठमाडौं–१ को मतपेटिका आइतबार साँझ गणनास्थलतर्फ लगिँदै । तस्बिर : दीपक केसी/कान्तिपुर

एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि आमनिर्वाचनमा राष्ट्रव्यापी उत्साह नदेखिएको स्वीकार गर्छन् । ‘राजनीतिप्रति मतदाताको वितृष्णा हो भनुँ भने स्थानीय तहमा त जनताको चासो देखिएको थियो, स्थानीय सरकार जनताको नजिकको सरकार भएर भरोसा गरेका हुन सक्छन्,’ उनले भने, ‘समग्रमा राजनीतिप्रति निराशा बढ्दो देखिन्छ । यसलाई दलहरूले गम्भीर रूपमा लिनुपर्छ ।’

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल भने दलहरूबारे नकारात्मक प्रचार बढी भएका कारण जनतामा उत्साह नदेखिएको बताउँछन् । ‘मतदातालाई निराश बनाउने गरी नकारात्मक प्रचार बढी भयो, मतदातामा आफैंमा पनि अलि निराशा देखियो,’ भुसाल भन्छन् ।

गठबन्धन बनाएर चुनावमा जाँदा आफ्ना उम्मेदवार नभएको क्षेत्रमा कार्यकर्ता परिचालन कमजोर भएकाले मत कम खसेको हुन सक्ने आकलन पनि दलहरूले गरेका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महत ‘पार्टीहरू अलग रूपमा लड्दा व्यापक रूपमा कार्यकर्ता परिचालन हुने कारणले धेरै मत खस्ने भए पनि गठबन्धन भएका क्षेत्रमा त्यस्तो क्रियाशीलतामा कमी आएकाले कम मत खसेको हुन सक्ने’ बताउँछन् ।https://ekantipur.com/federal-provincial-election-2079/2022/11/21/166898304344736109.html कान्तिपुरबाट 

 

प्रतिकृया दिनुहोस