लिपिस्टिक किन्ने पैसाले संविधान किनेर पढ्न मन्त्री अर्यालको सुझाव

भरतपुर,२२ भदौ । गण्डकी प्रदेशको उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले थरिथरिका लिपिस्टिक किन्ने पैसाले संविधान किनेर पढ्न महिलाहरुलाई सुझाव दिएकी छन् । भरतपुर–५ तोरीखेतस्थित नमुना कल्याणकारी आश्रममा बिहीबार आयोजित तिज विशेष कार्यक्रममा बोल्दै मन्त्री तिवारीले संविधान किनेर पढे आफ्ना अधिकारबारे धेरै कुरा थाहा हुने बताइन् ।
 
महिलाहरु सबल र सक्षम हुन आवश्यक रहेको भन्दै उनले अनावश्यक खर्च नगरी सकभर पुरानै साडी लगाउन पनि आग्रह गरिन् । तिजले महिलाहरु बीच भेटघाट हुने वातावरण बनेको भन्दै उनले तडकभडक नगरी सामान्य तरिकाले मनाउन सुझाव दिइन् ।
नमुना कल्याणकारी आश्रमकी अध्यक्ष एवम् पूर्व मन्त्री उमा रेग्मीले तिजले महिलाहरु एकजुट हुने अवसर प्रदान गर्ने बताइन् । महिलाले गर्ने सामाजिक तथा राजनीतिक काममा सर्वप्रथम महिलाले नै साथ सहयोग गर्नुपर्ने उनले बताइन् ।
 
बागमती प्रदेशकी सांसद माया श्रेष्ठ, भरतपुर महानगरपालिकाको पूर्व उपप्रमुख पार्वती शाह ठकुरी, कांग्रेस बागमती प्रदेशकी उपसभापति जानकी सापकोटा, नेपाली कांग्रेस महासमिति सदस्य शुसिला उप्रेती लगायत विभिन्न संघसंस्थामा आबद्ध महिलाहरुको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस