५९ औं राष्ट्रिय बाल दिवस आज मनाइँदै, राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ,२९ भदौ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ५९औं राष्ट्रिय बाल दिवस मनाइँदैछ ।

नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई सेप्टेम्बर १५, १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण तथा बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा यो दिवस मनाउने गरिन्छ ।नेपालमा बालदिवस पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहले सुरू गरेको इतिहास छ ।

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिनुभएको छ ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आइएको उल्लेख गर्नुभएको छ । उहाँले यस वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाउन लागिएको बताउनुभएको छ ।

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन् । बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारीर गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको अहम दायित्व हुन आएको छ ।”

केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था छ भन्दै उहाँले बालबालिका भविष्यका कर्णधार हुन् । उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य हो । उनीहरूको बाल्यकालको रेखदेखले नै मुलुकको भविष्यलाई प्रतिबिम्बित गर्दछ भन्नुभएको छ ।

प्रतिकृया दिनुहोस